
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक सूचना, डिपफेक र हेट स्पिचले सामाजिक सद्भाव तथा नागरिकबीचको सुसम्बन्धमा चुनौती थपेको बताउनुभएको छ।
उहाँका अनुसार मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था अहिले सामान्य रहे पनि शान्ति सुरक्षामा खलल पुर्याएर फाइदा लिन खोज्ने आपराधिक प्रवृत्तिका व्यक्तिहरू बेलाबखत सक्रिय हुने गरेका छन्। त्यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीलाई रणनीतिक रूपमा परिचालन गरिएको उहाँले बताउनुभयो।
महानिरीक्षक कार्कीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। समाजलाई सेवावाद, कर्मवाद र हार्दिकतातर्फ लैजान नागरिक, समुदाय र प्रहरीबीचको साझेदारी आवश्यक रहेको उहाँको भनाइ छ।
सुनसरीमा देखिएको घटनालाई उल्लेख गर्दै उहाँले धार्मिक सद्भाव र नागरिकबीचको सुसम्बन्ध जोगाउन सुरक्षा निकाय मात्र पर्याप्त नहुने बताउनुभयो। राजनीतिक, बौद्धिक तथा आध्यात्मिक नेतृत्वसहित समाजका सबै तह र तप्काले भूमिका निर्वाह गर्नुपर्ने उहाँको धारणा छ। राजनीति र संस्कृतिको सदाचारपूर्ण सङ्गमबाट यस्ता घटना न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो।
प्रहरीमाथि हुने गालीगलौज तथा दुर्व्यवहारलाई नागरिकका असन्तुष्टिका रूपमा बुझेर प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले प्रहरीबाट भने नागरिकमैत्री, शिष्ट र समान व्यवहार हुनुपर्ने बताउनुभयो। कानुन सबै नागरिकमा समान रूपमा लागू हुनुपर्ने र ‘प्रिन्सिपल अफ इनोसेन्स’का आधारमा प्रहरी अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
प्रहरी सेवाप्रति आकर्षण घट्नु र कर्मचारीले राजीनामा दिने प्रवृत्तिबारे महानिरीक्षक कार्कीले सेवा–सुविधा, जोखिमपूर्ण भत्ता, बिदा, बासस्थान तथा कार्यस्थल सुधार आवश्यक रहेको बताउनुभयो। दक्ष प्रहरी जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बन्न सक्ने भएकाले उनीहरूलाई सेवामा टिकाइराख्न सुधारका प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो।
नेपाल प्रहरीका धेरै एकाइ अझै भवनविहीन रहेको उल्लेख गर्दै उहाँले स्वीकृत दरबन्दीका दुई हजार ६६० प्रहरी एकाइ र नागरिकको मागअनुसार स्थापना गरिएका ९७० अस्थायी प्रहरी चौकीमध्ये धेरैलाई आधारभूत पूर्वाधारको आवश्यकता रहेको बताउनुभयो। हाल २८५ प्रहरी भवन अत्यन्त जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो।
बदलिँदो सुरक्षा चुनौतीअनुसार प्रहरीको कार्यशैली पनि परिवर्तन गर्नुपर्नेमा जोड दिँदै कार्कीले नयाँ कार्यसम्पादन सूचकमार्फत प्रहरी कमान्डरको नियमित मूल्याङ्कन र मासिक ‘रिपोर्ट कार्ड’ प्रणाली लागू गरिएको बताउनुभयो। साथै नागरिकले प्रहरी कार्यालय धाउन नपरोस् भनेर ‘नेपाल पुलिस एप’मार्फत घरबाटै निवेदन दिन सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।
प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएकाले विशिष्ट प्राविधिक जनशक्ति विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि इन्टरपोल तथा विभिन्न मुलुकका प्रहरी निकायसँग सहकार्य र समन्वय भइरहेको बताउनुभयो।
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई