January 3, 2020

एकतापछिको दोस्रो नेकपा बैठक: पार्टीलाई थप चलायमान बनाइने

काठमाडौं, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी गरिएको छ । यही पुस २३ बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न थालेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसपछि यता बैठक हुन सकेको छैन । पार्टी एकता भएको झण्डै डेढ वर्षपछि बैठक हुन थालेको हो । बैठक प्रदर्शनीमार्गस्थिति राष्ट्रियसभागृहमा गर्नका लागि बुकिङसमेत भइसकेको उनले जानकारी दिए । बैठक आगामी बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुनेछ । बिहान ११ बजेदेखि ५ बजेसम्म बैठक हुनेछ । पार्टी एकतापछि पहिलो पटक कार्यसूचीसहित बैठक बस्न थालेको हो । केन्द्रीय कमिटीको बैठकको कार्यसूची सचिवालय बैठकले तय गरेको थियो ।

पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला नेकपाको मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक डाकिएको हो । बैठकले सचिवालय बैठक र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्नेछ । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी सञ्चालन गर्ने जिम्मेवारी र सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालय बैठकको निर्णयलाई अनुमोदनसमेत गर्नेछ । बैठकले अनुमोदन गरेपछि गौतम उपाध्यक्ष बन्नेछन् । यसअघि स्थायी कमिटीले अनुमोदन गरिसकेको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । महासचिव विष्णुप्रसाद पौडेलद्वारा सचिवालय बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाका आधारमा अन्तिम रुप दिई केन्द्रीय कमिटी बैठकमा पारित गरिनेछ । संशोधित विधान प्रस्तावनामा पार्टीको नीतिगत कार्यक्रम समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख छ ।

बैठक पार्टीलाई क्रियाशील बनाउनका लागि अभियानमा मुख्यतया केन्द्रित हुनेछ । ‘प्रदेश, जिल्ला र स्थानीय तहलाई चलायमान बनाउनका लागि अभियान आवश्यक रहेको छ’, विष्णु रिजालले भने, ‘अभियानलाई कसरी सञ्चालन गर्ने भन्ने निर्णय बैठकले गर्नेछ ।’ दुई पार्टी मिलेर बनेको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रायः केन्द्रीय सदस्यबीच एकापसमा समेत भेटघाट भएको छैन । सो बैठकले दुई पार्टीका नेतालाई घुलमिल गराउनसमेत सहयोग मिल्ने विश्वास गरिएको छ । बैठकमा केन्द्रीय कमिटीबाहेक विभिन्न आयोगका अध्यक्षसमेतको सहभागिता हुनेछ ।

बैठकले मुख्यतः सचिवालय र स्थायी कमिटीले गरेको निर्णयलाई अनुमोदन गर्ने कार्यतालिका छ । संशोधित विधान केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्र लागू हुन्छ । पाँच दिनसम्म चल्ने बैठकमा केन्द्रीय कमिटी सदस्यको समूह विभाजन गरेर छलफल गरिने केन्द्रीय कार्यालय सचिव रिजालले जानकारी दिए । ‘धेरै केन्द्रीय सदस्य भएकोले सबै बोल्न असम्भव हुन्छ’, उनले भने, ‘समूह समूह बनाएर एजेण्डामाथि छलफलमा गरिएको निष्कर्षलाई बैठकमा प्रस्तुत गरिनेछ ।’

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ । पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ । केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर उल्लेख गरिएको छ । केन्द्रीय सदस्य ठाकुर गैरेले बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन मात्र गराउन नभई पार्टी र सरकारले गरेका कामको समीक्षासमेत हुने भएकाले फलदायी हुने बताए ।

आवश्यक विषयमा पार्टीको दृष्टिकोण तथा नीति तय गर्ने र पार्टीका नीति तथा निर्णय कार्यान्वयन गर्ने र गराउनेसमेत पार्टीको अन्तरिम विधानमा उल्लेख गरिएको छ । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सरकार र पार्टीका अहिले भएका कामको समीक्षा गरी सुधार गर्नमा बैठक केन्द्रित हुनुपर्ने बताए । केन्द्रीय सदस्य सुनिल मानन्धरले केन्द्रीय सदस्यले पहिलो पटक पार्टी सञ्चालनका बारेमा आफ्नो विचार राख्न पाउने बताए । ‘पार्टी एकता भएपछि पार्टीमा धेरै नै उतारचढाव आएको छ’, उनले भने, ‘भारतसँगको सीमा विवाददेखि अमेरिकी सहयोगका कुरा पनि आएका छन् । बैठकले यस विषयमा ठोस निर्णय गर्न सघाउँछ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६