कोरोना महामारीको २ /४ दिनको स्थिति हेरेर एसईई परीक्षा तालिका बारे निर्णय गरिने

चैत २,काठमाडौं: सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरी आवश्यक तयारी गरेको भन्दै भयभित र आतंकित नहुन सबैलाई अपिल गरेको छ।

राष्ट्रियसभाको आइतबारको बैठकमा कोरोना संक्रमणको जोखिमबाट मुलुकलाई बचाउनका लागि सरकारबाट भइरहेका प्रयास बारे जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भयभीत र आतंकित नबन्न सबैलाई आग्रह गरेका हुन्।

अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट एक जना पनि संक्रमित भएको नपाइएको जानकारी गराउँदै उनले संक्रमणलाई प्रवेश नै नदिने ढंगले सरकारले तयारी गरिरहेको दाबी गरे।

मन्त्री ढकालका अनुसार अहिले सम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरीएको र सबै रिपोर्ट नेगेटिभ आएका छन्। २०२० जनवरी ९ तारिकमा नेपाल आएका विद्यार्थीले १३ तारिकमा परीक्षण गराउँदा पोजेटिभ देखिएपनि १० दिन हस्पिटल बसाइपछि पुन परीक्षणमा नेगेटिभ देखिएको थियो।

उनले कोरोना संक्रमणलाई मुलुकमा प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइएको र एक अर्कामा हात मिलाउने, गला मिलाउने भन्दा पनि निश्चित दूरीबाट नमस्कार गर्ने, साबुन पानीले हात धुने लगायतका काम गर्न सर्वसाधरणलाई अपिल गरिएको बताए।

संभावित जोखिमलाई मध्यनजर गरी सरकारले उपत्यकाभित्र र बाहिर गरी २ सय ३५ वटा आइसीयु वेड थप्ने तयारी गरेको उनले स्पष्ट पारे। हाल काठमाडौंमा १ सय ७० वेडको आइसियु सञ्चालनमा छन्।

उपत्यका भित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आइसीयुको व्यवस्था तत्काल गर्ने काममा भइरहेको उनले बताए। त्यसैगरी १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरेपनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रित भइ तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरी आवश्यक व्यवस्था मिलाउने गरी आअवश्यक औषधि र औजारहरुको जोहो गर्ने तयारीमा सरकार लागेको जनाए।

उनले सिडिओ र स्वास्थ्य कर्मीलाई जोखिमपुर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन गरिएको र अस्पतालमा काम गर्ने जनशक्ति र त्यससँग सम्बन्धीत व्यक्तिको जोखिमबाट उत्पन्न सबै खालका भय आतंकलाई हटाउनका लागि सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाएको बताए।

चीन बाहेकका मुलुकमा कोरोना संक्रमण फैलिदै जाँदा नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आवश्यक सावधानी र सर्तकता अपनाउनका लागि सरकारले स्थलनाकामा स्वास्थ्यविन्दु स्थापना गर्नुको साथै हवाई नाका हुँदै आउने तेश्रो मुलुकका नागरिक र नेपाली नागरिकले १४ दिन क्वारेन्टायनमा बस्न भनिएको जनाए।

विदेशबाट अत्यावश्यक नेपाल आउनुपर्यो भने एकसाताको खकार जाँचको रिपोर्ट हेरेर कोरोना संक्रमण नभएको प्रमाणित भएपछि मात्रै नेपाल प्रवेश गर्न दिने, विदेशी नागरिकको हकमा आफैं क्वारेनटाइनमा बस्नुपर्ने र नेपालीहरुको हकमा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे।

उनले भने, ‘प्रत्येक दिन ज्वरो नाप्ने। त्यसका मुख्य गरी ३ वटा इण्डिकेटर छन्। सुख्खा खोकी हुने, ज्वरो आउने भयो भने हामी अस्पतालमा चेक गर्छौं। चेक गर्दा त्यसको रिपोर्ट पोजेटिभ भयो भने राज्यले सम्पूर्ण उपचारको जिम्मा लिन्छ। यदि त्यो भएन नेगेटिभ रिजल्ट आयो भने १४ दिन सम्म होम क्वारेन्टाइनमा बसेर सबैले राष्टको अप्ठ्यारोमा सहयोग गर्ने विश्वासका साथ यो नीतिलाई अगाडि बढाएका छौं।’

समाजका विभिन्न निकायका स्वयंम सेवकहरुलाई समेत संगठीत गरेर कोरोना संक्रमण हुन नदिने ढंगले सरकारले काम गर्ने उनले जनाए। सरकारका कतिपय आन्तरिक तयारी बाहिर नआएकाले समाजमा भय, त्रास फैलने किसिमको वातावरण पनि भएको भन्दै उनले सरकारले आवश्यक तयारी र व्यवस्थापन गरिरहेकाले भयभित नहुन आग्रह गरे।

कुटनीतिक सम्बन्ध भन्दा बाहेकका भिषाहरु बैशाख १८ गते सम्मका लागि स्थगित गरिएको, अन्तर्राष्ट्रिय क्षेत्रमा पढ्न जाने पुराना विद्यार्थीलाई रोक नलगाईएपनि नयाँ र श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए।

उनले हाल नेपालका १ सय २९ नाका मध्ये ४३ वटा नाकामा स्वास्थ्यविन्दु स्थापना गरिएको, छिमेकी राष्ट्रसँग जोडिएका १ सय २८ वटा स्थानीय तहलाई २१ बुँदे निर्देशन जारी गरि आवश्यक सावधानी अपनाउन भनिएको बताए।

कक्षा १ देखि ९ सम्म अध्ययनरत झण्डै ५० लाख विद्यार्थीको चैत ५ गते भित्र परीक्षा सकिने र त्यसपछि स्वतः १ महिना स्कुल बन्द रहने भएकाले कोरोना महामारीको २ /४ दिनको स्थिति हेरेर एसईई परीक्षा तालिका बारे निर्णय गरिने उनले जनाए।

अन्तर्राष्ट्रिय फोरमहरुमा भाग नलिने, स्वदेशमै पनि कार्यक्रम नगर्ने तथा अतिआवश्यक बाहेक भोजभतेर नगर्न आमसमुदायलाई आह्वान गरिएको बताए।

उनले फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा अधिकार सम्पन्न कोरोना रोग रोकथाम समन्वय समिति गठन गरको र यसले रोगसंग सम्बन्धीत सम्पूर्ण काम गर्ने व्यवस्था गरिएको दोहोर्याए।

उनले एकीकृत योजना बनाउनका लागि समन्वय समितिले आइतबार ७ वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री सहितको बैठकको आयोजना गरेको जानकारी दिए। सूचना एकिकृत ढंगले सम्प्रेषणको व्यवस्था मिलाइएको, मुख्य सचिवको नेतृत्वको टिमको दैनिक बैठक बस्ने र नेपाल सँगै विश्वभरको कोरोना संक्रमणको अवस्था समेटेर बुटेलिन निकाल्ने काम भइरहेको उनले जनाए।

मन्त्री ढकालले उमेर समूह अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको अनुपात पनि जानकारी गराए। कोरोना संक्रमण भएका मध्ये ९२ प्रतिशत सामान्य र ८ प्रतिशत विरामी जोखिम अवस्थामा रहेको देखिएको उनले उल्लेख गरे।

मन्त्री ढकालका अनुसार, ८० बर्ष भन्दा माथिका व्यक्तिको मृत्यु दर १४ दशमलब ८ प्रतिशत, ७० देखि ७९ उमेर समुहमा मृत्यु दर ८ प्रतिशत , ६० देखि ६९ उमेर समुहकामा ३ दशमलब ६ प्रतिशत, ५० देखि ५९ सम्म १ दशमलब ३ प्रतिशत,४० देखि ४९ सम्म शुन्य दशमलब ४ प्रतिशत, १० देखि ३९ उमेर समुहमा शुन्य दशमलब २ प्रतिशत मृत्युको अनुपात रहेको तथा जन्म देखि ९ बर्ष उमेर समुहमा यो संक्रमण अपवादका रुपमा देखिएको छ।

पछिल्लो तथ्यांक अनुसार, चीनमा २०१९ को डिसेम्बर ३१ मा देखिएको कोरोना भाइरस अहिले सम्म १ सय ५२ वटा मुलुकमा देखा परेको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेको दृष्टिले ४६ वटा मुलुक प्रभावित छन्।

अहिले सम्म कोरोना भाईरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ३९ जनाको मृत्यु भएको छ। १ लाख ५६ हजार व्यक्तिमा संक्रमण भएको, ७५ हजार ९ सय ३७ जना उपचार पछि घर फर्किएको तथा ७४ हजार ९ सय ९० जना अहिले पनि संक्रमित अवस्थामा नै रहेका छन्।

कोरोना संक्रमणबाट इरानका ५५ वर्षीय सांसद पोतेमेयर रबाकको मृत्यु भएको छ। क्यानडाका प्रधानमन्त्रीको श्रीमती, अस्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री , इरानको उपराष्ट्रपति र स्वास्थ्यराज्यमन्त्रीमा कोरोना संक्रमण देखिएको छ भने मंगोलियका राष्ट्रपति चीन भ्रमण पछि १४ दिन सम्म होम क्वारेन्टाइनमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।