तारे होटलको अकुपेन्सी कति ?

काठमाडौं, चैत्र १९। कोरोना कहरका कारण मारमा परेका तारे होटल अझै लयमा फर्कन सकेका छैनन् । लकडाउनका कारण पाँच महिना बन्द भएका तारे होटललाई लयमा फर्काउन होटल सञ्चालकले प्रयास गरे पनि सार्थक हुन सकेको छैन ।

यद्यपि, केही सुधारको संकेत देखिएको होटल सञ्चालकहरु बताउँछन् । अहिले तारे होटलको अकुपेन्सी दर (होटलका कुल कोठामध्ये भरिएका कोठा) १२ देखि २५ प्रतिशतसम्म मात्र छ ।

तथ्यांकअनुसार साङ्ग्रिला होटलको अकुपेन्सी दर १२ देखि १८ प्रतिशत रहेको छ । होटलका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर साङ्गे लामाका अनुसार कोरोनाका कारण साङ्ग्रिला होटल बन्द भएन । उक्त होटल लकडाउनका बेला पनि क्वारेन्टिनका रुपमा सञ्चालित थियो । सो समयमा साङ्ग्रिलामा २ सय ५० जना बसेका थिए । जसकारण होटल संचालनमा केही राहत मिलेको लामाको भनाइ छ ।

अहिले पनि सांग्रिलामा पहिलाकै ग्राहक आउने गरेका छन् । यहाँ नेपालीभन्दा भारतीय ग्राहक धेरै आउँछन् । व्यापारबाट होटलको सबै खर्च नपुगे पनि बन्द गर्नुपर्ने स्थिति नआएको लामाले बताए ।

कालिमाटीस्थित पाँचतारे होटल सोल्टीमा २२६ कोठा छन्, जहाँ अचेल दैनिक १२० कोठा प्याक हुन्छन् । सोल्टीमा विभिन्न कर्पोरेट हाउसका कार्यक्रम पनि हुने गरेको छ । जसकारण विदेशी पाहुना नआउँदा पनि व्यापार ठिकै भएको बताउँछन्, होटलका सेल्स म्यानेजर रविन रानाभाट ।

होटलमा नेपाली पाहुना कम आए पनि विभिन्न नेपाली इभेन्ट हुने गरेको रानाभाटले बताए । उनका अनुसार सोल्टीमा आउने अधिकांश पर्यटक भारतीय हुन् । ‘समग्रमा व्यापारबाट होटल सञ्चालन गर्न पुगेको छ’ उनले भने, ‘अहिले नाफा कमाउने कुरा छैन, चल्न सके नै ठूलो कुरा हो ।

सोल्टीले सामाजिक दूरीलगायत सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल संचालन गरेको छ । ‘बाहिरबाट आउने ग्राहकलाई पीसीआर टेष्ट नगरी होटलमा प्रवेश नदिने भएकाले यहाँ आउने पर्यटक वा कुनै पनि ग्राहकमा कोरोना संक्रमणको सम्भावना कम छ’, रानाभाट भन्छन् ।

लाजिमपाटस्थित होटल र्‍याडिसनले लकडाउनपछि पहिलाको भन्दा कम मूल्यमा आफ्ना सीमित ग्राहकलाई सेवा दिइरहेको छ । र्‍याडिसनमा अहिले १० देखि २० प्रतिशत अकुपेन्सी छ ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटलले सरकारले जारी गरेको ‘दोस्रो स्वास्थ्य सुरक्षा मापदण्ड’ पालना गर्दै बुक भएका इभेण्टसमेत रद्द गरेको छ । उक्त होटलले लकडाउनपछि पहिलाको भन्दा ५० प्रतिशत सस्तोमा सेवा दिइरहेको थियो । अहिले होटलको अकुपेन्सी दर अहिले ५ देखि १० प्रतिशत रहेको छ । होटलमा भारतीय ग्राहक नै धेरै हुने रहेको होटलले जनाएको छ ।

काठमाडौंको बौद्धमा रहेको हायात रिजेन्सी होटलमा अहिले विदेशी र नेपालीको सामान्य चहल पहल छ । होटलमा भारतीय पर्यटक भने कम भएको होटलको सेल्स डिपार्टमेन्टले जानकारी दिएको छ ।

अहिले होटलको अकुपेन्सी दर अत्यन्त न्यून रहेको होटलकी सेल्स तथा मार्केटिङ म्यानेजर निमा शेर्पाले बताइन् । उनका अनुसार होटलको अकुपेन्सी दर १० प्रतिशत मात्र रहेको छ । ‘होटल नखोल्दा पनि भएन, खुल्दा पनि अबस्था अत्यन्त नाजुक छ,’ उनले भनिन् ।

अर्को पाँचतारे होटल याक एण्ड यतिमा अहिले ग्राहकको संख्या न्यून छ । विवाहलगायत विभिन्न कार्यक्रमले सञ्चालन खर्च अलिकति धानेको होटलले बताएको छ । होटलमा अहिले अकुपेन्सी दर १० प्रतिशत मात्र रहेको छ । ‘होटलका रुमहरु धेरैजसो खाली नै छन्,’ होटलकी एक कर्मचारीले बताइन् ।

काठमाडौंमै रहेको अलफ्ट होटलको अकुपेन्सी दर अन्य पाँचतारे होटलको तुलनामा राम्रो रहेको छ । होटलका अनुसार अकुपेन्सी दर सरदर ३५ प्रतिशत रहेको छ । बुधबार मात्र होटलको अकुपेन्सी दर ३० प्रतिशत रहेको थियो । अलफ्टमा प्रायः तेस्रो मुलुक तथा भारतका ग्राहक आउने गरेका छन् ।

दरबारमार्गस्थित अर्को पाँचतारे होटल अन्नपूर्ण भने कोरोना महामारीका कारण अहिले पनि बन्द नै छ ।

मापदण्ड खुकुलो बनाएपछि आशा

केही समयअघि मात्र सरकारले नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटक आगमनलाई केही खुकुलो बनाएसँगै होटल व्यवसायी केही उत्साही भएका छन् ।

‘विदेशी पर्यटकलाई नेपाल आउन खुकुलो बनाएसँग हामीमा उत्साह बढेको छ’, ‘होटल एसोसिएसन अफ नेपालका उपाध्यक्ष विनायक शाह भन्छन्, ‘कोरोनाबीचमा पनि सबै सुरक्षाका मापदण्ड अपनाएर पर्यटक ल्याउने बाटो खुलेको छ ।’

हाम्रा एजेन्टमार्फत विदेशी पर्यटक ल्याउने काम सुरु गरिएको उनले बताए ।

सौराहा र पोखराका होटल सुधारको बाटोमा

चितवन सौराहाका ठूला होटलको स्थिति सन्तोषजनक भएको बताउँछन्, ग्रीन पार्क चितवन होटलका म्यानेजर राधाकृष्ण श्रेष्ठ । उनका अनुसार ग्रीन पार्क होटलको अकुपेन्सी दर अहिले ४० प्रतिशत छ । ग्रीन पार्कमा अधिकांश आन्तरिक पर्यटक जाने गरेका छन् ।

सौराहामा विगतका वर्षभन्दा यसवर्ष आन्तरिक पर्यटकको चहलपहल बढी रहेको श्रेष्ठको भनाइ छ । सौराहका स्टार होटलहरुको अकुपेन्सी दर ४० प्रतिशतको हाराहारीमा भएको उनी बताउँछन् ।

पोखरामा पनि होटल व्यवसायले लय समात्न थालेको बताउँछन् होटल माउण्टभ्यू पोखराका होटल म्यानेजर कृष्ण भारती । उनका अनुसार अहिले माउण्टभ्यूको अकुपेन्सी दर ४० प्रतिशत छ ।

अहिले पोखरामा विदेशी पर्यटक पनि बढ्न थालेको भारती बताउँछन् । उनका अनुसार कुल पर्यटकमध्ये पाँच प्रतिशत विदेशी पोखरामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब