बाढी पहिरोमा परी ३६ जनाको मृत्यु : कुन जिल्लाको अवस्था के छ?

काठमाडौं, साउन २९, Routhat-4

निरन्तर वर्षसँगै आएको  बाढी र पहिरोको कारण देशभरको जनजीवन कष्टकरण भएको छ। सरकारी तथ्याङ्क अनुसार आइतबार बिहान विभिन्न ठाउँमा गरी ३६ जनाको ज्यान गएको छ। यस्तै करिब एक दर्जन हराइरहेका छन्। नदी तथा खहरे खोलामा आएको बाढी गाउँ पस्दा पूर्वका झापा, मोरङ सुनसरी, सिरहा र सप्तरीका र कपिलबस्तुमा धेरै क्षेत्र डुबानमा परेका छन्। यस्तै पश्चिमका बाँके, बर्दिया, दाङसहितका जिल्लामा पनि बाढीले जनजीवन प्रभावित भएको छ।

शनिबार साझसम्म, मुलुकका ११ जिल्लाहरु (पाँचथर–४, सिन्धुली–४, झापा–४, मोरङ्ग–५, सुनसरी–८, सर्लाही–२, बारा–२, दाङ्ग–१, बाँके –४, मकवानपुर–१, पाल्पा–१) गरी जम्मा ३६ जनाको मृत्यु, ४ जना वेपत्ता, र केही मानिसहरु घाइते भएका छन्।

नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटाइएका छन्।

भारतीय समकक्षीहरुसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोसी ब्यारेजका थप ढोकाहरु खुलाउन अनुरोध गरिएको छ ।  खोज तथा उद्दारका लागि हेलीकप्टर, मोटर बोट, र्याफ्टिींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ। सुर्खेतमा रहेको नेपाली सेनाको हेली मार्फत बाँकेका डुबानग्रस्त क्षेत्रहरु नरैनापुर, होलिया, फत्तेहपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानहरुबाट करिब २०० भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा लगिएको छ।

झापाको मदरगाछी, कपन कवास, साल्पारा, सौरघुटु, सुनसरीको बुढीखोला क्षेत्र, सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बागमती क्षेत्र, रौतहटको बागमती र लालबकैया क्षेत्र लगायत अन्य प्रभावित स्थानहरुबाट र्याफ्टिङ्ग बोट लगायतका साधनहरु प्रयोग गरी उद्दार कार्य भैरहेको छ ।

तत्काल राहतका लागि अधिकाशं जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट आवश्यक खाद्यान्नहरु चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल,नुन, तेल स्थानीय स्तरबाट खरिद गरी वितरण गरिएको छ । नेपाल खाद्य संस्थानका विभिन्न डिपोहरुबाट प्रभावित परिवारहरुलाई खाद्य सामाग्री वितरण गर्न प्याकेजिंग कार्य भइरहेको छ भने नेपाली सेनाको सबै हेलीहरु स्टेन्डबाई राखिएको छ।

मौसमको प्रतिकुलताले प्रभावित क्षेत्रमा हेली उडान हुन सकिरहेको छैन । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध भएका राजमार्ग लगायत सडक पुलहरु सूचारु गराउन र संरक्षण गर्ने कार्य गरिरहेको छ ।

तराईका धेरै भूभागमा डुबानको खतरा अझै रहेको भन्दै बाढी पूर्वानुमान शाखाले नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।

अहिले पनि अधिकांश ठाउँमा पानी परिरहेकाले पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर र धनकुटा, मध्य क्षेत्रको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही र कपिलवस्तु तथा पश्चिमको कञ्चनपुर, कैलाली र बर्दियाका नदीमा पानीको सतहले खतराको तह पार गर्नसक्ने भएकाले सुरक्षित भएर बस्न शाखाले आग्रह गरेको हो ।

शाखाका अनुसार मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढी खोला, बागमती, पूर्वी राप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा, मछेली, मोहना, बबई लगायतका नदीमा शनिबार बेलुकासम्म नै उच्च जोखिम छ।

हेर्नुहोस् कहाँ कस्तो क्षति पुग्यो

झापा

दुई दिनदेखि परेको लगातार वर्षाका कारण झापामा ४ जनाको ज्यान गइसकेको छ भने ११ जना बेपत्ता भएका छन्।

मृत्यु हुनेमा झापा झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनी, कमला दर्लामी, यस्तै झापा जिलझिलेका विवेक पाण्डे, चनाकवलका राम राजबंशीको चार जनाको परिवार छन्।

यस्तै झापा गापाकै  कमला गोश्वामी, कालीप्रसाद राजबंशीका४ जनाको परिवार घरसहित बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार घोरासैनीको माइखोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो भने पाण्डेको झिलझिले खोलाले बगाएर मृत्यु भएको हो। माइखोलाले बगाएर घोरासैनीकी १५ वर्षीया छोरी कमला भने बेपत्ता छिन् ।

विगत केही दिनदेखिको अविरल बर्षाका कारण झापाका  सयौं घर डुबानमा परेका छन्। अहिलेसम्म २२४९ घर विस्थापित भएका छन्।

झापाका मुख्य नदीहरु रतुवा, माइ, विरिंग, हँडिया, निन्दा तथा मेचीमा पानीको बहाव बढेका कारण झापाका धेरै भाग डुबानमा परेका हुन्।

मोरङ

मोरङमा बाढीका कारण ५ जनाको मृत्यु हुनुका साथै केही बेपत्ता भएका छन्। आइतबार बिहानसम्मको तथ्याङ्क अनुसार करिब ८ हजार घर परिवार विस्थापित भएका छन्।

बक्राहानुनसरी खोला र लोहन्द्रा खोलाले बगाउँदा मिक्लाजुङ रातमाटेका गंगाराम खतिवडा र केराबारी कुसुमेका मिनबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ।

मोरङको लेटाङ् नगरपालिका १ मालबाँसेमा पहिरोमा पुरिएर गोपीमाया तामाङको ज्यान गएको छ। पहिरोले दुई घर बगाएको छ । यस्तै मोरङको बुढीगंगा गाउँपालिकाको हात्तीमुडामा एक महिलाको शब भेटिएको छ।

मोरङको बुढीगंगा गाउँपालिका, उर्लाबारी, मिक्लाजुङ र केरावारी गाउँपालिका, विराटनगर महानगरपालिका र पोखरीया, रतुवामाई नगरपालिका, गोविन्दपुर, धनपालथान गाउँपालिकाका विभिन्न ठाउँ डुबानमा परेको प्रहरीले जनाएको छ।  विराटनगर विमानस्थल पानी जमेर पोखरी बनेपछि कुनै पनि उडान हुन सकेको छैन। यतै हरैचामा पक्की पुल नै खोलाले बगाएपछि आवतजावत ठप्प छ।

सुनसरी

सुनसरीका सबै स्थानीय तहमा बाढी पसेको छ। सुनसरीमा ८ जनाको मृत्यु भइसकेको छ भने केही हराइरहेका छन्।

बाढीले सुनसरीको इटहरीको गैरी गाउँका माला साह, उहाँकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी बस्ने ३ वर्षका रुपेस राइ र ८ बर्षकी रुपसनी राईको ज्यान गएको छ । यसैगरी घरमा पानी पसेपछि इटहरी आइतबारेका ईश्वर सुनुवार र तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० बर्षका व्यक्तीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

कोशी व्यारेजमा पानीको वहाब शनिबार बेलुका दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।  कोशीका ५६ मध्ये ३५ वटा ढोका पुरै खोलिएको छ भने ५ वटा ढोका आधा मात्र खोलिएको छ। तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले सरकारले भारत सरकारसँग आग्रह गरेको छ ।

दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ।

सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् ।  धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ। मानवीय क्षति भने भएको छैन । इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् ।

बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ।

सिराहा

तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका करिब एकसय घर डुबानमा परेका छन् ।

बाढीबाट सिरहा सदरमुकामसहितका प्रमुख बजारहरु जलमग्न भएका छन् । वर्षाको पानी निकास नहुँदा कर्जन्हा गाउँपालिकास्थित पासवान टोलका करिब ४० घर तथा कल्याणपुर गाउँपालिकास्थित भेडियामा करिब ३५ र चिकनाका करिब २५ घर जलमग्न भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए।

यस्तै, सिरहाको लहान नगरपालिका–१ स्थित दलित बस्तीमा समेत पानी पसेपछि स्थानीय त्रसित बनेका छन् । मिर्चैया नगरपालिकाको पुरानो हटियास्थित केही घरमा समेत पानी पसेको छ ।

त्यस्तै, पानीको निकास नहुँदा सदरमुकाम सिरहास्थित अधिकांश सरकारी कार्यालय जलमग्न भएका छन् भने मुख्य सडकमा दुई फिटसम्म पानी जमेको छ । सदरमुकामस्थित जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, पशु सेवा, जनस्वास्थ्य, विद्युत् प्राधिकरणलगायत एक दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् । यस्तै, सदरमुकामको मुख्य सडकबाट पानी बग्न थालेको छ ।

त्यसैगरी, अत्यधिक वर्षा भएपछि लहानस्थित जिल्ला वन कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलगायत कार्यालयमा पानी जमेको छ । वर्षाकै कारण सिरहाको मिर्चैया नगरपालिका र गोलबजार क्षेत्र समेत जलमग्न भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयामा करिब दुई फिट पानी सडकबाटै बग्न थालेको स्थानीयले बताएका छन् ।

रौतहट

रौतहटको करूनीयास्थित जोहर टोलमा बाढीका कारण दुई सय भन्दा बढी मानिस जोखिममा परेका छन्। उनीहरुको उद्धार  हुन सकेको छैन।

लालबकैया नदीले देवाही गोनाही गाउँपालिका २ को करूनियाघाट करिब एक सय मिटर बाँध भत्काउँदा जोहरटोल डुवानमा परेको हो।

बस्ती डुवानमा परेपछि गाउँका करिब दुई सयभन्दा बढी मानिस एकघरमा उद्धारको पर्खाइमा छन्।

उद्धारका लागि गएको टोली सो स्थानमा पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकृष्ण भण्डारीको टोली बिच बाटोमा नै रोकिएको छ। नेपाली सेनासहित उद्धार गर्न गएको सो टोली बाढी ठूलो भएकाले घटनास्थलसम्म पुग्न नसकेको हो।

उनीहरुको उद्धारको लागि हेलिकप्टर नै आवश्यक पर्ने डिएसपी भण्डारीले बताएका छन्।

उद्धारको प्रयास भैरहेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए। लालबकैया नदीको अवस्था बुझ्न गएका दुई प्रहरी पनि सोही बाढीको बिचमा फसेका छन्।

एकतर्फ लालबकैया नदी र अर्को तर्फ बाँध फुटेर आएको बाढीको बिचमा उनीहरू रहेको सुकदेव चौक प्रहरी चौकी असइ संजय शर्माले जानकारी दिएका छन्।

जिल्लाको अधिकाश भुभाग डुवानमा परेको छ। चन्द्रपुर, गरूडा, गौर नगरपालिकाको मुख्य बजार क्षेत्र बाहेक अधिकांश टोल डुवानमा परेका छन्। १३ वटै गाउँपालिकाको अधिकांश बस्ति डुवानमा परेको छ।

कटहरीया, गुजरा, माधवनारायणलगायत गाउँपालिकाका गाउँहरू पूर्णरूपमा डुवानमा परेका छन्।

जिल्लाका ग्रामिण भेगका सडकहरू भत्किएका छन्। जिल्लाभित्र रहेका चाँदी, लमाहा, गुजरा, झाँझ, अडुवा ,लालबकैया नदीमा आएको बाढी बस्तिमा पसेको छ। तीन दिनदेखि परेको पानी शनिबार दिउँसोसम्म रोकिएको छैन।

यता पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको पौराई जंगलमा रहेको लच्कामा बाढी आउँदा शुक्रबार रातिदेखि नै राजमार्ग बन्द भएको छ। सयौ सवारी साधनहरु जंगलमा नै रोकिएका छन्। शनिबार दिउँसो लच्कामा पानीको बहाव घटेपछि केही समय यातायात सञ्चालन भए पनि पानी परेका कारण पुनः सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ।

सर्लाही

वर्षाको पानीले घर भत्किएर किच्दा सर्लाहीको धनकौल गाउँपालिका–१ मानपुरका किशोरी रायको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै सोती खोलाले बगाएर बरहथवा नगरपालिका– १० सीतापुरमा १७ वर्षीय राकेशकुमार साहको पनि ज्यान गएको छ ।

सर्लाहीको मलंगवा सहित जिल्लका खैर्बा, सिसौट, छटौल, महिनाथपुर, मानपुर, सुदामा, बलरा, भाडसर, अचलगड लगायत दक्षिणी भेगमा दर्जनौ घर डुबानमा परेका छन् ।

सिन्धुली

सिन्धुलीको कमलामाई नगरपालिका गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर घर भत्किँदा दुर्गा खड्का, उहाँका छोराहरु अनिस र मनिस तथा छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट उज्यालो सहकर्मी बाबुराम देवकोटाले जनाएका छन् । दुर्गाका श्रीमान उदयबहादुरलाई प्रहरीले उद्धार गरेको छ ।

दाङ

अविरल वर्षापछि आएको  बाढीले दाङमा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर ७ मा रहेको खाद्रे खोला तर्ने क्रममा एक ब्यक्तिको मृत्यु भएको छ।

शनिबार दिउँसो ३ बजे तिर खोलो तर्ने क्रममा बगेर तुलसीपुर ४ जितपुरका ५८ वर्षिय नरबहादुर रावतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै  तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी ४८ बर्षीया भगवती सुनारको स्थानीय तुही खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ। बाढीमा परी अन्य दुई जना घाईते छन्।

लमही नगरपालिका ९ अमिलियाका कर्ण डाँगी र रिता डाँगी घाइते भएका छन्।  जिल्लाका बिभिन्न नदी तथा खोलाहरुमा आएको बाढीले गर्दा शनिबार दिन भर दाङको यातायात सेवा ठप्प भएको थियो।

बाँके

बाढीले घर भत्किदा बाँकेको राप्ती सोनारी गाउँपालिका ४ लालापुरमा कमिलाल थारुका  ३ जना छोरीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । बाढीबाट बच्न बालिकाहरु छतमा बसेको बेला घर नै भत्किएको थियो । प्रहरीका अनुसार कमिलालकी श्रीमती पनि बेपत्ता हुनुभएकोे छ । यसैगरी लालापुरकै मकैबारीमा एकजना पुरुषको शव पनि भेटिएको छ । राप्ती सोनारी ६ र ७ नम्बर वडा पुरै डुबानमा परेको छ ।

बाढीले नेपालगन्ज, कोहलपुर पनि डुबान परेको छ । कचनापुको टिकुलीपुर गाउँ डुबानमा परेको छ ।  बाँकेको नरैनापुर गाउँपालिका–५ तल्लो भगवानपुरमा उद्धारका लागि गएका प्रहरीहरु चढेको डुंगा बाढीले बगाएको छ । डुङगा पल्टिएपछि सबै प्रहरी पौडिँदै नजिकै रहेको पीपलको रुखमा पुगेर त्यसमा चढेर बच्न सफल भएका थिए ।

बाँकेमा राप्तीनदीमा पानीको सतहले खतराको संकेत पार गरेकाले लक्ष्मणपुर बाँध आसपासका होलिया, बेतहनी, गंगापुर, मटैया, फत्तेपुर, कचनापुर लगायतका गाविसका दर्जनौं गाउँहरु डुबानको जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र