December 19, 2021

महाधिवेशनमा छुटेका कांग्रेसका ‘शीर्ष’ नेता निर्णय प्रक्रियामा कहाँ भेटिन्छन्?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पदाधिकारीमा पुस्तान्तरण भएको छ। पदाधिकारीका १३ जना सदस्यमध्ये सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक अरू सबै नयाँ अनुहार छन्। उनीहरू पहिलो पटक ती पदमा पुगेका हुन्। धेरैजसो त ६० वर्षमूनिका छन्।  

योसँगै यसअघि कांग्रेसको  निर्णायक भूमिकामा रहेका पुराना नाताहरू ‘पाखा’ लागेका छन्। विभिन्न कारणले उनीहरू पार्टीको शीर्ष तहमा अटाउन सकेनन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन प्रक्रियाभन्दा अलग रहे। आफ्नो टिम एक ढिक्का राख्न नसकेका पौडेल आफू सभापतिको उम्मेदवार भएनन् भने सभापतिमा उठेका प्रकाशमान सिंह र शेखर कोइरालाका पक्षमा पनि खुलेर भोट मानेनन्।

यो महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिको उम्मेदवार भएनन्। आफूसँग रहेका नेता व्यवस्थापनमा उनले समय खर्चिए। उनीनिकट प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्री लिएर सिटौलाले देउवासँग प्यानल बनाएका थिए।

महाधिवेशनबाट पौडेल महामन्त्रीमा पराजित हुँदा चौधरी भने सहमहामन्त्री निर्वाचित भएका छन्। केही केन्द्रीय सदस्यमा सिटौलाले देउवासँग प्यानल नै बनाएर उठाएका छन्, यसको परिणाम आएको छैन।

देउवाले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा साथ दिएका नेताहरू यो महाधिवेशनमा एकै ठाउँ उभिने परिस्थिति बन्यो।

सभापतिमा पहिलो चरणमा देउवाले नजितेपछि उनलाई जिताउन प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङ खुलेरै लागेका थिए। सभापतिमा २७३३ मत ल्याएर देउवा निर्वाचित हुँदा शेखर कोइराला १८५५ मतमा सीमित हुनु परेको थियो।

पहिलो चरणमा देउवा, निधि, सिंह, कोइराला र गुरूङ सभापतिका उम्मेदवार थिए। ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा देउवा पहिलो चरणमै सभापति हुन चुकेका थिए। उनले दोस्रो चरणमा सिंह र निधिलाई साथ लिएपछि गुरूङ पनि देउवालाई सघाउन आइपुगे। कोइराला एक्लै देउवासँग भिडे।

यो महाधिवेशनको प्रक्रियामै सहभागी नभई छेउबाट हेरेका रामचन्द्र र सभापतिमा पराजित सिंह र निधि तथा देउवालाई सुरूमै साथ दिएका सिटौला अब कस्तो भूमिकामा रहन्छन् भन्ने कार्यकर्तामा चासो छ।

देउवानिकट एक नेताका अनुसार शीर्ष नेताहरूलाई साथसाथै लिएर लैजाने ठाउँ छ। पदाधिकारी नभएका नेताहरूलाई केन्द्रीय समितिमा मनोनित गर्न मिल्छ। सभापतिले महाधिवेशन ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन्।

‘कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ’ भन्ने कांग्रेस विधानको धारा २१ को १० मा लेखिएको छ।

शीर्ष नेतालाई केन्द्रीय समितिमा मनोनित गर्ने र कार्यसम्पादन समितिमा जिम्मेवारी दिने देउवाको तयारी छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन कार्यसम्पादन समिति सदस्य हुन्छन्।

सभापतिले केन्द्रीय कार्यसमिति सदस्यमध्येबाट कार्यसम्पादन समितिका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर ३१ जनाको नाम प्रस्ताव गर्ने र बहुमतले पारित गर्ने विधानको व्यवस्था छ। कार्यसम्पादन समिति बैठक कम्तीमा महिनामा एक पटक बस्नुपर्ने हुन्छ।

कार्यसम्पादन समितिले मुख्यगरी तीन काम गर्छ। केन्द्रीय समितिको बैठक बस्न नसक्ने अवस्थामा अपर्झट निर्णय गर्नुपर्दा कार्यसम्पादन समितिले काम गर्छ।कांग्रेसका झन्डै ५० विभागहरूको काम समीक्षा गर्छ। संसदीय दलका विषय समितिका संयोजकसँग छलफल गर्छ। 

केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकका बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ। कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने कांग्रेस विधानको व्यवस्था छ। 

यसअघि कांग्रेसमा कार्यसम्पादन समिति गठन नहुँदा पार्टीभित्र देखिएका विवाद समाधान गर्नु परे सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक गरेर ‘शीर्ष’ नेतालाई निर्णय प्रक्रियामा स्थान दिने गरेका थिए। 

महाधिवेशनबाट पदाधिकारीमा नअटाएका शीर्ष नेता कार्यसम्पादन समितिमा रहने र निर्णय गर्ने भूमिकामा यहाँनेर देखिनेछन्।

केन्द्रीय कार्यसमिति बैठक दुई महिनामा कम्तीमा एक पटक बस्ने व्यवस्था छ। केन्द्रीय समिति बैठक राख्न नसकिने अवस्था र तत्काल कुनै विषयमा पार्टीले निर्णय गर्नुपर्ने अवस्थामा कार्यसम्पादन समितिमा छलफल भई निर्णय गर्न सकिने व्यवस्था छ।

महाधिवेशन प्रक्रियामै भाग नलिएका पौडेल र देउवालाई सभापतिमा समर्थन गरेका सिंह, निधि र गुरूङ केन्द्रीय कार्यसम्पादन समितिमा अटाएर पार्टीको निर्णय गर्ने भूमिकामा देखिन सक्छन्।

साथै निवर्तमान महामन्त्री शशांक कोइराला र निवर्तमान कोषाध्यक्ष सीतादेवी यादव, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित प्रकाशशरण महत, मीनेन्द्र रिजाल, प्रदीप पौडेललगायत नेता पनि कार्यसम्पादन समितिमा रहेर काम गर्ने भूमिकामा देखिन सक्छन्।

देउवानिकट एक नेताकाअनुसार सभापति देउवाले सबैलाई मिलाएर अगाडि बढ्ने तयारी गरेकोले पार्टीमा लामो समयदेखि काम गर्दै आएका शीर्ष सबै नेतालाई केही न केही भूमिका दिने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा