डा. यादवको मत खरिद बिक्री नगर्न चेतावनी

Ayodhi-Yadav-nirbachan-ayukta-talkधुलिखेल,  २२ कात्तिक ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री अर्थात् वस्तु विनिमयको साधनजस्तो नबनाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।
‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको धुलिखेलमा मङ्गलबार शुभारम्भ गर्दै उहाँले जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व भएको स्पष्ट गर्नुभयो ।  प्रमुख आयुक्त यादवले जनताको मतलाई मतदान केन्द्रबाट मतगणनासम्मको प्रक्रिया पूरा गर्दासम्म सुरक्षित राख्न सबैको सहयोग आवश्यक रहेको जानकारी दिनुभयो ।
टे«ड युनियनको दबाबमा कसैलाई पनि चुनावमा नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिँदै डा. यादवले निर्वाचनमा गलत कार्य गर्ने जोसुकैलाई पनि कारबाही गर्नेचेतावनी दिनुभयो ।

सहरबजार र सार्वजनिक स्थलमा फोहोर नगर्न उम्मेदवारलाई आग्रह गर्दै उहाँले त्यस्तो कार्य भएमा सुरक्षाकर्मीलाई पनि टुलुटुलु हेरेर नबसी कारबाही गर्न निर्देशन दिनुभयो ।  प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको बताउनुभयो ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय दायित्व, सङ्कल्प र लक्ष्य भएकाले निर्वाचन अभियान सफल पार्न सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
दुवै चरणको निर्वाचनलाई सफल बनाउन करिब ६० हजार जनशक्तिलाई प्रशिक्षण दिइने जानकारी दिँदै प्रवक्ता ढकालले मतदान केन्द्रको बनावट, मतदातालाई दिनुपर्ने सुविधा तथा फरक क्षमता भएका मतदातालाई पु¥याउनुपर्ने सेवाका विषयमा तल्लो तहसम्म राम्रो सञ्चार प्रवाह गर्न प्रशिक्षकलाई निर्देशन दिनुभयो ।
प्रशिक्षणमा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा र जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले निर्वाचनको तयारीका विषयमा जानकारी दिनुभयो ।  क्षेत्रीय स्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यस जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिनेछन् ।
समन्वय र परामर्श गर्न निर्देशन
यसैगरी प्रमुख निर्वाचन आयुक्त डा. यादवले मङ्गलबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको आकस्मिक अनुगमन
गर्नुभएको छ ।
मङ्सिर १० गते हुने निर्वाचनको तयारी अवस्थाबारे जानकारी लिन चौतारा पुग्नुभएका प्रमुख आयुक्त डा. यादवले जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्की, मुख्य निर्वाचन अधिकृत दीपक खनाल र प्रमुख जिल्ला अधिकारी आशमान तामाङसँग निर्वाचनको तयारी, सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन र मतदान सामग्री लगायतका विषयमा जानकारी लिनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालयमा उपस्थित कर्मचारीलाई निर्देशन दिँदै उम्मेदवारलाई आचारसंहिता पालना गर्नका लागि प्रोत्साहित गर्न सुझाव दिनुभयो ।  मतपेटिका सङ्कलन गर्दा होशियारी अपनाउन र कसैले प्रश्न उठाउने अवस्था सिर्जना गर्नतर्फ सजग रहन निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारसँग राम्रो समन्वय र परामर्श गरी निर्वाचनको उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
चैतारामा आयोजित पत्रकार सम्मेलनमा उहाँले मतदाता शिक्षा कार्यक्रम कात्तिक २५ गतेबाट सुरु हुने र निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको बताउनुभयो ।  दलहरूले निर्वाचनको स्वामित्व ग्रहण गरिसकेकाले निर्वाचन प्रचारप्रसार तथा मतगणना जस्ता कार्य पनि शान्तिपूर्ण रूपमा हुने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण