उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक लोकतन्त्रको अभाव रहेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन्। उनले चुनावको मुखमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार छनोटको नाममा आर्थिक घोटाला भएको दाबी गर्दै यस्तो दलबाट सुशासनको अपेक्षा गर्न नसकिने बताएका छन्।

गत प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका राणा काठमाडौं–५ बाट उम्मेदवार बनेका थिए। पार्टीभित्र उनले केन्द्रीय एनआरएन विभागको उपप्रमुख, गुनासो व्यवस्थापन विभाग सदस्यलगायत जिम्मेवारी सम्हालेका थिए। साढे तीन वर्षको आवद्धतापछि उनले बिहीबारदेखि पार्टी छोडेको घोषणा गरेका हुन्।

राणाले पार्टीभित्र निर्वाचित संरचनामाथि पटक–पटक हस्तक्षेप गरिएको आरोप लगाए। “निर्वाचनबाट बनेका क्षेत्रीय समितिलाई आफ्नो अनुकूल नभए विघटन गर्ने प्रवृत्ति देखियो,” उनले भने, “लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न सकिएन।” उनका अनुसार विधानमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसलाई पूर्णरूपमा लागू नगरिएको दाबी छ। “प्रारम्भिक मतदानबाट प्राप्त अंकलाई नै अन्तिम निर्णय मान्नुपर्ने माग राष्ट्रिय भेलामै उठाएको थिएँ,” उनले भने, “तर त्यसलाई बेवास्ता गरियो।”

राणाले पार्टीको महाधिवेशन पटक–पटक सारिएको विषयलाई पनि असन्तुष्टिको कारण बताए। उनका अनुसार अन्य ठूला दलहरूले महाधिवेशन सम्पन्न गरिरहँदा रास्वपाले भने मिति सार्दै आएको थियो। त्यस्तै, आर्थिक पारदर्शितामा समेत प्रश्न उठाउँदै उनले सदस्यता शुल्क र उम्मेदवार आवेदन शुल्कको व्यवस्थापनबारे स्पष्ट जानकारी नदिइएको आरोप लगाए। “समानुपातिकतर्फ उम्मेदवार हुन ५० हजार रुपैयाँ तोकियो, तर कसले कति मत पायो भन्ने जानकारी सार्वजनिक भएन,” उनले भने।

समानुपातिक उम्मेदवार छनोटमा नीति विपरीत भागबण्डा गरिएको आरोप पनि राणाले लगाए। पार्टीले १० प्रतिशत प्रवासी नेपालीलाई अवसर दिने नीति बनाए पनि व्यवहारमा शून्य प्रतिनिधित्व भएको उनको भनाइ छ। उनले स्वतन्त्र मेयर बालेन शाह र पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ निकट व्यक्तिहरूलाई प्राथमिकता दिइएको दाबी गर्दै भने, “पार्टीको आफ्नै कोटामा आन्तरिक प्रतिस्पर्धा गराउन सकिन्थ्यो, तर विधि लागू गरिएन।”

काठमाडौं–५ मा टिकट नपाएको कारण आरोप लगाएको भन्ने टिप्पणीप्रति राणाले असहमति जनाए। “यी विषय मैले अढाई वर्षअघिदेखि उठाउँदै आएको हुँ,” उनले भने, “संगठनमा सुधारको प्रयास असफल भएपछि मात्रै राजीनामा दिएको हुँ।”राणाले तत्काल कुनै अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारे। “कसैले कांग्रेस, कसैले एमाले, कसैले राप्रपा भन्छन्,” उनले भने, “तर अहिले कुनै निर्णय गरेको छैन। राजनीति भने निरन्तर गर्छु।”

उनले आफूलाई सक्रिय राजनीतिमा निरन्तर रहने संकेत दिँदै फुटबल खेलाडी Lionel Messi को उदाहरण प्रस्तुत गरे। “मेस्सीले बार्सिलोना छाडे, पीएसजी गए, अहिले इन्टर मियामीमा छन्। म पनि आफ्नो राजनीतिक यात्रा निरन्तरता दिन्छु,” उनले भने। राणाको राजीनामाले रास्वपाभित्र उम्मेदवार छनोट प्रक्रिया र आन्तरिक लोकतन्त्रबारे नयाँ बहस सुरु गरेको छ। पार्टी नेतृत्वले भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना