लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद निर्णयलाई सर्वोच्च अदालतले स्वेच्छाचारी ठहर गरेको छ। कार्कीको योग्यतासम्बन्धी मुद्दाको पूर्ण पाठमा सर्वोच्चले तत्कालीन संवैधानिक परिषद् र राजनीतिक संयन्त्रको निर्णयलाई गैरसंवैधानिक ठहर्याएको खबर आजकोकान्तिपुरमा छ ।
प्रधानन्यायाधीशमा बहाल भएकै अवस्थामा अन्तरिम मन्त्रिपरिषदको अध्यक्षता गरेका रेग्मीले २०७० वैशाख २२ मा संवैधानिक परिषदको बैठक डाकेका थिए। रेग्मी नेतृत्वको पहिलो बैठकको निर्णयको पहिलो बुँदामै लोकमानको नियुक्तिको विषय समावेश छ। उक्त निर्णयमा रेग्मीसहित परिषदका तत्कालीन सदस्यहरू कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे, महिला, बालबालिकामन्त्री ऋद्धिबाबा प्रधान र सूचना तथा शिक्षामन्त्री माधव पौडेलले हस्ताक्षर गरेका थिए। संवैधानिक परिषद् बैठक हुनुअघि नै २०६९ चैत ३ मा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसँगै कार्कीको नियुक्तिलाई प्रमुख एजेन्डा बनाइएको थियो।
बैठकमा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका विजयकुमार गच्छदार, एमाओवादीका तत्कालीन नेता बाबुराम भट्टराई, कांग्रेस नेता शेरबहादुर देउवा, तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुर र एमालेका उपाध्यक्ष वामदेव गौतम सहभागी थिए। निर्णयको अन्त्यमा भने दाहाल, कोइराला, खनाल र गच्छदारले मात्र हस्ताक्षर गरेका थिए।
‘विवादित सिफारिस यान्त्रिक र स्वेच्छाचारीपूर्ण देखिएको छ,’ सर्वोच्चको निर्णयको पूर्णपाठमा भनिएको छ, ‘संवैधानिक परिषद्ले वास्तविक अर्थमा आफ्नो बुद्धिमता प्रयोग गरेको पाइएन।’ निर्णयकर्ताले बुद्धिमताको प्रयोग गरेको भन्ने जिकिरको आडमा स्वेच्छाचारी तवरबाट भएको निर्णयले कानुनी वैधता प्राप्त गर्न नसक्ने भन्दै सर्वोच्चले संवैधानिक परिषदको कामकारबाही न्यायिक परीक्षणको विषय हुने निष्कर्ष निकालेको हो।
संवैधानिक पदमा सिफारिस गर्ने निकायले निर्णयको व्यहोरा र निर्णय प्रक्रियाबाट सिफारिसको औचित्य पुष्टि गर्नुपर्ने भन्दै सर्वोच्चले निर्णयको आधार र कारण खुलेको हुनुपर्नेसमेत ठम्याएको छ। तर लोकमानको नियुक्तिको सिफारिसका क्रममा भने केही पक्ष कानुनी र न्यायिक दृष्टिले दोषपूर्ण रहेको सर्वोच्चको ठहर छ। सर्वोच्चले संवैधानिक परिषदको निर्णयलाई विभिन्न सातवटा दृष्टिकोणबाट दोषयुक्त ठहर्याएको छ।
लोकमान नियुक्तिका सन्दर्भमा संवैधानिक परिषदबाट आफ्नो बुद्धिमता प्रयोग नगरी ‘राजनीतिक सहमति’ कार्यान्वयन गरेको ठहर्याउँदै सर्वोच्चले भनेको छ, ‘राजनीतिक सहमति भनी नेपथ्यमा प्राप्त नामको अनुमोदन गरेको देखिएकाले परिषद्ले आफ्नो बुद्धिमताको प्रयोग गरेको ठान्नु तथ्यपरक देखिँदैन।’ नेपालको तत्कालीन अन्तरिम संविधानले समेत संवैधानिक पदाधिकारीको नियुक्तिमा राजनीतिक सहमतिको परिकल्पना गरेको थिएन।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय