June 17, 2020

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

आषाढ ०३, काठमाडौं : भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा भारतीय एक सैन्य अधिकारी र दुई सैनिक जवानको मृत्यु भएको भारतले जनाएको छ । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ ।

५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच धकेलाधकेल हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए । भिडन्त गर्ने अवस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि तनाव भएको भारतको दाबी छ । सीमामा तनाव बढेपछि दुवै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति बढाएका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले ६ जुनमा दुवै पक्षबीच सहमतिमा सीमा विवाद समाधान गर्ने भनिएकोमा भारतीय सेनाले त्यसको उल्लंघन गर्दै चिनियाँ भूमिमा प्रवेश गरेर गैरकानुनी गतिविधि गरेको बताएका छन् ।

भारत र चीनबीच यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिकको ज्यान गएको थियो । यस्तै, दुई पक्षबीच सन् १९६७ मा भिडन्त भएको थियो । सन् १९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पट्रोलिङमा रहेको भारतीय फौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो । त्यसअघि सन् १९६७ मा नाथु ला क्षेत्रमा दुई देशका सेनाबीच भिडन्त भएको थियो ।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर सीमा जोडिएको छ । त्यसमध्ये अरूणाञ्चलदेखि लद्दाखसम्मको धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन । लामो समयदेखि सो सीमा क्षेत्रको विषयलाई लिएर चीन र भारतका सैनिकबीच धकेलाधकेलसम्मको अवस्था भएको थियो । तर, सोमबार एक्कासि चीन र भारतबीचको सेनाबीच दोहोरो भिडन्त भएको हो ।

सीमा क्षेत्रमा दुई देशका सैनिक अधिकारी बिनाहातहतियार हिँड्थे । उनीहरू विवाद हुँदा धकेलाधकेल र मुक्का हानाहान मात्र गर्थे । हतियार नै चलाउने अवस्थामा पुगेका थिएनन् । तर, पछिल्लो केही सातादेखि दुई देशका सैनिकबीच सीमाको विषयलाई लिएर विवाद चर्किएको थियो । भूमिको विवाद चलिरहेका बेला वार्ता र संवादबाट हल गर्ने विषयमा धेरैपटक छलफल भए पनि दुई पक्षबीचको अडान मिल्न सकेको थिएन ।

भारत स्वतन्त्र भएपछि सन् १९६२ मा चीन—भारतबीच युद्ध भएको थियो । सो युद्ध चीनले जितेको थियो । त्यसपछि पनि सीमाका विभिन्न ठाउँमा दुई देशका सेना आमुन्नेसामुन्ने भइरहन्थे । तर, सन् १९७५ यता सीमामा दुवै देशका सैनिकले एकअर्काको ज्यान लिएका थिएनन् । सन् १९७५ मा अरूणाञ्चलको तुलुङ लामा दुई देशका सैनिक भिडेका थिए । लद्दाखमा सन् १९६२ को युद्धपछि दुवैतिर अहिलेसम्म कुनै हताहती भएको थिएन ।

पछिल्लो समय चीनका राष्ट्रपति सि चिनफिङले आफ्ना सेनालाई युद्धका लागि तयार रहन भन्दै सबैलाई एलर्ट हुन आदेश दिएका थिए । चीनमा सी चिनफिङले सत्ता सम्हालेपछि एक कदम पछि हट्ने र दुई कदम अघि बढ्ने रणनीति तय गर्दै आएका छन् ।

यसैबीच चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ ।

भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा खटिएका छन् ।

भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखि भएको हो । ब्रिटिस सरकारसँग नेपालको कुमाउमा हार भएको थियो । सन् १९४७ मा ब्रिटिस शासकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए । त्यो बेलादेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन् । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स