सिरियामा अमेरिकाको आक्रमण : ट्रम्पको विदेशनीतिमा परिवर्तन ?

शुक्रवार बिहान सिरियाको एक हवाई आधारइलाका (एयर बेस)मा ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशनीतिमा परिवर्तनको संकेत दिएका छन् ।


निर्वाचन अभियानताका अर्को देशको सरकार परिवर्तनमा अनि अर्काको युद्धमा अमेरिकालाई संलग्न नगराउने बरू आफ्नै आर्थिक विकासमा लाग्ने ट्रम्पले उद्घोष गरेका थिए । सिरियामा आक्रमण गरेर उनले यो कोरा नारा मात्र भएको सन्देश दिएका छन् ।

आक्रमणका लागि ट्रम्पले सिरियालाई नै दोषी देखाएका छन् । गत मंगलवार सिरियाली सरकारले उत्तरपश्चिमी इद्लिब प्रान्तमा विद्रोहीहरूको कब्जामा रहेको खान शेखून शहरमा रासायनिक हतियार प्रयोग गरेर बालबालिकासहित कम्तीमा ८० व्यक्तिको हत्या गरेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् । सिरियाली सेनाले भने आक्रमणमा आफ्नो कुनै हात नरहेको बताएको छ ।

सिरियाली राष्ट्रपति बशर अल–असदलाई समर्थन गरिरहेको रुसले भने सिरियाली सेनाबाट यस्तो आक्रमण नभएको बरू यस्ता हतियार राखिएका गोदामहरूमा आक्रमण भएर ग्यास बाहिर छरिएको दाबी गरेको छ । सत्य के हो कसैलाई थाहा छैन तर टर्की पु–याइएका लाशहरूको परीक्षण गर्दा चाहिँ रासायनिक आक्रमण देखिएको पाइयो । अनि आक्रमणमा बाँचेकाहरूले पनि वाकवाकी लागेको र टाउको दुखेको बताए ।


यो खबर सुनेर आफू आहत भएको ट्रम्पले बताए । उनले सिरियाली राष्ट्रपतिलाई तानाशाहको संज्ञा दिँदै सिरियाली सरकारले सबै लक्ष्मणरेखा पार गरेको बताए । सन् २०१३ मा ट्रम्पले तत्कालीन राष्ट्रपति बाराक ओबामाको सिरियाविरुद्ध आक्रमण प्रयासलाई आलोचना गरेका थिए । एक ट्वीट लेख्दै उनले भनेका थिए, ‘हामीले सिरियामा बम हानेर थप ऋण र सम्भवतः दीर्घकालीन द्वन्द्वका अलावा अरू के पाउँछौं ? आक्रमणका लागि ओबामाले कंग्रेसको समर्थन हासिल गर्नुपर्छ ।’

त्यतिखेर ओबामाले सिरियाका नागरिकमाथि त्यहाँको सरकारले रासायनिक हतियार प्रयोग गरे रातो रेखा पार गरेको ठहरिने र आफू सिरियामाथि आक्रमण गर्न बाध्य हुने बताएका थिए । तर रासायनिक सरिन ग्यासको प्रयोग धेरैचोटि भएको भनेर रिपोर्टहरू आएपनि ओबामाले आक्रमण गरेनन् र यसका लागि उनले आलोचना पनि बेहोर्नुप–यो ।

तर अहिले त्यही सिरियामा आक्रमण गरेर ट्रम्पले नीति परिवर्तनको संकेत देखाएका छन् । जोर्डनका राजासँगको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘महिला र ससाना बालबालिका लगायत निर्दोष व्यक्तिहरूविरुद्ध भयानक रासायनिक आक्रमण गर्नु भनेको मानवताविरुद्धको प्रहार हो । असद सरकारको यो जघन्य कार्य सहन सकिँदैन । सिरिया र असदप्रतिको मेरो धारणा पूरै परिवर्तन भएको छ ।’


अमेरिकाको आक्रमणपछि सिरियाका विद्रोहीहरूले भने खुशी मनाएका छन् । पश्चिमी देशका कठपुतली विद्रोही समूहहरू असदलाई जसरी भएपनि सत्ताच्युत गराउन चाहन्छन् र त्यसका लागि उनीहरू जस्तो कदम चाल्न पनि पछि पर्दैनन् ।

जे भएपनि सिरियाप्रतिको ट्रम्प प्रशासनको नीतिमा नाटकीय परिवर्तन नै आएको मान्नुपर्छ । अघिल्लो हप्ता मात्र संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी दूत निक्की हेलीले सिरियाली राष्ट्रपतिलाई हटाउनु अमेरिकाको प्राथमिकता नभएको बताएकी थिइन् ।

तर बिहीवार अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले ट्रम्प प्रशासनको नीतिमा अकस्मात् परिवर्तन आएको संकेत दिँदै सिरियाको भविष्यका लागि बशर अल–असदको कुनै भूमिका हुनु नहुने बताएका छन् । यसबाट असदलाई समर्थन गर्ने रुससँग अमेरिकाको सिधै द्वन्द्व पर्ने देखिएको छ ।

हुन पनि रुसले सिरियाविरुद्ध भर्त्सनाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई पारित हुनबाट रोक्न भिटो लगाएको छ र राष्ट्रसंघका लागि रुसका दूतले अर्काको देशको सत्ता परिवर्तनमा लाग्ने कामै गलत भएको बताएका छन् ।


सिरियाको द्वन्द्व क्रमशः टुंगिन लागेको बेलामा असदले आफ्नै गोडामा बञ्चरो हान्नेगरी रासायनिक आक्रमण गरे होलान् भन्ने कुरा नै शंकाको घेरामा छ । अमेरिकालाई विदेशका द्वन्द्वमा अल्झाइरहन चाहने हतियार उद्योगका मतियार डीप स्टेटका एजेन्टहरूले सिरियाको द्वन्द्वलाई लम्ब्याइरहन र रुसलाई त्यहाँ शान्ति स्थापनाको प्रयास गर्न नदिनका लागि रासायनिक आक्रमणको खतरनाक खेल खेलेका पनि हुन सक्छन् ।

आखिरमा पश्चिमी मुलुकहरूले सिरियाली सरकारबाट नै रासायनिक आक्रमण भएको हो भन्ने कुनै ठोस प्रमाण जुटाउन सकेका छैनन् । बरू रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले खान शेखूनमा रहेको एक गोदाममा विषालु ग्यास उत्पादन तथा भण्डारण हुने गरेकोमा सिरियाली वायुसैनिकको एक आक्रमणबाट उक्त ग्यास वातावरणमा फैलिएको पुष्टिसहितको सूचना आफूले पाएको बताएका छन् । त्यही रासायनिक विषालु ग्यास अलेप्पोमा विद्रोहीहरूले गत वर्ष प्रयोग गरेको अनि रुसका सैन्यविज्ञहरूले त्यसको नमूना संकलन गरेको उनी बताउँछन् ।

तर सिरियालाई निन्दा गर्नका लागि स्यालहुइँया मच्चाउने पश्चिमी अखबारहरूले सिरियाली सरकारको मातहत रहेका सबै रासायनिक हतियारहरू सन् २०१४ मै नष्ट भइसकेको कुरा पूरै बिर्सिन्छन् । संयुक्त राष्ट्रसंघको सुपरीवेक्षणमा उक्त हतियारहरू एक अमेरिकी जहाजमा नष्ट गरिएका थिए । त्यसका अलावा अमेरिकाको एक गोप्य जासूसी प्रतिवेदनले सिरियामा रहेको जबहात अल–नुसरा समूहले विषालु सरिन ग्यास बनाउन जानेको र ठूलो संख्यामा यसको उत्पादन गर्न सफल भएको उल्लेख गरेको थियो ।


यसका अलावा तत्कालीन ओबामा प्रशासन र उसका सहयोगी राष्ट्र टर्की, साउदी अरब र कतारले सन् २०१२ मा एक गोप्य सम्झौता गरेर जनतामाथि सरिन ग्यास आक्रमण गर्ने अनि सिरियाली सरकारलाई त्यसको दोष थोपर्ने रणनीति बनाएका थिए । अनि त्यसैको आडमा सिरियामाथि आक्रमण गर्ने र इराकको हालतमा पु–याउने उनीहरूको लक्ष्य थियो ।

त्यही क्रममा उनीहरूले लिबियामा रहेका रासायनिक हतियारहरू गद्दाफीको अन्त्य भएपछि सिरियामा रहेका विद्रोही समूहकहाँ पु–याए । सिरियामा अल–काइदा आतंकवादी समूहको शाखाका रूपमा रहेको जबहात फतह अल–शामले यी हतियारमाथि कब्जा जमायो । पश्चिमले यो खतरनाक आतंकवादी समूहलाई नरम विद्रोही मान्छ ।

अन्त सबैतिरबाट हारेर इद्लिबमा कुना परेको यो समूहलाई पूरै ध्वस्त पार्न सिरिया र रुस लागिपरेका छन् । इस्लामिक स्टेट र यो समूहलाई ध्वस्त पारेपछि मात्र सिरियामा शान्ति आउने सम्भावना रुस, सिरिया र इरानले देखेका छन् । यही शान्तिको प्रयासलाई बिगार्नका लागि रासायनिक हतियारको हल्लाखल्ला मच्चाइएको हुनसक्छ । ससाना बालबालिका र निर्दोष व्यक्तिलाई क्रूरतापूर्वक बलिको बोको बनाएर पश्चिमको कठपुतली विद्रोही समूहले युद्ध लम्ब्याउन चाहेको संकेत देखिन्छ ।


शुक्रवारको आक्रमणबाट विदेशी युद्धहरूमा अमेरिकालाई अबउप्रान्त नफँसाउने ट्रम्पको घोषणा पनि कुरैमा मात्र सीमित हुने लक्षण देखिँदैछ । यसअघि यमनमा आक्रमणको स्वीकृति पनि दिएका ट्रम्पलाई हतियार उद्योग सञ्चालकहरू नोबेल शान्ति पुरस्कार विजेता बाराक ओबामापछिको अर्को युद्धसरदार बनाउन उद्यत देखिन्छन् । ताजा घटनाक्रमले अझै धेरै निर्दोषहरूले ज्यान गुमाउनुपर्ने र विश्वमा शान्ति लामो समयका लागि विलीन हुने संकेत दिएका छन् ।

यो सामग्री तयार पार्न स्पुतनिक न्युजमा प्रकाशित पेपे एस्कोबारको लेख अनि बीबीसी र सीएनएनमा प्रकाशित विश्लेषणको सहायता लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने