एमाले विवाद निस्कर्ष नजिक 

काठमाडौ।, असार  ५  गते । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निस्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।

एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई घण्टा बढी समय छलफल भएको छ ।

बैठक सहभागी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बैठक नियमित र निरन्तर भएपनि निस्कर्षमा पुग्न बाँकी रहेको बताउनुभयो । “दुवै पक्षका नेताहरुको आफ्नो कुरा राख्ने र मिलनविन्दु खोज्ने प्रयास जारी छ, जति सक्दो छिटो निस्कर्षमा पुग्ने प्रयासमा हामी छौं” उहाँले भन्नुभयो । मिलन विन्दु नभेटिएसम्म बैठक जारी राख्ने कुरामा दुवै पक्षका नेताहरुको एक मत रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले आफू दुई पार्टी ९एमाले र माओवादी केन्द्र० एकताको मितिभन्दा पूर्वअवस्था २०७५ जेठ २ अघिको अवस्थाबाट छलफल गर्न तयार रहेको बताउनु भएपछि सोही अवस्थाबाट पार्टीको छलफल अघि बढाउने तर माओवादी केन्द्र त्याग गरी एमालेमा आएका नेताहरुको सम्बोधनको कार्यनीतिबारे गृहकार्य भइरहेको नेताहरुको भनाई छ ।

त्यस्तै, नेता माधवकुमार नेपालले जेठ २ को अवस्थाबाट अघि बढ्न अध्यक्ष ओली तयार भएमा अन्य विषयमा छलफल गर्न तयार हुने बताउनुभएको थियो । अध्यक्ष ओलीले त्यस अवस्थाबाट छलफल गर्न आफू तयार रहेको तर सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा पेश गरिएको हस्ताक्षर फिर्ताको माग उहाँको छ । नेता नेपाल पक्षले सो हस्ताक्षर फिर्ता लिने उपयुक्त वातावरणको खोजी गरिरहेको र त्यही विषयको निराकरण गर्न दोस्रो पुस्ताका नेताहरु सक्रिय हुनुभएको हो ।

बैठकमा विभिन्न कोण र विकल्पबारे छलफल भएपनि ठोस निस्कर्षमा पुग्न अझै नसकिएको स्थायी कमिटी सदस्य नेम्वाङले बताउनुभयो । पार्टी फुटको पक्षमा दुवै पक्ष नरहेकाले केही न केही विकल्पमा पुग्ने लक्ष्यसाथ छलफल भइरहेको उहाँले बताउनुभयो । बैठक सकारात्मक ढङ्गले अघि बढेकाले निस्कर्ष नजिक आफूहरु रहेको उहाँको भनाई छ ।

छलफलमा सहभागी नेता नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले बैठक निरन्तर चलिरहेको र चाँडै केही न केही निकास निस्कनेमा आफू विश्वस्त रहेको बताउनुभयो । बैठकमा विभिन्न कोणबाट छलफल भएपनि ठोस निस्कर्षको आधार भने अझै फेला नपरेको उहाँले बताउनुभयो । नियमित छलफलबाट सहमतिको उपाय निस्कने उहाँले बताउनुभयो ।

दोस्रो पुस्ताका नेताहरुमा अध्यक्ष ओली पक्षबाट नेम्वाङ, नेताहरु विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल बैठकमा सक्रिय हुनुहुन्छ । त्यस्तै नेता नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीमप्रसाद आचार्य छलफलमा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा