काठमाडौँ, ५ बैशाख । नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बैठक सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । उहांका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुनेछ ।
पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत छलफलका विषय रहेको एमाले नेताहरुले जनाएका छन् । एमालेले महानगर र उपमहानगरका मेयर उपमेयर केन्द्रबाट निर्णय गरेर उम्मेदवार बनाउने जनाएको छ भने नगर र पालिकामा सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला र प्रदेशले निर्णय गर्नेगरी यसअघि नै निर्णय गरेको छ ।
एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई घोषणापत्र तयार गर्न जिम्मेवारी दिएको थियो । बैशाख ९ गते केन्द्रमा घोषणापत्र र स्थानीय सबै तहमा प्रतिवद्धता पत्र सार्वजनिक गने एमालेको तयारी छ ।