
काठमाडौँ, २५ फागुन (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यबाट सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराभएकी हुन् । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ ।यसअघि सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण २०७४ फागुन २० गते राष्ट्रियसभाका सदस्यको शपथ कार्यक्रममा उनीहरु उपस्थित भएका थिएनन् ।सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले फागुन २३ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश जारी गरेपछि उनीहरुलाई शपथ लिन बाटो खुलेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्तरुपमा ‘असंवैधानिक रुपमा आफूहरूलाई मनोनीत नगरिएको’ भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ रिट निवेदन दायर गरिएको थियो ।
सो रिट दायरपछि फागुन १३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन भएका डा खतिवडा, विडारी र पौडेललाई माननीय सदस्यका हैसियतको शपथ नगर्न/नगराउन संघीय संसद् सचिवालय तथा विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।
तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाको सदस्यमा मनोनयन लागि बस्नेत, पौडेल र जोशीको नाम गत माघ २६ गते सिफारिश गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ती नाम फिर्ता लिएर फागुन ८ गते राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि डा खतिवडा, विडारी र डा पौड्यालको नाम सिफारिश गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरुलाई फागुन ८ गते नै राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको थियो । नेपालको संविधानमा सातै प्रदेशबाट आठ/आठ जनाका दरले निर्वाचित ५६ जना र राष्ट्रपतिबाट मनोनीत तीन जना गरी कूल ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने प्रावधान छ ।
राष्ट्रियसभा सदस्यको शपथ लिए पनि डा खतिवडा, विडारी र डा पौड्यालले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न पाउनुहुने छैन । राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ ।निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले फागुन २२ गते मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गरिसकेको छ । उक्त सूचीमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन् ।सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन । तसर्थ आज शपथ लिएका राष्ट्रियसभाका तीन सदस्यले यथाअवस्थामा मतदान गर्न नपाउने आयोगले जनाएको छ ।
तर सो सम्बन्धमा संघीय संसद् सचिवालयले लिखित जानकारी गराएको खण्डमा आयोग पदाधिकारी बैठकले बाधा अड्काउ फुकाउ सम्बन्धी केही निर्णय गर्नसक्ने अधिकार रहेको आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिए ।
भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना