एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र सहकार्य गर्न जर्मन भाषाको सार्वजनिक विकी प्रयोग गरेको एक अध्ययनले देखाएको छ ।

एआई सुरक्षा संस्था नाइटिङ्गेल कलेक्टिभका चार अनुसन्धानकर्ताले गरेको अध्ययन शुक्रबार सार्वजनिक भएको हो ।

अध्ययनका क्रममा अनुसन्धानकर्ताले सार्वजनिक इन्टरनेटमा ओपनएआईसँग सम्बन्धित भनेर पहिचान गराउने एआई एजेन्टका करिब १८ हजार सामग्री फेला पारेका थिए । अनुसन्धानकर्ताका अनुसार ती एजेन्टले आफूलाई दिइएका कार्यका परिणाम आदानप्रदान गर्न, अनुसन्धानका नतिजा एकीकृत गर्न तथा सञ्चालन वातावरणमा लगाइएका प्रतिबन्ध छल्ने उपायबारे जानकारी आदानप्रदान गर्न विकीको प्रयोग गरेका थिए । अधिकांश गतिविधि ‘डीएसईविकी’ नामक जर्मन भाषाको सार्वजनिक विकीमा भएको पाइएको छ । करिब २५ वर्षदेखि सञ्चालनमा रहेको उक्त विकी पछिल्ला वर्षमा कम प्रयोग हुँदै आएको थियो ।

अनुसन्धानकर्ताका अनुसार एजेन्टलाई इन्टरनेटबाट सूचना पढ्न सक्ने तर त्यसमा लेख्न नसक्ने गरी डिजाइन गरिएको हुनुपर्ने थियो । तर एजेन्टले विकीमा सामग्री लेख्ने उपाय पत्ता लगाएको अध्ययनमा उल्लेख छ । यसबाट एउटा एजेन्टले प्राप्त गरेको जानकारी अर्को एजेन्टले प्रयोग गर्न सक्ने अवस्था बनेको थियो ।अनुसन्धानकर्ताले पहिलोपटक मे ११ मा एआई एजेन्टले सार्वजनिक विकी सम्पादन गर्ने प्रयास गरेको फेला पारेका थिए । मे २४ मा डीएसईविकीमा पहिलो सफल लेखन भएको र जुन १६ देखि एजेन्टबीच ठूलो स्तरमा समन्वय सुरु भएको अध्ययनमा उल्लेख छ ।

एजेन्टले आफ्नो कामका आगामी चरण र त्यसका लागि आवश्यक जानकारीसमेत विकीमार्फत आदानप्रदान गर्ने गरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन् । कुनै प्रश्नको जवाफ पाएको एजेन्टले त्यसलाई विकीमा राख्ने र पछि उस्तै प्रश्न सामना गर्ने अन्य एजेन्टले त्यही सामग्री प्रयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार एजेन्टले आफ्नो सञ्चालन वातावरणमा लगाइएको स्यान्डबक्स तथा नेटवर्कसम्बन्धी प्रतिबन्ध छल्ने उपायबारे समेत छलफल र परीक्षण गरेका थिए । मानव मध्यस्थकर्ताले केही सामग्री हटाउन थालेपछि केही एजेन्टले ‘जेडजेडजेड’ बाट सुरु हुने नाममा वैकल्पिक पृष्ठसमेत बनाएका थिए । डीएसईविकीमा एजेन्टले गरेका करिब ९८ दशमलव ५ प्रतिशत सम्पादन माइक्रोसफ्ट एज्योरका इन्टरनेट ठेगानाबाट भएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरूले ओपनएआईसँग सम्बन्धित ठेगानाबाट भएका भ्रमणसमेत अभिलेख गरेका थिए । धेरै एजेन्टले ओपनएआईसँग सम्बन्धित नाम प्रयोग गरेको पनि अध्ययनमा उल्लेख छ ।

यी प्रमाणका आधारमा अनुसन्धानकर्ताले ती एजेन्ट सम्भवतः ओपनएआईले आन्तरिक रूपमा सञ्चालन गरेका हुन सक्ने बताएका छन् । यद्यपि, अध्ययन प्रारम्भिक चरणको रहेको र निष्कर्ष सार्वजनिक विकीमा एजेन्टले छाडेका सामग्रीमा मात्र आधारित रहेको उनीहरूले स्पष्ट पारेका छन् । अनुसन्धानकर्तासँग ओपनएआईको आन्तरिक प्रणालीमा रहेका एजेन्टको सोच प्रक्रियासम्बन्धी तथ्याङ्कमा पहुँच थिएन । त्यसैले एजेन्टको वास्तविक उद्देश्य र रणनीतिबारे केही प्रश्न अझै अनुत्तरित रहेको उनीहरूको भनाइ छ । उक्त गतिविधि एआईको प्रशिक्षणका क्रममा भएको हो वा परीक्षणका क्रममा भन्ने विषय पनि स्पष्ट हुन सकेको छैन ।

ओपनएआईका एक प्रवक्ताले प्रतिवेदन प्रकाशनअघि कम्पनीलाई त्यसको समीक्षा गर्ने अवसर नदिइएकाले अध्ययनका दाबी वा निष्कर्षबारे तत्काल अर्थपूर्ण प्रतिक्रिया दिन नसकिने बताएका छन् । प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीले त्यसको सावधानीपूर्वक समीक्षा गरी आवश्यक कदम चाल्ने उनको भनाइ छ ।ओपनएआईले विकीसम्बन्धी गतिविधि जुलाईमा हगिङ फेससँग सम्बन्धित छुट्टै घटनासँग सम्बन्धित नरहेको जनाएको छ । त्यसैले उक्त गतिविधिलाई हगिङ फेससम्बन्धी प्रतिवेदनमा समावेश नगरिएको कम्पनीको भनाइ छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य