February 5, 2020

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

माघ २२, काठमाडौं । क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज बुधबारदेखि त्रिवि क्रिकेट मैदानमा शुरु भएको छ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक हो ।  

नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ । नेपालले कीर्तिपुरमा ओमानसँग खेल्दै उक्त सिरिजको शुरुआत गरेको छ  र यसैबाट सन् २०२३ मा हुने विश्वकपको यात्रा नेपालले थालनी गर्दैछ । क्रिकेट खेलाडी, प्रशिक्षक, क्यान पदाधिकारीसँगै आम नेपाली क्रिकेटप्रेमी यो सिरिजबाट निकै उत्साहित छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)बाट निलम्बन फुकुवा भएपछि पहिलोपटक सिरिज आयोजना गर्न पाएकामा क्यान अध्यक्ष चतुरबहादुर चन्द मङ्गलबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा निकै हर्षित देखिएका थिए । “निलम्नबनबाट फुकुवा भएको छोटो समयमा हामीले सिरिज आयोजना गर्दैछौँ, सबै कुरालाई बिर्सेर विश्वकपको यात्रालाई अघि बढाउँदै छौँ”, उनले भने ।  

ओमान सन् २०१२ पछि नेपाल खेल्न आएको छ । सन् २०१३ यता नेपालले उसलाई हराउन सकेको छैन । घरेलु मैदानको फाइदा लिँदै ओमानलाई हराउने दाउमा नेपाल रहेको छ । नेपालले शनिबार अर्को टोली अमेरिकासँग खेल्दैछ । अमेरिका सन् २०१० पछि नेपाल आएको हो । ओमानका कप्तान जिसन मक्सुद र अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले नेपाली दर्शकलाई सिरिजमा आफ्नो टोलीको बाधकका रूपमा लिएका छन् । “नेपाली दर्शकले हामीलाई दबाबमा राख्नेछन्”, पत्रकार सम्मेलनमा दुवै कप्तानले एउटै स्वरमा भने ।  

नेपालले २०७४ चैत १ गते एकदिवसीय मान्यता पाएको हो । विश्वकपको रोडम्यापको रूपमा रहेको डिभिजन दुईमा हालसम्म अमेरिकाले आठ खेल तथा ओमानले छ खेल खेलिसकेको छ ।  नेपालले घरेलु मैदानबाट आफ्नो यात्रा शुरु गरेको छ ।तीनवटै टोलीले यो सिरिजमा चार÷चार खेल खेल्नेछन् । माघ २९ गतेसम्म चल्ने सो सिरिजअन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते, तेस्रो खेल ओमानसँग माघ २६ गते तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्नेछ ।  

यस सिरिजमा ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म अमेरिका अङ्क तालिकाको  शीर्षस्थानमा छ । आठ खेल खेलेको उसले छ खेलमा जीत निकाल्दै १२ अङ्क बटुलेको छ ।  स्कटल्यान्ड नौ अङ्क जोड्दै दोस्रो स्थानमा, आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा, आठ अङ्कै जोडेको ओमान चौथो स्थानमा, सात अङ्क जोडेको युएई पाँचाँै तथा अङ्कविहीन अवस्थमा रहेको पपुवान्यूगिनी छैठौं स्थानमा छ ।  

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहेका छन् । ब्याटिङका लागि नेपाली टोली पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरीमाथि निर्भर रहनेछ । नेपाली टोली मुख्य बलर शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामीबिना मैदानमा उत्रनेछ । यस्तो अवस्थामा लेग स्पिनर सन्दीप लामिछानेमाथि टोली केन्द्रित हुनेछ ।  

ललितनारायण राजवंशी र सुसन भारी पनि भरोसायोग्य बलर हुन् । उनीहरूलाई पारस खड्का, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर र कुशल मल्लको साथ रहनेछ । सन् २०१७ पछि नेपालले पहिलोपटक घरेलु मैदानमा ५० ओभरको खेल खेल्दै छ । यसअघि नेपालले सन् २०१६ र २०१७ मा कीर्तिपुरमा केन्या र नामिबियासित विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलेको थियो ।  

आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । लिग दुईमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवान्यूगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।  

लिगमा हालसम्म अमेरिका, स्कटल्यान्ड र पपुवान्यूगिनीले आठ÷आठ खेल खेलिसकेका छन् । नामिविया र युएईले सात÷सात खेल तथा ओमानले छ खेल खेलिसकेको छ । नेपालले पहिलो सिरिज खेल्दैछ । लिगको शीर्ष तीन टोलीले सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।  

पटवालको राजीनामाले दुखाएको मन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले प्रतियोगिताको मुखैमा आएर राजीनामा दिएका छन् । उनको राजीनामाले क्रिकेट खेलाडी, क्यान पदाधिकारी मात्र नभएर क्रिकेटप्रेमीको मन दुखाएको छ । पटवालको राजीनामा खेलाडीको मनोबल घटाउने उद्देश्यले आएको क्रिकेट प्रशंसकको बुझाइ छ ।  

पोखरा बन्द प्रशिक्षणकै क्रममा पटवालले राजीनामा दिने बताउँदै आए पनि क्यान पदाधिकारी सो कुरा सिरिजअघि सार्वजनिक नहोस् भन्ने चाहन्थे । “राजीनामा दिए पनि सिरिजअघि सार्वजनिक नभइदिएको भए हुन्थ्यो हाम्रो चाहना थियो, एक्कासि सार्वजनिक भयो, यसले सबैको ध्यान अन्यत्र मोड्यो”, खेल पत्रकारले खचाखच भरिएको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चन्दले भने, “राजीनामाले नेपालको खेल प्रदर्शनमा असर पर्दैन ।”

क्यान महासचिव प्याकुरेलले पटवालको राजीनामाबारे आइसीसी र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने बताए। “क्यान निलम्बन हुँदा आइसीसीले प्रशिक्षक नियुक्त गरेका हो, यसबारे आइसीसी र राखेपले बोल्नुपर्छ ।” क्यान निलम्बनका बेला पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो । उनले चार महिनाअघि नै राजीनामा दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन