चुनावको मुद्दाले विप्लवको पार्टी फुट्ने सम्भावना

चैत ४, काठमाडौं:  स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयका कारण नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय बैठकमा औपचारिक रुपमै चुनावमा सहभागी हुने प्रस्ताव राखेपछि पार्टीमा विवाद बढेको हो ।

दुई दिनसम्म काठमाडौंमा चलेको पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्ताव नै अल्पमतमा पर्यो । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार चुनावमा सहभागी हुने प्रस्तावको पक्षमा विप्लवसँगै पार्टी प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ र चुनावमा विपक्षमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ उभिए ।

सचिवालय सदस्य सन्तोष बुढा मगर दुवै पक्षमा नखुलेपछि सचिवालय बैठकमा विप्लवको प्रस्ताव अल्पमतमा पर्यो । दुई दिनसम्म बसेको बैठक विनानिष्कर्षमै टुंगियो । आफ्नो प्रस्ताव अल्पमतमा परेपछि विप्लवले दुवै पक्षमा नखुलेका सन्तोष बुढालाई सँगै गाडीमा लिएर कपिलबस्तु हिँडे ।

शुक्रबारका लागि तय भएको नेकपाको केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले चुनावी प्रस्ताव पेश गर्ने र त्योभन्दा पहिले सचिवालयमा एकमत बनाउने प्रयास गरेका थिए । कपिलबस्तुमा बुधबार पुनः सचिवालय बैठक बस्ने भनिए पनि पार्टी प्रवक्ता प्रकाण्ड काठमाडौँ रहेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित भएको थियो ।

विप्लवले बैठकमा पार्टी शान्तिपूर्ण राजनीतिमा आइसकेको र जनताबाट अलग्गिने भन्दै चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएको एक सचिवालय सदस्यले नेपाल प्रेससँग बताए । महासचिव विप्लवको प्रस्तावको विपक्षमा रहेका सुदर्शन र कञ्चन अहिले क्रान्तिकारी शक्ति कमजोर भएको र चुनावको नतिजा जनताको पक्षमा नआउने बुझाइमा छन् । बैठकमा उनीहरुले दोस्रो संविधानसभाको निर्वाचनसहित त्यसपछिका निर्वाचन बहिस्कार गरेको औचित्य पुष्टि नहुने बताएका थिए । विप्लवको प्रस्ताव अनुसारै चुनावमा जानुपर्नेमा प्रवक्ता प्रकाण्डले भने जोड दिएका थिए ।

विप्लवले अलग–अलग गरेको छलफलमा चुनावमा जान तयार भए पनि बैठकमा बुढामगरले चुनावी नतिजा जनताको विपक्षमा आउने मत राखेका थिए । नेता बास्तोलाले तीन बुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा चुनावमा जानु प्रतित्पादक हुने बताउँदै चुनावमा सहभागी हुन ेभए अहिलेसम्म बहिस्कार गरेको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखेका थिए ।

अर्का सचिवालय सदस्य सुदर्शनले पार्टीका नेता कार्यकर्ता अझै पनि जेलमै रहेको र जनमत संग्रहको नारा लगाएर संसदीय व्यवस्थाको चुनावमा जानु राजनीतिक बेइमानी हुने धारणा राखेका थिए ।

पार्टी एकता गरेर निर्वाचनमा जाने विप्लवको प्रस्ताव वैद्यद्वरा अस्वीकार

यसैबीच नेकपाका महासचिव विप्लवले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’लाई भेटेर पार्टी एकता गरेर चुनावमा जान प्रस्ताव राखेका थिए । क्रान्तिकारी माओवादीका एक नेताले भने, ‘हामी केन्द्रीय समिति बैठकको तयारीमा थियौं, विप्लवजीले महासचिव ‘किरण’ कमरेडसँग भेट्न समय माग्नुभयो । भेट पनि भयो । भेटमा चैतभित्रै पार्टी एकता गरौं र चुनावमा जाऔं भनेर प्रस्ताव राख्नुभयो ।’

विप्वलको प्रस्तावलाई वैद्यले ठाडै अस्वीकार गरेको ती नेताले बताए । भेटमा वैद्यले आफ्नो पार्टी चुनाव उपयोगको पक्षमा नरहेको र एमसीसीलगायतका विषयमा सँगै सडक संघर्षमा जान प्रस्ताव राखेका थिए ।

विप्वलको प्रस्तावले क्रान्तिकारी माओवादीभित्र ठूलै बहसको विषय बनेको छ । विप्लवसँगको भेटको कुरा वैद्यले केन्द्रीय समितिमा नराखे पनि सीमित नेतालाई भने जानकारी गराएका छन् ।

यसअघि क्रान्तिकारीबीच ध्रुवीकरण गरौं भन्दा विप्लवले आनाकानी गर्दै आएको तर चुनावको लागि पार्टी एकता गरौं भन्ने प्रस्ताव राखेको एक नेताले बताए । उनले भने, ‘हामीले पटक–पटक क्रान्तिकारीबीचको एकतामा जोड दिँदै आयौं, विप्लवजीले आनकानी गरेर टार्दै आउनुभयो । तर, अहिले चुनावमा सहभागी हुनका लागि पार्टी एकताको प्रस्ताव गर्नुभयो, हामी त उहाँले यस्तो प्रस्तावबाट अचम्ममा परेका छौं ।’

उनले आफ्नो पार्टीको पोखरा केन्द्रीय समिति बैठकको निष्कर्ष सावित भएकोसमेत दाबी गरे । यसअघि पोखरामा सम्पन्न बैठकले विप्लवलाई रुपमा क्रान्तिकारी र सारमा दक्षिणपन्थी, संशोधनवादी भएको सश्लेषण गरेको थियो ।

विप्लवसँग पार्टी एकताका लागि महराको प्रस्ताव, सिटमा कुरा मिलेन

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महरा र विप्लवबीच कपिलबस्तुमा भएको भेटवार्तामा चुनावबारे छलफल भएको बताइएको छ । स्रोतका अनुसार महराले सबै माओवादी एक भएर चुनावमा सँगै जाउ भन्दै प्रस्ताव राखेका थिए ।

विप्लवले जवाफमा आफ्नो पार्टीलाई कति सिट दिने ? भन्दै प्रश्न राखेका थिए । महराले यसबारे पहिले चुनावमा जानेबारे सैद्धान्तिक सहमति भएपछि त्यसबारे छलफल गर्न सकिने बताइएको छ ।

विप्लवले आफूले केन्द्रीय समिति बैठकमा यसबारे निर्णय गरेर फेरि छलफलमा बस्ने जवाफ दिएको महरा निकट एक नेताले बताएका छन् ।

चुनावमा जाने प्रस्ताव पारित भए नेकपा फुट्ने !

 विप्लव नेतृत्वका एक सचिवालय सदस्यले पार्टीले औपचारिक रुपमा चुनावमा सहभागी हुने निर्णय गरे आफूहरु त्यसको विपक्षमा जाने बताए । उनले सचिवालय बैठकमा महासचिव विप्लवले चुनावमा सहभागी हुनेबारे प्रस्ताव राखेको सुनेको तर, आफूसँग कुनै पनि नेताले औपचारिक रुपमा नभनेको बताए ।

उनले अब बस्ने केन्द्रीय समिति बैठकमा चुनावमा सहभागी हुने र प्रस्ताव आए आफूहरु विपक्षमा उभिने बताउँदै भने, ‘केन्द्रीय समिति बैठक बस्ने भनेर पटक–पटक समय तोकेर स्थगित हुँदै आएको थियो, योपटक बस्छ होला । बैठकमा चुनावमा सहभागी हुने प्रस्ताव आए बहुमत साथीहरुले त्यसलाई अस्वीकार गर्छौं ।’

जबरजस्त चुनावमा सहभागी हुने निर्णय गरे आफूसहित ठूलो समूहले विद्रोह गर्ने उनले बताए । उनले भने, ‘पहिलो कुरा, एमसीसीलगायतका विषयमा सडक संघर्षका कार्यक्रम ल्याउने बेलामा महासचिवले चुनावमा सहभागी हुने प्रस्ताव ल्याउनु हुनेछैन भन्ने विश्वास छ । यदि ल्याए प्रतिवाद गर्छौं र विद्रोह गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने