June 17, 2020

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

आषाढ ०३, काठमाडौं : भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा भारतीय एक सैन्य अधिकारी र दुई सैनिक जवानको मृत्यु भएको भारतले जनाएको छ । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ ।

५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच धकेलाधकेल हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए । भिडन्त गर्ने अवस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि तनाव भएको भारतको दाबी छ । सीमामा तनाव बढेपछि दुवै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति बढाएका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले ६ जुनमा दुवै पक्षबीच सहमतिमा सीमा विवाद समाधान गर्ने भनिएकोमा भारतीय सेनाले त्यसको उल्लंघन गर्दै चिनियाँ भूमिमा प्रवेश गरेर गैरकानुनी गतिविधि गरेको बताएका छन् ।

भारत र चीनबीच यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिकको ज्यान गएको थियो । यस्तै, दुई पक्षबीच सन् १९६७ मा भिडन्त भएको थियो । सन् १९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पट्रोलिङमा रहेको भारतीय फौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो । त्यसअघि सन् १९६७ मा नाथु ला क्षेत्रमा दुई देशका सेनाबीच भिडन्त भएको थियो ।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर सीमा जोडिएको छ । त्यसमध्ये अरूणाञ्चलदेखि लद्दाखसम्मको धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन । लामो समयदेखि सो सीमा क्षेत्रको विषयलाई लिएर चीन र भारतका सैनिकबीच धकेलाधकेलसम्मको अवस्था भएको थियो । तर, सोमबार एक्कासि चीन र भारतबीचको सेनाबीच दोहोरो भिडन्त भएको हो ।

सीमा क्षेत्रमा दुई देशका सैनिक अधिकारी बिनाहातहतियार हिँड्थे । उनीहरू विवाद हुँदा धकेलाधकेल र मुक्का हानाहान मात्र गर्थे । हतियार नै चलाउने अवस्थामा पुगेका थिएनन् । तर, पछिल्लो केही सातादेखि दुई देशका सैनिकबीच सीमाको विषयलाई लिएर विवाद चर्किएको थियो । भूमिको विवाद चलिरहेका बेला वार्ता र संवादबाट हल गर्ने विषयमा धेरैपटक छलफल भए पनि दुई पक्षबीचको अडान मिल्न सकेको थिएन ।

भारत स्वतन्त्र भएपछि सन् १९६२ मा चीन—भारतबीच युद्ध भएको थियो । सो युद्ध चीनले जितेको थियो । त्यसपछि पनि सीमाका विभिन्न ठाउँमा दुई देशका सेना आमुन्नेसामुन्ने भइरहन्थे । तर, सन् १९७५ यता सीमामा दुवै देशका सैनिकले एकअर्काको ज्यान लिएका थिएनन् । सन् १९७५ मा अरूणाञ्चलको तुलुङ लामा दुई देशका सैनिक भिडेका थिए । लद्दाखमा सन् १९६२ को युद्धपछि दुवैतिर अहिलेसम्म कुनै हताहती भएको थिएन ।

पछिल्लो समय चीनका राष्ट्रपति सि चिनफिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन भन्दै सबैलाई एलर्ट हुन आदेश दिएका थिए । चीनमा सी चिनफिङले सत्ता सम्हालेपछि एक कदम पछि हट्ने र दुई कदम अघि बढ्ने रणनीति तय गर्दै आएका छन् ।

यसैबीच चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ ।

भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा खटिएका छन् ।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखि भएको हो । ब्रिटिस सरकारसँग नेपालको कुमाउमा हार भएको थियो । सन् १९४७ मा ब्रिटिस शासकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए । त्यो बेलादेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन् । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय