मूल्य वृद्धिको मार

काठमाडौँ, चैत १ गते । अन्तर्राष्ट्रिय उपभोक्ता दिवस आउन दुई दिन बाँकी छ । हरेक वर्षको मार्च १५ तारिख मनाइने यो दिवस यस वर्ष चैत २ गते सोमबार परेको छ । यस दिवसको अवसर पारेर उपभोक्ता अधिकारबारे धेरै गोष्ठी र भाषण हुन्छन् ।
उपभोक्ताको खास अवस्था कस्तो छ भनेर गोरखापत्रले उपभोक्ताको भान्साका दुई पदार्थ तेल र दालबारे बुझेको छ । तेल र दाल मात्र नभई तरकारी, चामल, फलफूलको पनि मूल्य चर्को छ । यीबाहेक अरू उपभोग्य वस्तु, निर्माण सामग्रीलगायतको मूल्य पनि धेरै बढेको छ ।
तीन वर्षयता तेलको भाउ एक सय रुपियाँसम्म महँगिएको छ । यसबीचमा सबैभन्दा बढी भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको भाउ एक सय रुपियाँसम्म महँगो भएको हो । २०७५ साल माघमा भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटरको क्रमशः १३५ र १४५ रुपियाँ रहेकोमा २०७७ माघमा २३५ रुपियाँसम्म पुगेको पाइएको छ । यस्तै पछिल्लो पटक तोरीको तेल पनि प्रतिलिटरमा ५० रुपियाँसम्म महँगो भएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घले २०७५, २०७६ र २०७७ सालमा सार्वजानिक गरेका तथ्याङ्कमध्ये हरेक वर्षको माघको तथ्याङ्कलाई आधार मानेर विश्लेषण गर्दा भटमास तेलको प्रतिलिटरको भाउ एक सय रुपियाँसम्म बढेको पाइएको हो । सङ्घका अनुसार ती वर्षमा माघ महिनाको भटमास तेलको भाउ क्रमशः १३५, १६० र २३५ रुपियाँ रहेको छ । यस्तै सोही अवधिमा सनफ्लावर तेलको भाउ क्रमशः १४५, १६० र २३५ रुपियाँमा कारोबार भएको पाइएको छ ।
पछिल्लो वर्ष तेलको भाउ महँगिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्नेदेखि यसको महँगो हुनुको कारणसहितको तथ्य खोज्ने गरी उद्योगी व्यवसायीसँग कारण पेस गर्न निर्देशनसमेत जारी ग¥यो । यस क्रममा विभागले देशभर सञ्चालित विभिन्न १७÷१८ वटा तेल उद्योगलाई पत्राचार गरेर तेलको मूल्य बढ्नुको कारणसमेत खोज्ने प्रयास ग¥यो र अनुचित भाउ बढाउने तीन उद्योगीलाई प्रतिउद्योग तीन लाख रुपियाँका दरले आर्थिक जरिवाना पनि ग¥यो ।
त्यसपछि खाने तेलको भाउ प्रतिलिटरमा न्यूनतम १० देखि बढी २५ रुपियाँसम्म एमआरपी घटेर बजारमा आएको छ । खुद्रा व्यापारीले भने पहिले नै स्टक रहेको भन्दै पुरानै भाउमा बिक्री गर्दै आएका छन् ।
पछिल्लो समयमा तेलमा मात्र होइन, गेडागुडी र दालको मूल्य पनि उत्तिकै अकासिएको छ । पछिल्लो वर्षमा दाल र गेडागुडीको मूल्य प्रतिकेजीमा ३० देखि ९० रुपियाँसम्म महँगो भएको पाइएको छ । खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक वर्षमा सेतो केराउ प्रतिकेजी ९० रुपियाँसम्म महँगिएको छ । एक वर्ष पहिले प्रतिकेजी ६० रुपियाँमा कारोबार भएको सेतो केराउ अहिले १५० रुपियाँ पुगेको छ । व्यापारीहरू भने महँगो मूल्य तिरेर पनि सेतो केराउ पाउन गाह्रो भएको बताउँछन् । यस अवधिमा हरेक किसिमको दाल प्रतिकेजी ३० देखि ५० रुपियाँसम्म महँगो भएको छ । मुसुरो मात्रै प्रतिकेजी एक सय रुपियाँबाट बढेर १५० रुपियाँसम्म पुगेको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा अधिकांश सामानको भाउ स्वाभाविक रूपमा बढ्ने र यसको मारमा साना तथा खुद्रा व्यापारी पर्ने गरेको बताउनुभयो । सरकारका नियमनकारी निकायबाट बजारको व्यवस्थित अनुगमन नहुँदा र बजार भाउ हल्लाका भरमा बढ्ने गरेकाले साना व्यापारी दोहोरो र तेहोरो मारमा पर्ने गरेको उहाँको भनाइ छ ।

भान्छा महँगो
यसरी तेल र खाद महँगिँदा भान्छा महँगो भएको गुनासो आम उपभोक्ताको छ । पछिल्लो एक वर्षदेखि कोरोना महामारी कारण अधिकांशले रोजगारी नभएर आम्दानी नभएको बेला दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि उपभोक्ता थप मारमा परेका छन् । आम्दानी घटेको बेला बढेको यो मूल्यले हामीलाई खर्च थेग्नै सकस भयो, कलङ्की बस्दै आएकी बिमला थापाले भन्नुभयो ।
उहाँ जस्तै सामान्य ज्याला मजदुरी गरेर परिवार धान्दै आएकालाई मूल्य वृद्धि सकस भएको छ । आम्दानी घटेको बेला उपभोक्ताको ढाडै सेक्नेगरी महँगी बढ्दा पनि सरकारले ध्यान दिन नसकेको गुनासो उपभोक्ताको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष श्रेष्ठ उद्योगी व्यवसायीले बिनाकारण उपभोग्यवस्तुको भाउ बढाएकोे बताउनुहुन्छ ।

दोष पन्छाउने प्रवृत्ति
उद्योगी व्यवसायी पनि त्यसको दोष पन्छाउँछन् । कच्चा पदार्थ आयातमै मूल्य बढेकाले मूल्य बढाउनु परेको दाबी उनीहरूको हुन्छ । नेपाल दाल तेल चामल उत्पादन उद्योग सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले नेपाल खाद्यवस्तु आयातमा परनिर्भर रहेको र बाहिरबाट आउने सामान महँगो भएपछि बजार भाउ महँगो भएको बताउनुभयो ।
उहाँले नेपालमा उत्पादन हुने सामान तयार गर्दा आवश्यक कच्चा पदार्थ देशबाहिरबाट ल्याउनुपर्ने भएको र कच्चा पदार्थ महँगो भएकाले पनि यस पटक भाउ बढी महँगो भएको बताउनुभयो । उहाँले भन्नुभयो, तेलको कन्टेनर बाहिरबाट आउने हो । यहाँ रिफिल र फिल्टरिङ मात्र गर्ने हो ।
उहाँका अनुसार कोरोनाका कारण अहिले तेल आयात गर्दा कन्टेनरलाई बढी समय लाग्ने गरेको छ । पहिला एक महिनामै भित्रिने कच्चा पदार्थ आउन अहिले दुई महिना लाग्छ । कोभिडका कारणले तेलका कन्टेनर आउन समय लाग्ने गरेको छ, त्यसले पनि महँगी बढाउन सघाएको हो । खानेतेल मलेसियालगायतका मुलुकबाट आउँछ ।

बजार निजी क्षेत्रको नियन्त्रणमा
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले सरकारका नियमनकारी निकाय आफ्नो दायित्वप्रति जिम्मेवार नहुँदा बजार निजी क्षेत्रको नियन्त्रणमा गएसँगै सर्वसाधारण उपभोक्ता महँगीको मारमा परेको बताउनुभयो । सरकारसँग माग, आपूर्ति र उत्पादनको व्यवस्थित तथ्य र तथ्याङ्क नभएका कारण नियमनकारी निकायको अनुगमन प्रभावहीन बन्दै गएको उहाँको आरोप छ ।
उहाँले माग र आपूर्तिको तथ्याङ्कलाई व्यवस्थित गरी उत्पादनस्थल, आयातकर्ता, भण्डारणदेखि प्रशोधन, बिक्रीवितरण गर्ने सबै स्थानमा विशेष संयन्त्रमार्फत निगरानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आर्थिक दण्डले मात्र बजार नसुध्रने र त्यसका लागि कानुनी कारबाही गर्नुपर्छ भन्ने कुरासमेत अहिलेको बजारको अवस्थाले प्रमाणित गरेको उहाँले थप्नुभयो ।

अनुगमन प्रभावकारी नभएको स्वीकार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले विभागबाट नियमित बजार अनुगमन भए पनि यसको प्रभावकारिता सन्तोषजनक नभएको स्वीकार गर्नुभयो । उहाँले माग र आपूर्तिको तथ्याङ्क व्यवस्थित गर्न नसक्दा विभागले गर्दै आएको बजार अनुगमनको परिणाममा असर परेकाले यस्ता तथ्याङ्कलाई सकेसम्म व्यवस्थित गर्नुपर्छ भन्ने सोचसहित विभाग अगाडि बढने तयारी गरेको जानकारी दिनुभयो ।
महानिर्देशक पौडेलले कानुनी रूपमा बजार नियमन तथा अनुगमनको अधिकार स्थानीय र प्रदेश सरकारमा गइसकेकाले विभाग अब आफैँ अनुगमन गर्नेभन्दा पनि ती निकायलाई जिम्मेवार बनाउँदै तिनीहरूसँग सहजीकरणको भूमिकामा लाग्ने बताउनुभयो । उहाँले बजारलाई व्यवस्थित गर्ने दायित्व वा अधिकार बढी स्थानीय सरकारलाई हुने भएकाले स्थानीय सरकारका जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ महानगरले उपभोक्ताको खाद्य सुरक्षाका लागि धेरै काम गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, अनुगमनबाट बजार नियमन गरिरहेका छौँ । उपभोक्ता अधिकार सुनिश्चित गर्न सचेतना कार्यक्रम नभई हुँदैन ।
कस्ता छन्
उपभोक्ता अधिकार ?
 नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था छ । सो व्यवस्थामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख छ । साथै गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक पनि संविधानमा सुनिश्चित गरिएको छ ।
 संविधानको धारा ५१ को ७ ‘घ’ मा राज्यका नीति तथा अनुसूचीमा अधिकारसम्बन्धी व्यवस्था छ ।
 धारा ५१ को उपधारा ७ ‘घ’ मा कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रणजस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने व्यवस्था छ ।
 अनुसूची ७ मा सङ्घ र प्रदेशको साझा अधिकारको सूची नम्बर २ मा आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमनको व्यवस्था छ ।
 अनुसूची ८ मा स्थानीय तहको अधिकार सूची ४ नम्बरमा स्थानीय सेवाको व्यवस्थापन र १० नम्बरमा स्थानीय बजारको व्यवस्थापनको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स