February 19, 2020

संसारभर यसरी लुकाइन्छ अवैध सम्पत्ति, वकिल र परामर्शदाताको पनि प्रयोग

 

एजेन्सी, ७ फाल्गुन । राज्यको कानुन छलेर अवैध धन/सम्पत्ति लुकाउने कार्यलाई सहयोग गर्ने मुलुकमा अमेरिका पनि रहेको एक प्रतिवेदनले खुलासा गरेको छ ।कानुन र कर छलेर जम्मा गरिएको अवैध धन लुकाउने कार्यमा विभिन्न व्यक्तिलाई सहयोग गर्ने मुलुकमा अमेरिका पनि रहेको कर छलिबारे अन्तर्राष्ट्रिय रुपमा अनुसन्धान गर्दै आएको  ट्याक्स जस्टिस नेटवर्क (टिजेएन) ले जनाएको हो । टिजेएनको नयाँ प्रतिवेदनमा गोप्यतासम्बन्धी अमेरिकी कानुनका कारण विदेशीहरूलाई त्यहाँ अवैध सम्पत्ति लुकाउन सहज भएको  उल्लेख गरिएको छ ।

एंगोलाले अफ्रिकाकै सबैभन्दा धनी महिला इजाबेल डोस सान्टोसमाथि गोप्य रुपमा विदेशमा जम्मा गरेको आरोप लगाएपछि ट्याक्स जस्टिस नेटवर्कको अनुसन्धानले यस्तो खुलासा गरेको हो ।

केही समयअघि सान्टोसले परामर्शदाता पश्चिमी फर्मको सहयोग लिँदै गोप्य रुपमा विदेशमा अवैध धन लुकाएर राखेको विवरण चुहिएको थियो । सान्टोसले अवैध रुपमा विदेशमा धन लुकाएर राखेको कुरा चुहिएको चर्चित काण्डलाई ‘लुआन्डा लिक्स’ पनि भनिन्छ ।

फोर्ब्सका अनुसार एंगोलाका पूर्व राष्ट्रपतिकी छोरी समेत रहेकी सान्टोससँग २ बिलियन अमेरिकी डलर बराबर सम्पत्ति छ । अनुसन्धानमूलक पत्रकारहरूको संगठन द इन्टरनेशनल कन्सोर्टियम अफ इन्भस्टिगेटिभ जर्नालिस्ट्स (आईसिआईजे) ले पश्चिमा परामर्शदातामार्फत् कर अधिकारीहरूलाई छलेर उनले आफ्नो सम्पत्ति विदेशमा लुकाएको दाबी गरेको छ ।

‘इजाबेल डोस सान्टोसले पनि गोप्यतासम्बन्धी अमेरिकी कानुनको फाइदा उठाएकी थिइन् । लुआन्डा लिक्सका डकुमेन्ट हेर्दा उनले डेलावरस्थित एक कम्पनीमार्फत् पोर्चुगलमा सम्पत्ति किनेको प्रस्ट हुन्छ ।  न्यून कर तिरेर सजिलै गोप्य कम्पनी खोल्न सकिने स्थानमा डेलावर पनि पर्छ’, आईसिआईजेको लुआन्डा लिक्सका परियोजना व्यवस्थापक फर्गुस शेएलले बताए ।

अफ्रिकाकी पहिलो महिला अर्बपति सान्टोसमाथि कर छलेको र  सुरक्षित साथ धन राख्न सकिने अन्तर्राष्ट्रिय केन्द्रहरू प्रयोग गर्दै अवैध सम्पत्ति विदेशमा लगेर जम्मा गरेको आरोप लागेको छ । तर अल जजिरा टेलिभिजनसँग कुरा गर्दै आफूमाथि लागेका आरोप झुठो भएको सान्टोसले बताएकी छन् ।

गोप्य रुपमा हुने आर्थिक कारोबारको मापन कसरी गरिन्छ ? 

टिजेएनले ‘गोप्य आर्थिक कारोबारसम्बन्धी सूचक’ का आधारमा कुन मुलुकमा अवैध सम्पत्ति लुकाउन सहज छ भनेर मापन गर्छ । यसरी मापन गर्दा अन्य मुलुकबाट भित्रिने अवैध धनलाई लुकाउन र शुद्धीकरण गर्नका लागि सम्बन्धित मुलुकको वित्तीय प्रणालीमा के-कति छुट छ भनेर हेरिन्छ ।

यस वर्षको कर तथा गोप्य आर्थिक कारोबारसम्बन्धी सूचाङ्क अनुसार अमेरिकामा गोप्य रुपमा हुने आर्थिक कारोबार १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । नयाँ सूचक अनुसार अवैध धन लुकाउन सहज हुने मुलुकको सूचीमा अमेरिकाले स्विट्जरल्याण्डलाई उछिनेको छ ।

अवैध धन लुकाउन सबैभन्दा सहज हुने मुलुक/स्थानमा बेलायतको नियन्त्रणमा रहेको केम्यान आइल्याण्ड पहिलो नम्बरमा छ जहाँ गोप्य रुपमा हुने आर्थिक कारोबार २४ प्रतिशतले बढेको पाइन्छ ।

मापन गर्दा एक देखि सयसम्मको अंक निर्धारण गरिन्छ र सोही आधारमा कुन मुलुकमा अवैध धन लुकाउन कति सहज छ भनेर हेरिन्छ । यदि कुनै मुलुकले शून्य अंक प्राप्त गरेमा सम्बन्धित मुलुकमा पूर्ण रुपमा आर्थिक पारदर्शिता कायम रहेको मानिन्छ । यता १०० अंकले आर्थिक कारोबार पूर्ण रुपमा गोप्य राखिने संकेत गर्छ । पारदर्शितासम्बन्धी अंक मापन गर्दा विदेशी नागरिकले गरेका वित्तीय गतिविधिको मात्रा पनि हेरिन्छ ।

विभिन्न गैरकानुन माध्यमबाट जम्मा भएको अवैध धन लुकाउन सबैभन्दा सहज हुने १० मुलुकमा हङकङ, सिंगापुर, लक्जेम्बर्ग, जापान, नेदरल्याण्ड, ब्रिटिश भर्जिन आइल्याण्ड र संयुक्त अरब इमिरेट्स पर्छन् । न्यून आय भएका मुलुकहरूले मापन गरिएको गोप्य आर्थिक कारोबारको १ प्रतिशत हिस्सामात्रै उपलब्ध गराउने गरेको र यी मुलुकहरू यस्तो धनको असरको उच्च जोखिमा रहेका छन् ।

‘गोप्य आर्थिक कारोबारले ड्रग कार्टेललाई वित्तीय माध्यम दिने, मानव तस्करीलाई नाफामूलक र करछलीलाई सहज बनाउने गर्छ’, टिजेएनका मार्क बोउ मनसुरले अलजजिरासँग भने, ‘यस्तो गोप्यताका कारण विकाशशील मुलुकका समुदायहरूले महत्वपूर्ण कोष गुमाउने तर अन्य समुदायमा भने अवैध पैसाको खोलो बग्ने गर्छ ।’

तर पछिल्लो समय गोप्य रुपमा हुने आर्थिक कारोबार घट्दै गएको देखिन्छ जुन सकरात्मक कुरा हो । विश्वभर हुने गोप्य आर्थिक कारोबार सन् २०१८ मा ७ प्रतिशतले घटेको थियो । यसको अर्थ ‘सम्पत्ति शुद्धीकरण, करछली र विदेशमा जम्मा गरिने अवैध तथा गैरकानुनी सम्पत्तिका लागि कम अवसर रहेको’  भन्ने बुझिन्छ ।

अमेरिका र बेलायतमा पनि अवैध सम्पत्ति लुकाइन्छ 

टिजेएनको प्रतिवेदन अनुसार कुनै विवरण नखुलाइकनै गैर-नाफामूलक प्राइभेट संघसंस्था खोल्न सकिने नयाँ कानुनी प्रावधानले अमेरिकामा गोप्य आर्थिक कारोबारको मात्रा बढेको छ । हालसम्म अमेरिकाले ओईसिडीले कायम गरेको साझा सूचना मापदण्ड (कमन रिपोर्टिङ स्टान्डर्ड) मा हस्ताक्षर गरेको छैन । उक्त मापदण्डमा १०५ वटा मुलुकको हस्ताक्षर गरिसकेका छन् ।

त्यस्तै बेलायतमा पनि गोप्य रुपमा हुने आर्थिक कारोबारको मात्रा ४ प्रतिशतले बढेको देखिन्छ । बेलायतको अधिनमा रहेका विभिन्न क्षेत्र र भू-भागमा यस्तो आर्थिक कारोबार हुने गर्छ । जसमा सबैभन्दा बढी अवैध सम्पत्ति लुकाइने स्थानको सूचीमा पहिलो नम्बरमा रहेको केम्यान आइल्याण्ड, नवौं स्थानमा रहेको ब्रिटिश भर्जिन आइल्याण्ड र एघारौं स्थानमा रहेको गुअर्नसी जस्ता क्षेत्र छन् ।

प्रतिवेदनमा ओईसिडीका सदस्य राष्ट्रमा मात्रै विश्वमा हुने कुल गोप्य आर्थिक कारोबारमध्ये झण्डै ५० प्रतिशत कारोबार हुने गरेको उल्लेख छ ।

सन् २०२० को प्रतिवेदनमा स्वदेशमा गोप्य कारोबार गर्न सहज हुने मुलुकको सूचीमा एंगोला दोस्रो स्थानमा रहेको उल्लेख छ । एंगोला पहिलो पटक यस सूचीमा परेको हो । हाल उक्त मुलुकले सान्टोसमाथि छानबिन गरिरहेको छ ।

यसै वर्षको सुरुमा आईसिआईजेको एक टोलीले पश्चिमी वित्तीय फर्म, वकिल, लेखापरीक्षक, सरकारी अधिकारी तथा व्यवस्थापन कम्पनीले सान्टोस र उनका पतिलाई कर अधिकारीबाट सम्पत्ति लुकाउन सहयोग गरेको बताएको थियो ।

आईसिआईजेले भनेको छ- ‘७ लाख १५ हजारभन्दा बढी फाइलका आधारमा हामीले गरेको अनुसन्धानबाट व्यवसायिक रुपमा सेवा प्रदान गर्दै आएका फर्मले शक्तिशाली व्यक्तिलाई बिना केरकार सेवा प्रदान गरिरहेको देखाउँछ र अन्तर्राष्ट्रिय नियमन प्रणाली धराशायी बन्दा व्यवसायिक फर्मलाई यस्तो काम गर्न बाटो खुलेको हो ।’

‘लुआन्डा लिक्सले गोप्य कारोबारका कारण गरिब मुलुकबाट धनी मुलुकतर्फ पैसा गइरहेको देखाउँछ’, शेएलले भने, ‘अमेरिका जस्ता विश्वका धनी मुलुकले गोप्यतासम्बन्धी कानुनलाई दुरुपयोग गरी हुने आर्थिक अनियमितता रोक्न चाहेमा रोक्न सक्छन् ।’

लुआन्डा लिक्सबाट गोप्यतासम्बन्धी कानुनले गैरकानुनी धन्दालाई ढाकछोप गर्ने बाटो दिएको पनि शेएलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

चन्द्रतर्फ आर्टेमिस–२ उडान

क फ्लोरिडा, चैत २० । NASA को ‘आर्टेमिस–२’ मिसनअन्तर्गत चार अन्तरिक्षयात्री शुक्रबार Kennedy Space Center