१ फागुन, काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल दबाव र तनाव भएको समाचारदेखि अनिश्चयबीच दलहरु निर्वाचनको अभियानमा लागेकोसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल तनाव र दबावमा भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले कालिकोटको कोटवाडामा पहिलोपटक हवाईजहाज पुगेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।
संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ ।
‘भेटमा ओलीजीले नीति कार्यक्रम पनि ल्याउनुस् र बजेट पनि ल्याउनुस् भन्नुभएपछि आशंका उब्जिएको छ,’ देउवानिकट स्रोत भन्छ, ‘चुनाव पनि घोषणा नहुने र सरकार पनि नछोड्ने अवस्थामा सशंकित हुनु अस्वाभाविक होइन ।’
यो खबर आजको नयाँ पत्रिकामा छ ।
सप्तरीस्थित गोबरगाढा गाउँवासीको पीडालाई मुख्य समाचार बनाएको नागरिक दैनिकले भोट खसाल्न जनता आतुर भएको समाचारलाई प्राथमिकता दिएको छ ।
कान्तिपुर दैनिकको फ्रन्टपेजमा एमाले-मोर्चा नजिकिएको विषयमा विश्लेषणात्मक समाचार छापिएको छ ।
अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएको खबर आजको कान्तिपुरमा छ।
बालिका बलात्कृतको आरोपमा प्रहरीले पति-पत्निलाई नै पक्राउ गरेको छ। अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी राधाजंगम पक्राउ परेका हुन् । राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए।
टिभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएकी थिइन् । त्यही समय राजकृष्णले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।