February 5, 2018

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

 
२२,माघ-काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।

माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ । स्थानीय बासिन्दाले रु. एक अर्ब पाँच करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण शेयर पाउने व्यवस्था गरिएको छ ।

यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ ।

कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

शेयरमा आवेदन दिन अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना शेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।

कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३१० र ३७० मिटर लामो दुई वटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ को काम शुरु भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको उक्त ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक प्रगति ९६ प्रतिशतको हाराहारीमा पुग्नेछ ।

यस्तै, गोंगरदेखि रामेछापको खिम्तीसम्म निर्माण भइरहेको प्रसारण लाइनको काम पनि युद्धस्तरमा अगाडि बढेको छ । कूल २१७ टावरमध्ये अहिलेसम्म १३० टावर निर्माण भइसकेको र अरुको पनि ‘फाउण्डेशन’ को काम सकिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।तर बिक्री गरिएको उक्त साधारण शेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन ।

कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ ।

३ मेगावाट राष्ट्रिय प्रसारणमा थपियो

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा तीन मेगावाट विद्युत् थप भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीअनुसार लमजुङ जिल्लामा आयोजनास्थल रहेको मिदिम खोला जलविद्युत् आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु गरेको हो ।

युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले यही माघ १५ गतेदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजनाको जडित क्षमता तीन मेगावाट भएपछि हाल एक मेगावाटको हाराहारीमा मात्रै विद्युत् उत्पादन गरिरहेको छ ।

आयोजनाको शुरुको लागत रु ५४ करोड रहे पनि निर्माणमा थप समय लागेका कारण बढेर रु ६५ करोड पुगेको जनाइएको छ ।

प्रवद्र्धक कम्पनी र प्राधिकरणबीच सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता ९पिपिए० भएको छ । आयोजना लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा अवस्थित छ ।

आयोजनाले स्थानीयवासीलाई रु छ करोड ३३ लाख ७४ हजार ५०० बराबरको छ लाख ३३ हजार ७४५ कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री