July 22, 2020

नेकपा विवाद : नेताहरू आ–आफ्नै थान्कामा

प्रधानमन्त्री केपी शर्मा ओलीले मदन जयन्तीका अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीभित्रकै नेताहरूको साथ रहेको संकेत गरेपछि नेकपाभित्र खैलाबैला चल्यो ।

असार १५ गते साँझ दाहाल निवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरूको भेला भयो । भेलाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको अभिव्यक्ति पद सुहाउँदो नभएकाले सरकार र पार्टी दुवैको नेतृत्वबाट राजीनामा माग्ने निष्कर्ष निकाल्यो । १६ गतेको बैठकमा अध्यक्ष दाहालले ओलीको राजीनामा एजेन्डाका रूपमा प्रवेश गराए । असन्तुष्ट पक्षका सबै सचिवालय सदस्यहरूले ओलीको राजीनामा मागे । १७ गतेको बैठक पनि प्रधानमन्त्री ओलीले पदबाट निकास दिनुपर्ने विषयमै केन्द्रित रह्यो, दाहाल–नेपाल पक्षका नेताहरू आक्रामक बन्दै गए, ओली पक्षधर रक्षात्मक । त्यसयता स्थायी कमिटी बैठक आठ पटकसम्म स्थगित गरेर शीर्ष नेताहरूले दर्जनौंपटक भेटघाट र छलफल गरे ।

आन्तरिक र सार्वजनिक ठाउँमा हुने बहस र भेटघाटमा दाहाल–नेपालपक्षीय नेताहरू ओलीलाई आजको भोलि नै राजीनामा गराउने गरी प्रस्तुत भए । उता ओली पनि आजको भोलि नै पार्टी फुटाउनेझैं गरी लागिपरे । संसद् अधिवेशन स्थगित गरे । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने ओलीको बारम्बारको धम्की र ओली अब सत्तामा बस्नै नहुने दाहालको अडानकै वरिपरि नेकपा मात्रै होइन, सिंगो मुलुक रिंगियो । नेकपा यो गलफतीमा लागिरहँदा मुलुक कोरोना, लकडाउन, सलह र बाढीपहिरोबाट आक्रान्त छ । तर यति लामो छलफललाई नेकपाले निष्कर्षमा पुर्‍याउन सकेन ।

‘झन्डै साढे २ महिना नै जुन ढंगले बहस आयो, यो प्रीतिकर छैन तर पनि आजको यथार्थ यही नै हो,’ स्थायी कमिटी सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने । बैठक रोकेर शीर्ष र दोस्रो तहका नेताहरूले बारम्बार गरेको संवादको कुरो चुरो पदमै पुगेर अड्कियो । अध्यक्षद्वयबीच भएका अधिकांश वार्ता दाहालले राजीनामा मागेर र ओलीले नदिने भनेरै सकिए । नेताहरू असार १० अघि जुन अवस्थामा थिए, लगभग त्यही मनस्थितिमै पुगे । संकटको यो एक महिना नेकपा र उसले चलाएको सरकार अध्यक्षद्वयको छिनाझपटीमै रुमलियो, बैठकका लागि काठमाडौंमा आएका नेताहरूले टहलिएरै महिना दिन बिताए ।

वरिष्ठ नेता माधवकुमार नेपालको समूहले पार्टीको महाधिवेशनसम्मै अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिने निष्कर्ष निकालेको छ । वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा मंगलबार करिब ४ घण्टा भएको नेपालपक्षीय स्थायी कमिटी सदस्यहरूको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीको विधि र पद्धति स्थापित नहुने भन्दै दाहाललाई नै साथ दिने निचोड निकालेको हो ।

‘माधवजीसँग समय मागेर कोटेश्वर गएका थियौं, अब के गर्ने भनेर लामो मन्थन भयो,’ ती नेताले कान्तिपुरसँग भने, ‘प्रचण्डजीले नै धोका दिनुभयो भने उहाँको कुरा भयो, अहिलेसम्मको अवस्थामा उहाँलाई सहयोग गरेर जाने निष्कर्षमा हामी पुग्यौं ।’ त्यसका लागि महाधिवेशनअघि नै विचार र नेतृत्वको स्पष्टता हुनुपर्ने र विधि–पद्धतिमा तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने निष्कर्ष पनि भेलाले निकालेको उनले जानकारी दिए ।

विधि र पद्धति स्थापना गर्न ओली सरकार र पार्टीमा असफल भइसकेको निष्कर्ष नेपालपक्षीय भेलाले निकालेको छ । ‘उहाँ (ओली) ले नजानेर त्यसो गर्नुभएको होइन, जानी–जानीकन जसरी सरकार चलाइरहनुभएको छ त्यसले राम्रो गर्दैन,’ भेलाको निष्कर्ष सुनाउँदै स्रोतले भन्यो, ‘त्यसलाई ठीक ट्र्याकमा ल्याउने संघर्षमा प्रचण्डजी उभिनुहुन्छ भने साथ दिएर जाने हो, उहाँले नै साथ छोड्नुभयो भने अर्को विकल्प सोचौँला ।’

भेलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने निष्कर्ष पनि निकालेको छ । जनताको बहुदलीय जनवादको कुरा निकालेर प्रधानमन्त्री ओलीले एकता भाँड्न खोजेको निचोड पनि भेलाको छ । ‘जबज छाडेर पार्टी एकता गरेका ओलीले अहिले फेरि जबजकै बखेडा निकाल्नु राम्रो नियत होइन,’ भेलाको निष्कर्ष छ, ‘त्यही विवाद झिकेर पूर्वमाओवादीलाई पार्टीबाट निकाल्ने अवस्था सिर्जना गर्न जबजको कुरा झिकिएको हो ।’ विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा