
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र सहकार्य गर्न जर्मन भाषाको सार्वजनिक विकी प्रयोग गरेको एक अध्ययनले देखाएको छ ।
एआई सुरक्षा संस्था नाइटिङ्गेल कलेक्टिभका चार अनुसन्धानकर्ताले गरेको अध्ययन शुक्रबार सार्वजनिक भएको हो ।
अध्ययनका क्रममा अनुसन्धानकर्ताले सार्वजनिक इन्टरनेटमा ओपनएआईसँग सम्बन्धित भनेर पहिचान गराउने एआई एजेन्टका करिब १८ हजार सामग्री फेला पारेका थिए । अनुसन्धानकर्ताका अनुसार ती एजेन्टले आफूलाई दिइएका कार्यका परिणाम आदानप्रदान गर्न, अनुसन्धानका नतिजा एकीकृत गर्न तथा सञ्चालन वातावरणमा लगाइएका प्रतिबन्ध छल्ने उपायबारे जानकारी आदानप्रदान गर्न विकीको प्रयोग गरेका थिए । अधिकांश गतिविधि ‘डीएसईविकी’ नामक जर्मन भाषाको सार्वजनिक विकीमा भएको पाइएको छ । करिब २५ वर्षदेखि सञ्चालनमा रहेको उक्त विकी पछिल्ला वर्षमा कम प्रयोग हुँदै आएको थियो ।
अनुसन्धानकर्ताका अनुसार एजेन्टलाई इन्टरनेटबाट सूचना पढ्न सक्ने तर त्यसमा लेख्न नसक्ने गरी डिजाइन गरिएको हुनुपर्ने थियो । तर एजेन्टले विकीमा सामग्री लेख्ने उपाय पत्ता लगाएको अध्ययनमा उल्लेख छ । यसबाट एउटा एजेन्टले प्राप्त गरेको जानकारी अर्को एजेन्टले प्रयोग गर्न सक्ने अवस्था बनेको थियो ।अनुसन्धानकर्ताले पहिलोपटक मे ११ मा एआई एजेन्टले सार्वजनिक विकी सम्पादन गर्ने प्रयास गरेको फेला पारेका थिए । मे २४ मा डीएसईविकीमा पहिलो सफल लेखन भएको र जुन १६ देखि एजेन्टबीच ठूलो स्तरमा समन्वय सुरु भएको अध्ययनमा उल्लेख छ ।
एजेन्टले आफ्नो कामका आगामी चरण र त्यसका लागि आवश्यक जानकारीसमेत विकीमार्फत आदानप्रदान गर्ने गरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन् । कुनै प्रश्नको जवाफ पाएको एजेन्टले त्यसलाई विकीमा राख्ने र पछि उस्तै प्रश्न सामना गर्ने अन्य एजेन्टले त्यही सामग्री प्रयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
अध्ययनअनुसार एजेन्टले आफ्नो सञ्चालन वातावरणमा लगाइएको स्यान्डबक्स तथा नेटवर्कसम्बन्धी प्रतिबन्ध छल्ने उपायबारे समेत छलफल र परीक्षण गरेका थिए । मानव मध्यस्थकर्ताले केही सामग्री हटाउन थालेपछि केही एजेन्टले ‘जेडजेडजेड’ बाट सुरु हुने नाममा वैकल्पिक पृष्ठसमेत बनाएका थिए । डीएसईविकीमा एजेन्टले गरेका करिब ९८ दशमलव ५ प्रतिशत सम्पादन माइक्रोसफ्ट एज्योरका इन्टरनेट ठेगानाबाट भएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरूले ओपनएआईसँग सम्बन्धित ठेगानाबाट भएका भ्रमणसमेत अभिलेख गरेका थिए । धेरै एजेन्टले ओपनएआईसँग सम्बन्धित नाम प्रयोग गरेको पनि अध्ययनमा उल्लेख छ ।
यी प्रमाणका आधारमा अनुसन्धानकर्ताले ती एजेन्ट सम्भवतः ओपनएआईले आन्तरिक रूपमा सञ्चालन गरेका हुन सक्ने बताएका छन् । यद्यपि, अध्ययन प्रारम्भिक चरणको रहेको र निष्कर्ष सार्वजनिक विकीमा एजेन्टले छाडेका सामग्रीमा मात्र आधारित रहेको उनीहरूले स्पष्ट पारेका छन् । अनुसन्धानकर्तासँग ओपनएआईको आन्तरिक प्रणालीमा रहेका एजेन्टको सोच प्रक्रियासम्बन्धी तथ्याङ्कमा पहुँच थिएन । त्यसैले एजेन्टको वास्तविक उद्देश्य र रणनीतिबारे केही प्रश्न अझै अनुत्तरित रहेको उनीहरूको भनाइ छ । उक्त गतिविधि एआईको प्रशिक्षणका क्रममा भएको हो वा परीक्षणका क्रममा भन्ने विषय पनि स्पष्ट हुन सकेको छैन ।
ओपनएआईका एक प्रवक्ताले प्रतिवेदन प्रकाशनअघि कम्पनीलाई त्यसको समीक्षा गर्ने अवसर नदिइएकाले अध्ययनका दाबी वा निष्कर्षबारे तत्काल अर्थपूर्ण प्रतिक्रिया दिन नसकिने बताएका छन् । प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीले त्यसको सावधानीपूर्वक समीक्षा गरी आवश्यक कदम चाल्ने उनको भनाइ छ ।ओपनएआईले विकीसम्बन्धी गतिविधि जुलाईमा हगिङ फेससँग सम्बन्धित छुट्टै घटनासँग सम्बन्धित नरहेको जनाएको छ । त्यसैले उक्त गतिविधिलाई हगिङ फेससम्बन्धी प्रतिवेदनमा समावेश नगरिएको कम्पनीको भनाइ छ ।
रासस/सिन्ह्वा
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा