February 17, 2017

अझै रोकिएको छैन अमेरिका छिर्न जानेको लस्कर ।

 

फागुन ६

 काठमाडौं – राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि धरपकड बढाए पनि अमेरिका छिर्न जानेको लस्कर अझै रोकिएको छैन । दक्षिण अमेरिकी मुलुक कोलम्बिया हुँदै मेक्सिकोतर्फ लाग्ने नेपालीसहित विभिन्न विदेशीको संख्या अझै उत्तिकै रहेको त्यहाँबाट प्रत्यक्षदर्शीले बताएका छन् । आजको कान्तिपुरमा खबर छ ।

कोलम्बिया कटेर पानामा कपुरगाना जंगलमा पुगेका २१ नेपालीमध्ये एक जनाले फोटोसमेत पठाउँदै भने, ‘अमेरिका पुगिन्छ भन्ने आस मरेको छैन ।’ उनका अनुसार उनीहरूको टोलीमा २५ जना छन् । तीमध्ये ४ जना भारतीय हुन् भने बाँकी नेपाली । कपुरगाना जंगल हिंडेर पार गर्न कम्तीमा ४ दिन लाग्ने आफूलाई भनिएको उनले जानकारी दिए ।

उनकै समूहका एक भारतीय नागरिकले आफ्ना ‘एजेन्ट’ लाई सुरक्षित रुपमा जंगल पुगेको र साथमा बढी मात्रामा नेपाली रहेको भन्ने टेलिफोनबाट जानकारी गराएको अडियो रेकर्ड कान्तिपुरलाई प्राप्त भएको छ । ‘चिन्ता नलिनुहोस्, हामी अघि बढिरहेका छौं’, उनले हिन्दीमा भनेका छन्, ‘साथमा नेपाली छन्, ढुक्क छौं ।’

अधिकांश भारतीयले दक्षिण अमेरिकी मुलुकमा आफूलाई नेपाली नै भनेर चिनाउने गर्छन् । भारतसँग प्रायस् मुलुकको सुपुर्दगी सन्धी भएकाले पक्राउ परेमा फिर्ता पठाइदिनुपर्छ । नेपाली भन्यो भने देश निकाला गरेर अगाडि मुलुकतिर छाडिदिन्छन् ।

पानामाका एक होटल व्यवसायीले टेलिफोनमा दिएको जानकारीअनुसार उनको होटलमा मात्र महिनाको सरदर दुई सय नेपाली बस्ने गरेका छन् । बाटामा पर्ने सयौं होटल अमेरिका छिर्न चाहनेले दैनिक भरिभराउ हुने गरेको उनले सुनाए । ‘हामीकहाँ एजेन्टले ल्याउने हुन्’, उनले भने, ‘मकहाँ सम्पर्क भएका एजेन्टले बढी मात्रामा नेपाली ल्याउँछन् ।’

कोलम्बियाको राजधानी बोगोटामा व्यवसाय गरेर बसेका छत्रबहादुर मैनालीले पनि उक्त बाटो भई नेपाली जाने क्रम नघटेको बताए । ट्रम्प उम्मेदवार हुनुभन्दा अघिदेखि मानव तस्करी गरी बीचमा पुर्‍याइएका थुप्रै व्यक्ति रहेका कारण यस्तो भएको उनको अनुमान छ । तिनलाई अमेरिका छिराउन सकिने आश्वासन दिंदै दलालले लाने गरेको पाइएको छ । ‘एक त तस्करीमा परेकालाई बदलिंदो राजनीतिबारे कमै थाहा हुन्छ’, मैनालीले भने, ‘दोस्रो दलालले यति विश्वस्त गराएका हुन्छन् कि अलपत्र परिन्छ भन्ने उनीहरूलाई शंकै हुँदैन ।’

उनका अनुसार त्यसरी अघि बढ्ने आप्रवासीले पानामाको जंगलमा कम्तीमा ४ दिन हिंडेपछि सुरक्षाकर्मी भए ठाउँ पुगी आत्मसमर्पण गर्छन् । केही दिन राखेर तिनलाई देश छाड्ने आदेशपत्र दिइन्छ । त्यही आधारमा उनीहरू कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुग्छन् । हरेक देशमा उस्तै तरिका अपनाउँछन् ।

त्यही रुटबाट एक वर्षअघि अमेरिका पुगेका एक नेपालीले टेलिफोनमा दिएको जानकारीअनुसार म्याक्सिकोको तापाचुला पुगेर उनीहरू फेरि सुरक्षाकर्मीसँग आत्मसमर्पण गर्छन् । त्यहाँ पनि केही दिन राखेर देश छाड्ने पत्र दिइन्छ । त्यही आधारमा उनीहरू अमेरिकाको क्यालिफोर्नियाको सीमावर्ती मेक्सिकोको तिजुआना विमानस्थलमा उडेर पुग्छन् ।

‘मेक्सिकोबाट अमेरिकातिर छिर्ने बार नाघ्न नजिकै भाडामा भर्‍याङ राखिएका हुन्छन् । २० अमेरिकी डलर लिन्छन् । म पनि त्यही भर्‍याङ चढेर आएको हुँ’, उनले भने, ‘एकैछिनका लागि भर्‍याङ समाइदिन्छन् । जब माथि पुगिन्छ, फुत्तै झिक्छन् । हामीले ब्वाङ्ग हाम फाल्नुपर्ने हुन्छ । जब अमेरिकी भूमितिर परिन्छ, काम सकियो ।’

अमेरिकी सेनाले केही दिन थुनेर शरणार्थीका रूपमा मान्यता दिने भएकाले मानव तस्करले यो विधि अपनाउँदै आएका हुन् । त्यसरी पुग्नेलाई भागेर आएको होइन, ‘मानव तस्करीमा परेको’ रूपमा यसअघि लिइँदै आएको छ । ट्रम्पको नीतिले त्यसलाई निरुत्साहन गरेको छ ।

तस्करीको रुट
नेपालसहित अधिकांश एसियाली मुलुकबाट तस्करी गरी लगिनेहरूलाई सबैभन्दा पहिला पुर्‍याउने मुख्य मुलुक हो सुरेनेम । त्यहाँबाट लगिएका व्यक्तिको वर्गअनुसार देश र मार्ग फरक–फरक गर्ने गरिएको स्रोतले जनायो ।

पचास हजार अमेरिकी डलरभन्दा बढी तिरेर जाने वा ‘पावरफूल’ व्यक्तिहरूलाई दलालले ‘क’ वर्गमा राख्छन् । ‘तिनलाई हरेक देशबाट सुविधाजनक ढंगले मेक्सिको पुर्‍याउन दाउ हान्छन्’, स्रोतले भन्यो, ‘ब्राजिल लगेर सिधै मेक्सिकोको उडान गराउनु पहिलो प्राथमिकता हुन्छ । मिलेन भने इक्वेडरबाट र त्यहाँबाट पनि मिलेन भने कोलम्बियाबाट उडाउँछन् ।’

‘ख’ वर्गका ती हुन्छन् जो सुरेनेमबाट गुयाना, ब्राजिल, इक्वेडर हुँदै कोलम्बिया ल्याइन्छन् । तिनलाई प्रायस् ट्याक्सीमा चढाउने गरिन्छ । कोलम्बियाबाट पानामा हुँदै विभिन्न देश पार गराएर मेक्सिको पुर्‍याइन्छ ।

सबैभन्दा पीडित ‘ग’ वर्गका हुन्छन् । तिनलाई प्रायस् ‘ख’ कै मार्ग प्रयोग गरे पनि धेरैजसो ट्रकमा चढाइन्छ । अधिकांश हिँडाइन्छ । ‘खाना पनि निम्न गुणस्तरको हुन्छ । कति छाक त भोकै हुनुपर्छ । सुत्न भैंसीजस्तै १५–२० जनालाई एकै ठाउँमा खाँदिन्छ’, यस्ता दृश्य दैनिकजसो देख्दै आएका मैनालीले सुनाए, ‘दलालले कुट्नेपिट्नेसम्म गर्छन् । कतिपय बाटामै मृत्यु हुने प्रायस् ग वर्गका हुन् ।’

उनका अनुसार नेपाली सितिमिति ‘क’ वर्गमा पर्दैनन् । ‘ख’ मा ५ प्रतिशत हाराहारी पारिन्छन् । बाँकी सबै ‘ग’ मा । जुनसुकै वर्गमा पारेर लगिए पनि कम्तीमा ३५ लाख रुपैयाँ खर्च भएको हुन्छ । तीमध्ये केही महिलासमेत हुन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति