फोरम र नयाँ शक्ति एकीकृत भएर बन्यो समाजवादी पार्टी, ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर

बैशाख २३,काठमाडौं : डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएको छ। काठमाडौंको प्रज्ञाभवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । 

59904797_599965830513113_2847136062491328512_n2019-05-06

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

यादवले संविधान संशोधनसहितका माग पूरा गर्न सरकारमा गएको बताउँदै आएका छन् । अब पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् ।

यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर, नेतृत्वमा सहमति नहुँदा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिएको थियो ।

सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल
सहमतिका मुख्य आधारहरु

सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरणका सन्दर्भमा निम्न सहमति भएको छ :-

१. नेपालको राजनीतिक क्षितिजमा सङ्घीयता र समाजवादको सिद्धान्तमा स्थापित सङ्घीय समाजवादी फोरम, नेपाल र संविधान घोषणापश्चात् प्रगतिशील लोकतान्त्रिक शक्तिको रूपमा स्थापित नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण गरी समाजवादी पार्टी, नेपाल स्थापना गरिएको छ । यस अवसरमा हामी नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यसक्रममा बेपत्ता, घाइते, काराबास तथा शहीद परिवारलगायतका योगदान सबैप्रति उच्च सम्मान प्रकट गर्दछौं ।

२. समाजवादी पार्टी, नेपालको राजनीतिक कार्यदिशा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्नु हुनेछ । यसका लागि जनसङ्घर्ष र संविधान संशोधनमार्फत् देशको प्रगतिशील रूपान्तरण, दीगो विकास र समतामूलक समृद्धिको बाटोमा अगाडी बढ्ने छ । हाम्रो  लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध, सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापित गर्नु हुनेछ ।

३. सङ्घीय समाजवादी फोरम, नेपालले अवलम्बन गरिआएको सङ्घीय समाजवाद र नयाँ शक्ति पार्टी, नेपालले अवलम्बन गर्दै आएको सम्मुनत समाजवादको आधारमा सम्मुनत सङ्घीय समाजवादको सिद्धान्त अगाडि सारेका छौँ । विश्वमा सङ्घीयता र समाजवादका विभिन्न प्रारूपहरू छन् । यसलाई नेपाली समाजको विशिष्ट स्थिति, जनताको चेतना र विचारधारात्मक तथा सांस्कृतिक स्तरको उन्नयनसँगै सम्मुनत गर्दै लगिने भएकाले सम्मुन्नत सङ्घीय समाजवाद भनिएको छ ।

४. उपर्युक्त सैद्धान्तिक– वैचारिक मान्यताको आधारमा यसले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुल्ला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका साश्वत मूल्य र मान्यताहरू सबै आत्मसात गर्नेछ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाइनेछ । 
त्यसको अलावा यस कार्यक्रमका मौलिक विशेषताहरू निम्नानुसार हुनेछन् – १. राष्ट्रिय स्वाधीनता, २. सङ्घीय शासन, ३. समाजवादी व्यवस्था, ४. सहभागितामूलक समावेशी लोकतन्त्र, 

५. राष्ट्रिय पहिचान, ६. सामाजिक न्याय, ७. समतामूलक समृद्वि, ८. लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षा, ९. सुशासन र सदाचार, १०. समानुपातिक समावेशीकरण, ११. स्वशासन तथा स्वायत्तता, १२. सांस्कृतिक बहुलता, १३. समानुपातिक निर्वाचन प्रणाली,  १४. पर्यावरणीय सन्तुलन र १५. बहुलतायुक्त समाज र राष्ट्रिय एकता ।

५. हामी नेपाललाई साँचो अर्थमा सङ्घीय राज्य बनाउन प्रतिबद्ध छौं । यसकानिम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १०+१ प्रदेशहरुको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।

६. नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेशी, आदीवासी, जनजाती, शिल्पी÷दलित, खस, मुस्लिम, थारु, महिलालगायतको राष्ट्रिय सवालहरु सम्बोधन गर्न पार्टी प्रतिवद्ध छ । नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गिय असमानता र विभेद अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय र सामाजिक सुरक्षासहितको समाज व्यवस्था निर्माण गरिनेछ ।  

७. नेपालमा विद्यमान पिछडिएको उत्पादन सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिनेछ । समतामुलक समृद्धि, समन्यायिक वितरण, दिगो विकास र मानवीय खुसी समृद्धिका आयाम हुनेछन् । देशमा विद्यमान चरम भ्रष्टाचार, आर्थिक अनियमितता, अपारदर्शिता र लुटतन्त्रको समूल अन्त्य गर्दै सुशासनयुक्त राज्य व्यवस्था स्थापना गरिनेछ । कर्मचारी तन्त्रको पुनर्गठन र सम्बद्ध संवैधानिक निकायहरुको सवलीकरण गरिनेछ ।

८. सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल आजकै मितिदेखि विघटन गरी समाजवादी पार्टी, नेपाल घोषणा गरेका छौँ । यसलाई दल दर्ता सम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा दर्ता गरिनेछ । 

९.यो एकीकरणबाट नेपालमा नयाँ वैकल्पीक राजनीतिक शक्तिको उदय भएको छ । सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुवीकरण अत्यावश्यक छ । अतः नयाँ राजनीतिक शक्ति निर्माणको यस महान् अभियानमा सामेल हुन सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादी शक्ति, समूह, व्यक्ति–व्यक्तित्वहरुमा हार्दिक आव्हान गर्दछौं ।

…. …… …                                
उपेन्द्र यादव 
अध्यक्ष, सङ्घीय समाजवादी फोरम, नेपाल  

                    
… ….. ……. …..  
डा. बाबुराम भट्टराई
संयोजक, नयाँ शक्ति पार्टी, नेपाल
मितिः २०७६/०१/२३ (सन् २०१९ मे ६)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न