७ नम्बर प्रदेशको सम्भावित राजधानी धनगढीः यी हुन् मेयरका प्रमुख दाबेदार

Federalism-Map१७ चैत, धनगढी । ७ नम्बर प्रदेशको एकमात्र उपहानगरपालिका धनगढीमा स्थानीय तहको चुनावले राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढाइसकेको छ । उम्मेदवारका आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागेका छन् भने अर्कोतिर सम्भावित अन्तरघातको त्रासमा छन् ।

टिकटका आकांक्षीहरुले पार्टीभित्र आफ्नो पक्षमा माहौल बनाउन खोजिरहेका छन् । टिकट खोस्न पार्टीभित्रैबाट षड्यन्त्र हुनसक्ने भन्दै खुलेर उम्मेदवार भएको घोषणा समेत गर्न सकिरहेका छैनन । यो समस्या नेपाली कांग्रेस र नेकपा एमालेभित्र बढी छ ।

७ नम्बर प्रदेशको राजनीतिलाई प्रभावित पार्ने धनगढीको नगरप्रमुख र उपप्रमुख बन्न दलभित्रै नेताहरुबीच चर्को दौडधुप र लविङ सुरु भएको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा वर्चस्व कायम गर्न मरिमेटेर लागेका दलहरु निर्वाचनमा हुनसक्ने आफ्नै पार्टीका नेताहरुको आन्तरिक मतभेद र अन्तर्घातबाट सशंकित छन् ।

कांग्रेस र एमाले एक-अर्काका प्रतिस्पर्धी भए पनि ती दलका उम्मेदवार भने आफ्नैभित्र अस्वस्थ प्रतिस्पर्धाको शिकार हुने खतरा पनि त्यत्तिकै छ । धनगढी ७ नम्बर प्रदेशको अघोषित राजधानी हो । यसको मेयर हुने व्यक्ति यस प्रदेशकै प्रभावशाली व्यक्ति हुनेछ । यस कारण पनि सबै पार्टीको ध्यान र ध्येय एउटै छ, जसरी पनि धनगढी कब्जा गर्ने ।

दोस्रो संविधानसभाको चुनावको बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जितेको यो उपमहानगरपालिका रहेको क्षेत्रबाट उपनिर्वाचनमा पनि कांग्रेसकै पुष्करनाथ ओझाले जितेका थिए । त्यसैले कांग्रेसले यसलाई आफ्नो पकडमा राख्न खोज्ने नै भयो ।

०५४ सालको नगर निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवैमा जित हासिल गरेका कारण एमाले पनि कमजोर भने छैन । उपमहानगरपालिका बन्ने क्रममा एमालेको प्रभाव रहेको फूलबारी गाविस समेत थपिएका कारण आन्तरिक अस्वस्थ प्रतिस्पर्धाबाट आक्रान्त कांग्रेसका लागि चुनाव जित्न पहिले जस्तो सजिलो अवस्था भने छैन ।

करिब १ लाख ४७ हजार ७ सय ४१ जनसंख्या रहेको धनगढी उपमहानगरपालिकामा पछिल्लो पटक अत्तरिया नगरपालकाको ९ र ११ नम्बर वडा गाभिएपछि कुल १९ वडा बनाइएको छ । यस क्षेत्रमा माओवादीको पनि प्रभाव छ ।

कांग्रेसमा चार जनाबीच टक्कर

धनगढीमा मेयरका लागि कांग्रेसबाट नगर सभापति नृप वड र महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा प्रमुख प्रत्याशी हुन् । वड जिल्ला सभापति नरनारायण शाह मनु तथा महरा सांसद पुष्करनाथ ओझा निकट मानिन्छन् । दुवैजना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट भए पनि स्थानीयस्तरमा भने फरक-फरक गुटमा छन् ।

पार्टी सभापतिसँग अरुभन्दा नजिक रहेको र विगतमा पनि पार्टी र जनताका पक्षमा राम्रो काम गरेकोले मेयरको टिकट पाउनेमा महरा विश्वस्त छन् । यद्यपि वड पनि आफूलाई पार्टी सभापति देउवाले टिकट दिनेमा ढुक्क छन् ।

मेयरको सम्भावित उम्मेदवारका रुपमा धनगढीका पूर्व मेयर स्वर्गीय किशोर बमकी पत्नी रिता भण्डारी बम र हरिश खड्काको नाम पनि चर्चामा छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सभापति खड्का यसअघि वडा नम्बर १३ बाट निर्वाचत अध्यक्ष थिए ।

उपमेयरमा सम्भावित उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट जीवन राना र सुशीला मिश्र भट्टको नाम बढी चर्चामा छ । यद्यपि जागृति बोगटी, पुष्पा भट्ट पनि आकांक्षी छन् ।

एमालेबाट पूर्व सांसदकै चर्चा

एमालेबाट मेयरका लागि पूर्व सभासद एवम् वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना दाबेदारका रुपमा देखिएका छन् । उनी यसअघि यही नगरपालिकाको उपमेयर समेत रहिसकेका छन् ।

धनगढी उपमहानगरपालिकामा राना थारु समुदायको बाहुल्य रहेकाले पनि उनको दाबेदारी हो ।

त्यस्तै, एमाले पार्टीका जिल्ला सचिव रणबहादुर चन्द, प्रचार प्रसार विभाग सदस्य दुर्गाप्रसाद जोशी, केन्द्रीय सल्लाहकार दीपक देवकोटाको नाम पनि मेयरका रुपमा चर्चामा छ । यसका साथै एमालेका युवा नेता जीवन बमसँगै पुराना नेता नन्दलाल जोशीको नाम पनि चर्चामा छ ।

उपमेयरमा एमालेका तर्फबाट रुक्मणि देवकोटा, कलावती जोशी, मिना विक, सुशीला बुढाथोकी र छाया थापाको नाम चर्चामा छ ।

माओवादीका पाँच दाबेदार

माओवादी केन्द्रबाट मेयरका आकांक्षीहरु पाँच जना देखिएका छन् । केन्द्रीय सदस्य एवम् दुई पटक समानुपातिक उम्मेदवार रहिसकेका रामसमझ राना दाबेदारका रुपमा देखिएका छन् ।

अन्य उम्मेदवारहरुमा पार्टीको नगर अध्यक्ष निर्मल शाह, केन्द्रीय सदस्य राधाकृष्ण अधिकारी, केन्द्रीय सदस्य तिलकबहादुर सिंह, केन्द्रीय सल्लाहकार डिल्लीराज खड्काको नाम चर्चामा रहेको छ ।

माओवादीबाट उपमेयरको सम्भावित उम्मेदवारका रुपमा सीता पन्त, प्रेमकला सुनार, राधा मिश्र, खगेश्वरी जोशीको नाम बाहिर आएको छ ।

राप्रपामा पनि तीन दाबेदार

राप्रपाबाट मेयरका आकांक्षी तीन जनाको नाम चर्चामा रहेको छ । गत संविधानसभाको चुनावमा उम्मेदवार बनेका राजेश भण्डारी आफूलाई दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन् भने नगर अध्यक्ष रोम स्वाँरको नाम पनि चर्चामा छ । त्यस्तै, पूर्व केन्द्रीय सदस्य पुष्कर भट्ट पनि दाबेदारका रुपमा देखिएका छन् ।

राप्रपा नेपालबाट उपमेयरमा जनक कुँवरको दाबेदारी रहेको बताइएको छ । राप्रपा नेपाल कैलालीकी पूर्व अध्यक्ष कुँवर शाही शासनकालमा भएको स्थानीय निकायको निर्वाचनबाट धनगढीको मेयर भएकी थिइन् ।

कुन दलको अवस्था कस्तो ?

धनगढी नगरको चुनावी इतिहास हेर्दा ०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएका गाविसमध्ये फूलबारीमा एमालेको प्रभाव छ भने अन्यमा कांग्रेस बलियो छ । यद्यपि धनगढीमा अन्य दलको तुलनामा कमजोर रहेको राप्रपा नेपालको उर्मामा बलियो उपस्थिति छ ।

धनगढी उपमहानगरपालिकाको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर, माओवादी केन्द्र र राप्रपाले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ । यी दलको मत निर्णायक हुन सक्छ ।

स्वतन्त्र उम्मेदवारका रुपमा हमालको चर्चा

धनगढी उपमहानगरपालिकाको मेयरको सम्भावित उम्मेदवारका रुपमा सुदूरपश्चिमका अभियन्ता र कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल पनि यतिबेला चर्चामा छन् । निडर र कुशल व्यवस्थापक मानिने हमालले जितेमा धनगढीको मुहार फेरिनेमा युवा र खासगरी विकास प्रेमी ठूलो तप्का विश्वास गर्छ ।

उनलाई आफ्नो पार्टीका तर्फबाट चुनाव लड्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राप्रपा नेपालका केन्द्रीय सदस्य राजेश भण्डारीले समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न सक्दैन : विष्णु पौडेल

११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति

नेकपा एमालेले गर्‍यो बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय

१० चैत,काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। नेकपा (एमाले) बागमती

धरानका मेयर हर्क साम्पाङविरुद्ध सात दलको संयुक्त आन्दोलन घोषणा

१०चैत,धरान। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आन्दोलन जारी राखेकै बेला

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

ईन्द्रावती गाउँपालिकाद्धारा इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण

८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्त आतंक बन्द गर्न दुर्गा प्रसाईको चेतावनी

८ चैत,मोरङ । जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्त आतंक बन्द गर्न संघीयता