December 18, 2017

विद्युतीय भुक्तानीमा उल्टो बाटो हिड्दै राष्ट्र बैंक

-कमल नेपाल

 

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली कसिलो बनाउने तयारी गरेको छ। डेविट तथा क्रेडिट कार्डबाट हुने कारोबारमा नयाँ व्यवस्था गर्न उसले बैंक तथा वित्तीय संस्थाहरूसँग सुझाव मागेको छ।हाल डेविट कार्डबाट एकपटकमा ३५ हजार रुपैयाँसम्म नगद झिक्न पाइने व्यवस्था छ। अब घटाएर २५ हजार कायम गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ। यसअनुसार अब बैंकहरूले एक पटकमा २५ हजारको सीमाभित्रै रकम झिक्न मिल्ने व्यवस्था गर्नुपर्ने छ।हाल नबिललगायत केही बैंकका डेविट कार्डबाट एकपटकमा ३५ हजार रूपैयाँसम्म निकाल्न मिल्छ। यो नै विद्यमान उच्चतम सीमा हो।अहिले केही बैंकमा एक लाख रूपैयाँ सीमाभित्र रही दस पटकसम्म झिक्न मिल्ने व्यवस्था छ। त्यो पनि परिमार्जन हुँदैछ। राष्ट्र बैंकका अनुसार अब दैनिक रूपमा अधिकतम चारपटक मात्र रकम झिक्न मिल्ने व्यवस्था गरिनेछ। एक दिनमा झिक्न पाउने उच्चतम रकम भने एक लाख रूपैयाँ नै रहनेछ।

एक दिनमा झिक्न मिल्ने उच्चतम रकम पुरानै भए पनि यो नयाँ व्यवस्थाले सेवाग्राही मारमा पर्ने बैंकर्स बताउँछन्। एक लाख रूपैयाँ निकाल्न परे ग्राहकले चारपटक एटिएम प्रयोग गर्नुपर्ने हुँदा झन्झटिलो हुने उनीहरूको भनाइ छ।अर्कोतर्फ क्रेडिट कार्डबाट हुने कारोबारमा पनि सीमांकन गर्ने तयारी छ। जम्मा गरिएको रकमको २० प्रतिशतभन्दा बढी एकैपटक झिक्न वा खर्च गर्न नपाउने व्यवस्था गरिन लागेको राष्ट्र बैंकले जनाएको छ।अहिलेको व्यवस्थामा कार्डबाहकले जम्मा भएको रकमबाट एकैपटक ९० प्रतिशतसम्म झिक्न वा खर्च गर्न पाउँछन्। रकम सीमा सकिएमा जम्मा भएको रकमभन्दा बढी झिक्न वा खर्च गर्न नपाइने व्यवस्था गरिने भएको हो।हाल बैंकहरूले विश्वासका आधारमा रकमको सीमाभन्दा निश्चित प्रतिशत बढी सुविधा पनि दिदैं आएका छन्।नगदरहित कारोबार बनाउने नीति लिँदै गरेको राष्ट्र बैंकले त्यसैलाई प्रभाव पर्ने गरी विद्युतीय भुक्तानी प्रणाली कसिलो बनाउँदा बैंकको नीतिमा दुविधा भएको कतिपयको बुझाइ छ।

अहिले यसमा बैंक तथा वित्तीय संस्थाको सुझाव माग भइरहेकाले लागू नै हुने निश्चित भने छैन। सुझाव मागमै केही बैंकर्सले विरोध गरिरहेका छन्।‘एकातर्फ कारोबार नगदरहित बनाउनुपर्छ भन्ने, अर्कोतिर त्यसैको विरुद्ध नयाँ व्यवस्था ल्याउँदै जाने। यो त पूरै दुविधा भयो नि!,’ एक बैंकका सिइओले नाम उल्लेख नगर्ने शर्तमा सेतोपाटीसँग भने, ‘बैंकर्स संघमार्फत हामी यो व्यवस्था कार्यान्वयन गर्न हुँदैन भनेर सुझाव दिनेछौँ।’राष्ट्र बैंकले कार्डमार्फत हुने कारोबारमा जोखिम देखेको हो भने कार्ड नै थप सुरक्षित बनाउनु पर्ने उनी बताउँछन्।‘अझै पनि कतिपय बैंकका कार्डमा इएमभी चिप वा अन्य सुरक्षित विशेषता छैनन्। त्यसका लागि पो पहल गर्नुपर्ने हो,’ उनले भने।

राष्ट्र बैंकले यस सम्बन्धमा सुझाव मात्रै मागेको बताएको छ। बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले विद्युतीय भुक्तानी प्रणाली कसिलो नभएर सहज गर्न खोजिएको टिप्पणी गरे।‘यसमा अहिले सुझाव मात्रै मागिएको हो। सुझाव के आउँछ, त्यहीअनुसार हामी अघि बढ्ने हो,’ उनले भने ‘त्यसपछि मात्रै लागू गर्ने वा नगर्नेबारे निर्णय हुन्छ।’इन्टरनेट तथा मोबाइल बैंकिङ र वालेट भुक्तानीमा पनि सीमा तोकिदैँ इन्टरनेट तथा मोबाइल बैंकिङ भुक्तानीमा पनि बैंकले अधिकतम कारोबार सीमा तोक्ने तयारी गरेको छ। मोबाइल बैंकिङबाट भुक्तानी गर्दा एकपटकमा ५ हजारसम्म र प्रतिदिन १० हजारसम्म गर्न सकिने व्यवस्था बनाइने भएको छ। मासिक रूपमा हुने कारोबार भने ५० हजार रूपैयाँसम्म तोकिने भएको छ।इन्टरनेट बैंकिङबाट दैनिक एक लाखसम्म र मासिक ५ लाख बढी भुक्तानी गर्न नपाइने व्यवस्था गरिने भएको छ। जसअनुसार विदेशबाट आफन्तले पठाएको रेमिट्यान्स पनि एकपटकमा एक लाखसम्म मात्रै भुक्तानी हुनेछ। बाँकी रकम भुक्तानी गर्नुपरेमा बैंक खातामार्फत गर्नुपर्नेछ।

भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमार्फत एकपटकमा ५ हजारसम्म, प्रतिदिन १५ हजारसम्म र मासिक २५ हजार रूपैयाँसम्म मात्रै गर्न पाइने व्यवस्था गरिने भएको छ। वालेट सेवा प्रयोग नयाँ भएकाले यसअघि यसमार्फत हुने भुक्तानी रकममा सीमा तोकिएको थिएन।

copied from setopati

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा