उपचार नहुँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण

जेठ १८, काठमाडाैं : कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ।

नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन। समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै राखिएको थियो। त्यही क्रममा शनिबार बिहान चिया खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका हुन्।

समयमै पीसीआर परीक्षण नभएका कारण उनले आवश्यक उपचार नै पाउन सकेनन्। कोरोना आशंकामा उनलाई क्वारेन्टाइनबाहिर जाने अनुमति पनि दिइएको थिएन। परीक्षणमा भएको ढिलाइ र उपचारमा भएको लापरबाहीका कारण ती युवाले क्वारेन्टाइनमा प्राण त्यागेको आफन्तले गुनासो गरेका छन्। उनको मृत्यु भएपछि मात्र शनिबार नै स्वाब परीक्षण गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले मृतक युवाको पीसीआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका हुन्। मृतक युवाका आफन्तले समयमै परीक्षण र उपचार नगर्दा क्वारेन्टाइनमै मृत्यु भएको बताएका छन्। ‘भारतबाट फर्किंदा बाटोमा सामान्य ज्वरो आएको थियो, यहाँ आइसकेपछि बेलैमा परीक्षण भएन’ मृतकका दाइ भन्छन्, ‘भेडा हुलेजस्तै क्वारेन्टाइनमै थुन्ने काम मात्र भयो, समयमै परीक्षण गरेर उपचार गरिदिएको भए ज्यान जाने थिएन।’ उनले ज्यानमारा क्वारेन्टाइनमा थुनेर राख्दा भाइको मृत्यु भएको दुखेसो पोखे।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले पनि परीक्षणमा भएको ढिलाइका कारण युवाले उपचार नपाएरै मृत्युवरण गर्नुपरेको बताए। मेयर भण्डारीका अनुसार परीक्षणका लागि क्वारेन्टाइनमा बसेकोहरूका स्वाब पठाइए पनि परीक्षण समयमै नहुँदा थप जोखिम बढेको छ। मृतक युवा एक वर्षअघि रोजगारीका लागि भारतको अहमदाबाज पुगेका थिए। उनी त्यहाँको एक होटलमा काम गर्थे। कोरोना संक्रमण बढ्दै गएपछि भने उनी ज्यान जोगाउन साथीहरूसँगै जन्मघर फर्किएका थिए। तर, उनले स्वदेश आएर पनि ज्यान जोगाउन सकेनन्। मृतकका श्रीमती, एक छोरा र एक छोरी छन्।

पछिल्लो समय भारतबाट भित्रिनेको संख्या बढेको छ। उनीहरूसँगै कोरोना पनि भित्रिएको छ। स्थानीय तहमा रहेका क्वारेन्टाइन भरिभराउ छन्। राख्ने स्थान नहुँदा उनीहरूलाई कोचेर राखिएको छ। तर, पीसीआर परीक्षणमा भएको सुस्तताले कर्णालीमा थप जोखिम बढेको छ। समयमै परीक्षण नगर्ने र मृत्यु भएपछि मात्र परीक्षण गर्ने कार्यले क्वारेन्टाइनमा बसेकाहरू त्रसित हुन थालेका छन्। प्रदेश सरकारले परीक्षण र उपचारमा ध्यान नदिँदा क्वारेन्टाइनमै अन्य रोगले पीडित बिरामीको पनि ज्यान जाने खतरा बढेको छ। किट अभावका कारण समयमै परीक्षण हुन नसकेको र भारतबाट फर्किएकाहरूलाई क्वारेन्टाइनभित्रै हुल्नुको स्थानीय तहसँग विकल्प नभएको गाउँपालिका महासंघ कर्णालीका संस्थापक अध्यक्ष कवीन्द्रकुमार केसीले बताए । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार लेखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स