दुई सन्तानको बाबु भएपछि बिहे गर्दै मेसी

e086f2f06b6764779358f18fb3c5f689

१६ असार , ब्युनस एयर्स : दुई सन्तानका अभिभावक बनिसकेका अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी र उनकी प्रेमिका एन्तोनेल्ला रोकुज्जो वैवाहिक बन्धनमा बाँधिने भएका छन् । मेसी र रोकुज्जो शुक्रबार अर्जेन्टिनाको रोसारियो सहरमा वैवाहिक बन्धनमा बाँधिने कार्यक्रम छ । त्यसका लागि उनीहरूले दुई सय ५० जनाभन्दा बढी पाहुनालाई निम्त्याएका छन् । बाल्यकालदेखिका साथी रहेका मेसी र रोकुज्जोका दुई छोरा छन् ।

अर्जेन्टिनाको राजधानी ब्युनस एयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा हुन लागेको मेसीको विवाहमा सर्वसाधारणलाई भने प्रवेश निषेध गरिएको छ । मेसीले आफ्ना पाहुनाका लागि पाँचतारे होटल बुक गरिसकेका छन् । उनले आफ्नो विवाहका लागि अर्जेन्टिनी राष्ट्रिय टोली तथा बार्सिलोनाका सहकर्मीलाई निम्ता दिएको जनाइएको छ । मेसीले बार्सिलोनाबाट नेमार, लुइस स्वारेज, जेरार्ड पिकेलगायतका खेलाडीलाई बोलाएको अर्जेन्टिनी मिडियाले जनाएका छन् ।

यसैगरी कोलम्बियन गायिका तथा पिकेकी श्रीमती साकिरालाई पनि मेसीले पाहुनाका रूपमा बोलाएका छन् । वैवाहिक कार्यक्रममा सहभागी हुन पाहुना आउने क्रम सुरु भइसकेकाले होटल र त्यस वरपरको सुरक्षाव्यवस्था कडा बनाइएको छ । मेसीको विवाहको व्यवस्थापनको जिम्मेवारी हेरिरहेको होटलले पाहुनाका लागि विशेष सुविधा उपलब्ध रहेको जनाएको छ ।

होटलले जनाएअनुसार सबै पाहुनाका लागि हेयर ड्रेसरको सुविधा निःशुल्क उपलब्ध गरिएको छ । साथै उनीहरूका बच्चालाई पनि मनोरञ्जनको विशेष व्यवस्था गरिएको छ । एक सय ५० जना पत्रकारलाई मात्रै मेसीको विवाहको समाचार संकलनको अनुमति दिइएको छ । यद्यपि ती पत्रकारलाई सीमित ठाउँमा मात्रै पुग्ने अनुमति दिइने बताइएको छ ।

मेसी र रोकुज्जोले आफूहरूलाई प्राप्त हुने सबै उपहार लियो मेसी फाउन्डेसनका लागि सहयोगस्वरूप हस्तान्तरण गर्ने बताएका छन् । यसै साता आफ्नो ३०औं जन्मदिन मनाएका मेसी विवाहका लागि रोसारियो पुगिसकेका छन् । मेसी एक मध्यमवर्गीय परिवारमा हुर्किएका हुन् । रोकुज्जो भने मेसीका नजिकका साथीको काकाकी छोरी हुन् । त्यसैले मेसी र रोकुज्जो सानै उमेरदेखि एकअर्काको नजिक रहेर हुर्किएका हुन् । उनीहरूबीच प्रेमसम्बन्ध भने सन् २००० को अन्त्यबाट मात्रै सुरु भएको हो ।

रोकुज्जोकी नजिककी साथीको सडक दुर्घटनामा मृत्यु भएपछि मेसी सान्त्वना दिन अर्जेन्टिना पुगेका थिए । त्यसपछि उनीहरूबीचको सम्बन्ध प्रेमीप्रेमिकामा परिणत भएको थियो । त्यसपछि रोकुज्जो पनि स्पेनमै बसाइँ सरेकी थिइन्, जहाँ उनीहरूका दुई छोरा जन्मिए ।

अहिले उनीहरूका जेठो छोरा थिएगो चार वर्ष र कान्छो छोरा माटियो एक वर्ष पुगेका छन् ।
मैदानमा सधैं जादुमयी प्रदर्शन गर्ने मेसी पाँचपटकका फिफा वर्ष खेलाडी हुन् ।
फुटबलप्रेमीका लागि असाधारण देखिने मेसीले भने आफूलाई सधैं साधारण व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका छन् । मेसीले मैदानमा विपक्षी खेलाडीसँग झगडा गरेको दृश्य विरलै देख्न पाइन्छ । क्यामेराअघि उनी सधैं लजाएर हिँडेको देखिन्छ । तर, उनका सहकर्मी भने मेसी मैदानबाहिर बिल्कुलै फरक रहेको बताउँछन् ।

‘मेसी महान् फुटबलर हुन् तर मैदानबाहिर र भित्र उनको व्यवहार निकै फरक छ’, बार्सिलोनामा कुनै समय मेसीसँगै व्यावसायिक फुटबल खेलेका मेक्सिकन खेलाडी जोनाथन डस सान्तोस भन्छन्, ‘उनी साथीभाइसँग जिस्किरहन्छन् । हामीलाई थुप्रै चुट्किला पनि सुनाउँछन् । उनी मैदानबाहिर बिल्कुलै फरक छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति