ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो

oli-1

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ उनले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए ।

ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरूले सोमबारको संस्करणमा विशेष प्राथमिकताका प्रकाशन गरेका थिए । ओलीको अभिव्यक्तिलाई प्राय: सबैजसो मिडियाले सरकार सञ्चालनमा देखिएको कमजोरी र पार्टीभित्रको चर्किँदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रूपमा अथ्र्याएका छन् । त्यसैगरी दिल्लीस्थित नेपाल मामिलाका जानकार तथा कूटनीतिज्ञहरूले पनि ओलीको पछिल्लो अभिव्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयासका रूपमा लिएका छन् । यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप पर धकेलेको समेत उनीहरूको भनाइ छ ।

 

नेपालले सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेत समेट्दै नयाँ राजनीतिक नक्सा प्रकाशन गर्दै संविधानसमेत संशोधन गरेयता दिल्ली र काठमाडौंबीच संवादहीनता छ । नेपालले सीमा विवाद सुल्झाउन भारतले वार्ताका लागि चासो नदेखाएको बताउँदै आएको छ भने भारतले नक्सा प्रकाशनलगायत नेपालको कामप्रति असन्तुष्टि जनाएको छ । यसले दुवै देशबीचको उच्च राजनीतिक र कूटनीतिज्ञ तहमा विश्वासको संकट चुलिन पुगेको छ । यसै पृष्ठभूमिमा प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले दुवै पक्षबीच अविश्वास थप बढाउने अनुमान छ ।

ओलीको उक्त अभिव्यक्तिलाई भारतका धेरैजसो प्रमुख अखबारले सोमबार पहिलो पृष्ठमै स्थान दिएका थिए । प्राय: सबै मिडियाले ओलीले नयाँ नक्साको विषयमा जसरी सबैतिरबाट समर्थन पाएका थिए, त्यसअनुसार पार्टीभित्र भने उनको लोकप्रियता नरहेको दाबी गरेका छन् । नेपाल मामिलाका जानकारहरूलाई उद्धृत गर्दै ओलीको भनाइले सरकारभित्रको आन्तरिक कमजोरीका साथै भारतसँग सम्बन्ध टुटेको दर्शाएको समेत उल्लेख गरेका छन् ।

ओलीको भनाइप्रति नेपालका लागि भारतका पूर्वराजदूतहरूले पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले आफ्नो पार्टीभित्रको विवादलाई सुल्झाउन नसकेर दुई/दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिबाट यस किसिमको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले ट्वीटरमा प्रतिक्रिया जनाउने क्रममा ओलीको आरोप नयाँ नभएको जनाएका छन् । ‘यो उही पुरानै गीत हो । कहिलेसम्म ओलीले यो गीत बजाइरहन्छन् ?’ सुदले लेखेका छन् ।

नेपालका लागि भारतका अर्का पूर्वराजदूतले प्रधानमन्त्री ओलीले पार्टीभित्रका विपक्षीलाई तह लगाउन यो आरोप लगाएको बताएका छन् । ‘भोलि सरकार ढल्ने स्थिति भयो भने आफ्ना विरोधीलाई भारतको समर्थक भनेर आरोप लगाउन पाइयोस् भनेर उनले त्यस्तो भनेका हुन्,’ नाम उल्लेख गर्न नचाहेका ती पूर्वराजदूतले भने । उनले सरकार ढाल्न कस–कसले मिटिङ गरिरहेका छन् भन्ने प्रधानमन्त्रीलाई थाहा नहुने कुरै नभएको भन्दै यस्ता अभिव्यक्तिले उनकै सार्वजनिक गरिमामा असर पर्ने बताए । ‘उहाँमा शासन गर्नका लागि चाहिने केही योजनाको अभाव भएजस्तो छ, नत्र दुई/दुई पटक प्रधानमन्त्री भइसकेको मान्छेको आफ्नै गरिमा र छवि हुन्छ, त्यस्तो व्यक्तिबाट यस किसिमको अभिव्यक्ति अपेक्षा गरिँदैन, यो दुर्भाग्यपूर्ण हो,’ उनको भनाइ छ ।

भारत सरकारअन्तर्गतको थिंक ट्यांक एमपी–आईडीएसएका रिसर्च फेलो निहार नायकले ओलीको पछिल्लो आरोपलाई भारतले पुरानै रटानको निरन्तरताका रूपमा बुझेको दाबी गरे । ‘जति बिग्रनुपर्ने थियो पहिल्यै बिग्रिसकेको छ, भारतले सीमाका विषयमा तत्काल वार्ता गर्ने कुनै सम्भावना छैन, अहिले दिल्लीले प्रधानमन्त्री ओलीको अभिव्यक्तितर्फ ध्यान दिनुपर्ने आवश्यकता नै छैन,’ उनले भने । सीमाबाहेकका अन्य पक्षमा भने नेपालसँग छलफल र संवादका लागि सधैं तयार रहने पनि नायकले बताए । ‘दुई देशबीचको जुन सम्बन्ध रहँदै आएको छ त्यसमा सीमाको विषयले असर पर्नु हुँदैन भन्नेमा दिल्ली सचेत छ,’ उनले भने, ‘त्यसैले अन्य क्षेत्रको सहकार्य भने जारी रहनेछ ।’

ओलीले भारतलाई लक्ष्य गर्दै दिएको अभिव्यक्तिप्रति नेपालको राजनीतिक र कूटनीतिज्ञ वृत्तबाट समेत पनि आलोचना गरिएको छ । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले ओलीको अभिव्यक्ति कूटनीतिक हिसाबले हदैसम्मको अदूरदर्शी र अपरिपक्व भएको बताए । ‘यो हीनताबोध र लघुताभासको परिणाम हो । कूटनीतिक हिसाबले त प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति कल्पना पनि गर्न सकिँदैन,’ उनले भने । ओलीको भनाइले सरकार बनाउने र गिराउने त विदेशीको हातमा हुँदो रहेछ भन्ने पनि अत्यन्तै निराशाजनक सन्देश प्रवाह गरेको उपाध्यायले जिकिर गरे । पार्टीभित्र अप्ठ्यारोमा पर्दै गएपछि आफू जोगिन सिधै छिमेकीलाई आरोप लगाउनु गम्भीर विषय भएको उनको भनाइ छ । कान्तिपुर दैनिकमा सुरेशराज न्याैपानेले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी