यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन

सरकारले प्रदेश सभा बस्ने र प्रदेश सरकारका लागि आवश्यक कार्यालय भवनको खोजी गर्न थालेको छ । सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारी खटाएर सातवटै प्रदेशमा तत्काल आवश्यक पर्ने भवनको खोजी तीव्र पारिएको खबर आजको नयाँ पत्रिकामा पुष्प ढुंगानाले लेखेका छन् ।

112121212121212121

दुई चरणमा हुने निर्वाचनबाट प्रदेश सभा सदस्य निर्वाचित भएर आउन अब एक महिना पनि बाँकी छैन । तर, सरकारले प्रदेश सभाका जनप्रतिनिधिलाई शपथ खुवाउने, प्रदेश सभा बस्ने र प्रदेशका कार्यालय राख्ने भवनको टुंगो लगाउन सकेको छैन । समय थोरै भएकाले सरकारले हतारहतारमा आवश्यक भवन खोजी गरिरहेको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको प्राविधिक टोलीले केही ठाउँमा भवन छनोट गरी अध्ययन गरिरहेको सहरी विकासमन्त्री दिलनाथ गिरीले बताए । एक साताभित्र सातवटै प्रदेशमा अस्थायी कार्यालय सञ्चालनका लागि तत्काल चाहिने भवनको टुंगो लगाइने उनले बताए ।

सातै प्रदेशमा खटियो सहरी विकास मन्त्रालयको प्राविधिक टोली

प्रदेश नम्बर १ : सहरी विकास मन्त्रालयले प्रदेश नम्बर १ का लागि इटहरी, धरान र विराटनगरमा प्रदेश कार्यालय र प्रदेश सभा बस्न सक्ने सम्भावित भवनको खोजी गरेको छ । त्यसमध्ये पहिलो प्राथमिकतामा पूर्वाञ्चल विश्वविद्यालयका लागि बनाइएको मोरङस्थित गोठगाउँको भवन परेको छ । सो भवन इटहरी बजारबाट करिब ९ किलोमिटरको दूरीमा छ । यस्तै, धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालय पनि सम्भावित प्रदेश सरकारको कार्यालय बनाउनेबारे पनि अध्ययन भइरहेको छ । यसबाहेक विराटनगरमा रहेको कृषि कार्यालय र सभागृह भवनको पनि अध्ययन भइरहेको मन्त्री गिरीले बताए ।

प्रदेश नम्बर २ : प्रदेश नम्बर २ का लागि जनकपुर चुरोट कारखानाको भवन प्रयोग गर्ने करिब–करिब निश्चितजस्तै भएको मन्त्रालयले जनाएको छ । ‘त्यसआसपास अन्य ठूला भवन भेटिएको छैन,’ मन्त्रालयका एक सहसचिवले भने, ‘जनकपुर चुरोट कारखाना रहेको भवनबारे अध्ययन भइरहेको छ । त्यही भवनमा तत्काल कार्यालय स्थापना गर्ने र सभाहल व्यवस्था गर्नुपर्ने देखिन्छ ।’

प्रदेश नम्बर ३ : सरकारले प्रदेश नम्बर ३ को प्रदेश सभा र सरकारका लागि काठमाडौं, बनेपा र हेटौँडाका भवनहरूको अध्ययन गरेको छ । अहिलेसम्म ललितपुरको जावलाखेलस्थित स्थानीय निकाय प्रशिक्षण प्रतिष्ठानको भवन प्रयोग हुने सम्भावना धेरै रहेको मन्त्रालयले जनाएको छ । त्यससँगै पुल्चोकस्थित पहिले स्थानीय विकास मन्त्रालय रहेको भवनलाई पनि प्रयोग गर्न सकिने विकल्प मन्त्रालयले अघि सारेको छ । तर, प्रदेश कार्यालय र सभा राजधानीबाहिर राख्नुपरे बनेपास्थित सूचना प्रविधि पार्कको भवनको सम्भावना बढी छ । हेटौँडामा रहेको मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको अध्ययन भए पनि भौगोलिक रूपमा कोल्टो पर्ने भएकाले त्यसको सम्भावना कम रहको मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर ४ : प्रदेश नम्बर ४ का लागि पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय र पोखरा सभागृहलाई प्रयोग गर्ने करिब निश्चित भइसकेको मन्त्रालयले जनाएको छ । प्रदेश ४ को राजधानीका रूपमा पोखरा निर्विकल्प रहेकाले क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश सरकारको कार्यालयका रूपमा प्रयोग गर्ने र सभागृहलाई प्रदेश सभा कार्यालयका रूपमा प्रयोग गर्ने तयारी भएको मन्त्री गिरीले बताए ।

प्रदेश नम्बर ५ : सरकारले प्रदेश नम्बर ५ का लागि कपिलवस्तुको चोरमारा, दाङको घोराही, रूपन्देहीको बुटवलमा प्रदेश सभा, प्रदेश प्रमुख तथा मुख्यमन्त्री र विभिन्न मन्त्रालयका लागि भवनको खोजी गरिरहेको छ । त्यसमध्ये तत्कालका लागि घोराहीस्थित संस्कृत विश्वविद्यालयको भवन प्रयोग गर्ने सम्भावना बढी रहेको प्राविधिक टोलीका एक सदस्यले बताए । ‘हामीले अस्थायी कार्यालय खोज्ने हो, प्रदेश सभाले प्रदेश राजधानी तोकेपछि प्रदेशको राजधानीमा कार्यालय खोज्नुपर्ने हुन्छ,’ ती सदस्यले भने । प्रदेश नम्बर ५ को राजधानीका लागि दाबी गरिएको बुटवलमा प्रदेशका लागि आवश्यक पर्ने भवन नभेटिएको स्रोतले जनाएको छ ।

प्रदेश नम्बर ६ : सरकारले सुर्खेतस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश सरकारको कार्यालयका रूपमा प्रयोग गर्नेबारे अध्ययन गरेको छ । त्यसबाहेक शैक्षिक तालिम केन्द्रको भवनलाई पनि प्रदेश कार्यालयका रूपमा प्रयोग गर्न सकिने सहरी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर ७ : प्रदेश नम्बर ७ को प्रदेश सरकारको कार्यालय डोटीको दिपायलस्थित सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयको भवनमा बनाउने तयारी भएको छ । त्यस्तै, शैक्षिक तालिम केन्द्र र सिटिइभिटीको कार्यालयलाई प्रदेश सभाका लागि प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय