निर्मला हत्या प्रकरणमा प्रहरीको दादागिरीः यी किशोरीलाई पनि चरम यातना दिएको थियो प्रहरीले

nirmala_hatya_f0OME6tnoS

भदौ १३, कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेको छ । आजको नयाँ पत्रिकादैनिमा छापिएको छ ।

ज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्ती भट्टलाई प्रहरीले गिरफ्तार गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको बलात्कार तथा हत्या आरोपमा जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परेको जानकारी अघिल्लो दिन संसदमा दिएका थिए । अर्को दिन ज्योति बहुमुखी क्याम्पसमा आएको प्रहरीले हेमन्तीलाई गिरफ्तार गर्‍यो । उनको महिनावारी चलिरहेको थियो । १८ साउनमा बिहानको क्याम्पसबाट घर फर्केकी हेमन्ती घरबाहिर खानाको तयारीमा थिइन् किनकि उनको महिनावारी चलिरहेको थियो ।

तर, खानसमेत नदिई बिहान करिब ११ बजे उनलाई जिल्ला प्रहरी कार्यालय लगियो । तत्कालीन एसपी (जो हाल निलम्बित छन्  डिल्लीराज विष्टले भने उनलाई धम्की दिए, ‘निर्मलाको बलात्कार र हत्यामा मेरो पनि संलग्नता छ भनेर सकारिस् भने बच्छेस्, हैन भने तेरो भविष्य बर्बाद गर्दिन्छु ।’

सोच्दै नसोचेको विपत्ति आइलागेपछि हेमन्ती अत्तालिइन् । तर, उनले आफ्नो संलग्नता छ भन्न मानिनन् । त्यसपछि उनलाई सिसाको एउटा सानो झ्याल भएको अँध्यारो कोठामा राखियो । ‘१५–१५ मिनेट बिराएर सादा पोसाकका प्रहरीहरू आउँथे । गल्ती मानिस् भने बच्छेस्, मानिनस् भने मर्छेस् भनेर धम्क्याउँथे,’ उनले नयाँ पत्रिकासित भनिन् ।

उनलाई बेलुका छाडिन्थ्यो, तर बिहान फेरि गिरफ्तार गरिन्थ्यो । यो क्रम पाँच दिनसम्म चल्यो । दोस्रो दिन उनी बाबा गोकुलेश्वर भट्टको अटोमा आफैँ प्रहरी कार्यालय जाँदै थिइन् । तर, बाटैमा उनलाई नियन्त्रणमा लिइयो र मोटरसाइकलको बीचमा राखेर चौकी पुर्‍याइयो । र उसैगरी सोधपुछका नाममा धम्क्याइयो । ‘मेरो साथीले बलात्कार गरेर हत्या गरेको हो, मैले सघाएकी हुँ भन्, हामी तँलाई जोगाउन कोसिस गरौँला । नत्र त गइस्,’ सोधपुछ गर्न आउने सादा पोसाकका प्रहरी धम्क्याउँथे ।

तेस्रो दिन त ज्यादतीको पराकाष्ठा नै भयो । उनी क्याम्पसमा पढिरहेकी थिइन् । कक्षाकोठाबाटै सहपाठी र शिक्षकहरूको सामुन्ने उनलाई प्रहरीले गलहत्याउँदै लगेर गाडीमा राखे । उही अँधेरो हिरासतमा लगियो । उनको शिर भुइँमा टेकाइयो, खुट्टा छततिर ठाडो पारियो । प्रहरीले लाठी हान्न थाले । पीडाले चिच्याइन् । ती बालिकालाई प्रहरीहरूले तथानाम भने ।

त्यसपछि उनलाई बाहिर ल्याइयो र तत्कालीन एसपी डिल्लीराजसामु खडा गरियो । डिल्लीराजले भने, ‘तँलाई हामीले यहाँ बोलाएर केरकार गरिरहेका छौँ भन्ने बाहिर कसैलाई भनिस् भने तेरो भविष्य चौपट हुन्छ । घरमा पनि सामान्य सोधपुछ भएको छ, अरू केही भएको छैन भनेस्, तेरो भलो हुन सक्छ ।’ प्रहरीले हेमन्तीको फेसबुकको पासवर्डसमेत लिइसकेको थियो ।

चौथो दिन पनि उनलाई हिरासतमा राखिएको थियो । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीसहित वडा नै उल्टेर प्रहरी कार्यालय पुग्यो । त्यसैले पाँचौँ दिन न प्रहरीले उनलाई बोलायो, न पक्रन नै आयो ।

‘तर, पाँचौँ दिन म जब क्याम्पस गएँ, कुनै पनि सहपाठी बोलेनन् । हिरासतमा भन्दा पीडा कक्षाकोठामा भयो । ओझेल परेर निकैबेर एक्लै रोएँ,’ उनी भन्छिन् ।

उता प्रहरीले पिछा छाडेको थिएन । एक दिन बिराएपछि छैटौँ दिन उनलाई फेरि जिप्रका पुर्‍याइयो । धामी थरका सइले कागज तयार पारिसकेका थिए । उनले कागजमा लेखिएकोे व्यहोरा पढ्न चाहिन् । तर, सइले भने, ‘मलाई ग्यास्ट्रिक छ । खाजा खाने वेला भयो, छिटो हस्ताक्षर गर,’ सईले हप्कीदप्की गरेपछि हस्ताक्षर गरिदिइन् ।

कागज गराएर उनलाई एसपी डिल्लीराजसामु उपस्थित गराइयो । एसपीले पहिलेजस्तै हप्काए, ‘यो कुरा कतै बाहिर नजाओस् । आफ्नो मात्र होइन परिवारको पनि हेक्का राख्नु ।’ यति भनेपछि उनलाई बिदा गरियो ।

२३ साउनबाट उनले प्रहरीको फन्दाबाट मुक्ति पाएकी छिन्, तर त्यो यातनाले उनलाई तर्साइरहन्छ । नियमित क्याम्पस जान सकेकी छैनन् ।

तर, चरम यातना दिँदा पनि प्रहरीले हेमन्तीबाट चाहेजस्तो बयान लिन सकेन । उनले आफूले गर्दै नगरेको अपराध स्विकार्नै नसक्ने अडान दोहोर्‍याइरहिन् । उनकी सानिमा गीता भन्छिन्, ‘अल्ली हक्की छ । गल्ती गर्दिन र डराउँदिन पनि । अरू कुनै केटी भए निराशामा पुगेर अर्को दुर्घटना पनि हुन सक्थ्यो । प्रहरीको ज्यादती देखेर त हामी नै आत्तिसकेका थियौँ ।’ आमा मायाले थपिन्, ‘धन्न मेरी छोरी आँटिली थिई र यत्रो जुलुम सही । हाम्रो त परान निस्कन लागेको थियो ।’

यातना पाउँदा पनि उनले हिम्मत हारिनन् । पाँच दिनको धम्कीपूर्ण सोधपुछमा प्रहरीले उनलाई अनेकथरी प्रश्न गर्थे । अटो ड्राइभरकी छोरी, दुईकोठे घर भएकी तैँले मोबाइलमा पैसा कसरी हाल्छेस् रु फेसबुक कसरी चलाउँछेस् रु
‘तँ कहाँ छेस्, थाहा छ तलाई रु’ इन्स्पेक्टरले सोधेका थिए । उनको जवाफ थियो, ‘जिल्ला प्रहरी कार्यालयमा छु । एकजना इन्स्पेक्टरको सामुन्ने ।’
‘तँलाई बिए, एमए पढ्न मन छैन ?’
‘छ नि । मलाई त पिएचडी नै गर्ने मन छ ।’
‘त्यसो भए हामीले भनेको किन मानिरहेकी छैनस् ? निर्मलाको बलात्कार र हत्यामा आफ्नो हात रहेको स्वीकार, नत्र जेलमा सडाइदिन्छौँ । अनि पढ्लिस् बिए ।’
निर्मलाले भनिन्, ‘मेरो कुनै गल्ती छैन । मलाई तपाईंहरूले कसरी जेलमा सडाउनुहुन्छ, हेरौँला ।’ कागज गराएर छाड्ने दिन ती इन्स्पेक्टरले भनेका थिए, ‘तिमीले हामीले भनेको मानेको भए यो केस उहिल्यै सल्टिन्थ्यो । अब कति दिन उल्झिने हो थाहा छैन । तर, तिमी हक्की रहिछौ, भविष्यमा नेता बन्ने छाँट छ ।’

हेमन्तीलाई प्रहरीले निकै कमजोर आधारमा पक्राउ गरी पाँच दिनसम्म यातना दिएको थियो । पहिलो आधार, हेमन्ती र निर्मलाको घर करिब तीन सय मिटरको दूरीमा छ । निर्मला हराएको दिन क्याम्पसबाट फर्कँदै थिइन् हेमन्ती । निर्मलाकी दिदी मनीषास“ग बाटैमा भेट भएको थियो, मनीषाले गणितको एउटा होमवर्कमा सघाउन आग्रह गरिन् किनकि मनीषा र हेमन्तीकी बहिनी भूमिका सहपाठी हुन् । हेमन्तीले भनिन्, ‘मेरो घरमा म फर्कने समय घडी हेरेर बसेका हुन्छन् । त्यसैले घरै आइज ।’ मनीषा उनको पछि लागिन् । घर पुग्नासाथ हेमन्तीलाई एउटा जरुरी कामका लागि बैंक जान अह्राए परिवारले । उनी खानै नखाई बैंकतिर लागिन् । मनीषा उनको घरमै बसिन् । सवा दुई बजेसम्म बैंकमै अलमल भयो । त्यसैबीच पानी दर्कियो र बाटोमा अडिइन् । घर पुग्दा पौने ३ भइसकेको थियो ।

प्रहरीको जिकिर रह्यो कि, ‘निर्मलामाथि बलात्कार र हत्या हुँदाको समयमा त्यो बाटोबाट हिँड्ने तँ पनि थिइस् । तलाई सबै थाहा छ, के–के गरिस् भन् रु’ तेस्रो कारण थियो हेमन्तीकी साथीको नाम पनि निर्मला हो । हेमन्ती र निर्मला धामी सहपाठी हुन् । निर्मला धामीस“ग कुरा गर्न उनका एक आफन्तले वेलाबखत हेमन्तीको मोबाइलमा फोन गर्थे । निर्मला पन्तको बलात्कारपछि हत्या हुनुभन्दा तीन दिनअघि हेमन्तीको मोबाइलमा निर्मला धामीका आफन्तले फोन गरेका थिए । हेमन्ती कक्षामा थिइन्, फोन साइलेन्ट मोडमा थियो । घर फर्केर मोबाइल खोल्दा मिस्डकल देखेपछि उनले म्यासेज लेखिन्, ‘निर्मला मसँग छैनन्, भोलि क्याम्पस समयमा फोन गर्नू ।’

स्कुल पढ्ने निर्मला र क्याम्पस पढ्ने निर्मलाबीचको भेद छुट्याउन नलागी प्रहरी हेमन्तीमाथि जाइलाग्यो । अझ म्यासेजमै ‘क्याम्पस’ समयमा फोन गर्नु भनिएको थियो । जब कि निर्मला पन्त स्कुलकी विद्यार्थी हुन् । निर्मला धामीका आफन्तलाई पनि प्रहरी कार्यालय ल्याएर धम्क्याउँदै केरकार गरियो । र अन्त्यमा दोष थोपर्न नसकेपछि सबैलाई छाड्न बाध्य भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स