
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको र देशभर तथा विदेशबाट प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी रहेको पार्टीले जनाएको छ।रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालका अनुसार महाधिवेशन उद्घाटनका लागि भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त विशाल डोम निर्माण गरिएको छ। करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त संरचनामा उद्घाटन समारोह आयोजना गरिनेछ।
महाधिवेशनमा करिब ३ हजार ५०० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि चितवनका तीन सयभन्दा बढी होटलमा बसोबासको व्यवस्था मिलाइएको जनाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै भरतपुर नगर क्षेत्रलाई ब्यानर, तोरण र स्वागतद्वारहरूले सजाइएको छ।
पार्टीका सभापति रवि लामिछाने सहित केन्द्रीय नेतृत्व भरतपुर पुगिसकेको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू तथा देश–विदेशका विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ।महाधिवेशन अवधिभर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ड्रोनमार्फत निगरानी गरिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार कार्यक्रमस्थल आसपासका केही मुख्य सडकमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ भने विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि तत्काल कारबाही गरिने चेतावनी पनि दिइएको छ।
महाधिवेशनअन्तर्गत बन्दसत्र चितवन उद्योग सङ्घको प्रदर्शनी कक्षमा सञ्चालन हुने भएको छ। यसअघि हल उपलब्धताको विषयमा देखिएको विवाद समाधान भएसँगै बन्दसत्रका लागि आवश्यक तयारी पूरा गरिएको पार्टीले जनाएको छ।महाधिवेशनको मुख्य आकर्षणका रूपमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले इलेक्ट्रोनिक उपकरणमार्फत उम्मेदवारको नाम र तस्बिरमा स्पर्श गरी मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारीहरूको निर्वाचन हुनेछ। निर्वाचन कार्यतालिका अनुसार असार ८ गते उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुने र सोही दिन पहिलो चरणको मतदान सम्पन्न गरिनेछ।रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई संगठन सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा आगामी राजनीतिक दिशानिर्देशन तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।