सफल जीवन बीमा अभिकर्ता बन्ने कला

 

अधिवक्ता तारा निधि पन्त

जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई आर्थिक सुरक्षा र भविष्यप्रतिको सुनिश्चितता दिलाउने जिम्मेवार पेशा पनि हो। अभिकर्ताले ग्राहक र परिवारका प्रियजनलाई जोखिमबाट जोगाउने र अप्रत्याशित परिस्थितिका लागि पूर्वतयारी गराउने माध्यमका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। त्यसैले यो पेशामा सफलता केवल बिक्री क्षमतामा होइन, ज्ञान, विश्वास र दीर्घकालीन सम्बन्ध निर्माणमा निर्भर हुन्छ।

पेशामा प्रवेश गर्नुअघि आवश्यक तयारी:

जीवन बीमा अभिकर्ताको यात्रा सुरु गर्न सबैभन्दा पहिले आवश्यक शैक्षिक योग्यता पूरा गर्नुपर्छ। विद्यमान बीमा नियमावलीअनुसार अभिकर्ता बन्न चाहने व्यक्तिले कम्तीमा उच्च माध्यमिक तह (१०+२) उत्तीर्ण गरेको हुनुपर्छ। शैक्षिक योग्यता मात्र पर्याप्त हुँदैन, बीमाप्रति सकारात्मक सोच, सेवा भाव र निरन्तर सिक्ने इच्छाशक्ति पनि उत्तिकै आवश्यक हुन्छ।

तालिम र इजाजतपत्र प्रक्रिया:

अर्को चरणमा इच्छुक व्यक्तिले नजिकको कुनै जीवन बीमा कम्पनीको कार्यालयमा सम्पर्क गरी तालिमका लागि निवेदन दिनुपर्छ। बीमा कम्पनीले तोकेको तालिम निवेदन फारम भरेर तालिम शुल्क तथा इजाजतपत्र शुल्कसहित सामान्यतया तीन हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ। केही कम्पनीले तालिम शुल्क पहिले लिने र परीक्षा उत्तीर्ण भएपछि मात्र इजाजतपत्र शुल्क लिने व्यवस्था पनि गरेका छन्।

इजाजतपत्र प्राप्त गर्नुअघि कम्तीमा चार दिनको नियमित तालिममा अनिवार्य सहभागिता जनाउनुपर्छ। तालिम अवधिमा बीमासम्बन्धी कानुनी व्यवस्था, बीमालेखका प्रकार, जोखिम मूल्यांकन, नैतिक आचारसंहिता लगायत विषयमा स्पष्ट बुझाइ हासिल गर्नु अत्यन्त आवश्यक हुन्छ। तालिममा पूर्ण समय उपस्थित भई सक्रिय रूपमा सहभागिता जनाउनु नै सफलताको पहिलो आधार हो।

इजाजतपत्र परीक्षा र प्रमाणपत्र:

तालिम सम्पन्न भएपछि नेपाल बीमा प्राधिकरणको वेब पोर्टलमार्फत अनलाइन परीक्षाका लागि आवेदन दिनुपर्छ। यो प्रक्रिया बीमा कम्पनीका कर्मचारीको सहयोगमा सहजै पूरा गर्न सकिन्छ। फारम भर्ने क्रममा परीक्षाको मिति र समय स्वयं छनोट गर्न सकिने व्यवस्था छ।

परीक्षा अनलाइन माध्यमबाट सञ्चालन हुन्छ, जसमा ५० वटा वस्तुगत प्रश्न सोधिन्छन्। प्रत्येक प्रश्नका चार विकल्पमध्ये सही विकल्प छान्नुपर्छ। कम्तीमा २५ प्रश्नको सही उत्तर दिन सकेमा परीक्षार्थी उत्तीर्ण मानिन्छन्। परीक्षा उत्तीर्ण गरेपछि नेपाल बीमा प्राधिकरणले डिजिटल (अभौतिक) इजाजतपत्र जारी गर्छ, जसमा अभिकर्ताको इजाजतपत्र नम्बर उल्लेख हुन्छ।

आफूले काम गर्ने कम्पनीबारे गहिरो बुझाइ:

इजाजतपत्र प्राप्त गरेपछि अभिकर्ताले आफू आबद्ध हुने जीवन बीमा कम्पनीबारे विस्तृत जानकारी लिनुपर्छ। कम्पनीको सञ्चालक संरचना, चुक्तापुँजी, बीमा कोष, बोनसदर, ग्राहक सेवा गुणस्तर, बीमा दाबी अनुपातजस्ता पक्ष बुझ्नु अत्यन्त आवश्यक हुन्छ। सुरुमा कम्तीमा चार–पाँच प्रमुख बीमा योजनामा गहिरो पकड बनाउँदै तिनका विशेषता, फाइदा र सीमाबारे स्पष्ट हुनुपर्छ।

बीमालेख र योजनामा दक्षता:

सावधिक जीवन बीमा, सीमित भुक्तानी सावधिक बीमा, अग्रिम भुक्तानी सावधिक बीमा तथा बाल जीवन बीमाजस्ता प्रमुख योजनाबारे अभिकर्ताले आफैं मात्र होइन, अरूलाई समेत स्पष्ट रूपमा बुझाउन सक्ने क्षमता विकास गर्नुपर्छ। यसका लागि अनुभवी अभिकर्ता वा कम्पनीका कर्मचारीसँग बसेर कम्तीमा एक हप्ता नियमित अभ्यास र प्रशिक्षण लिनु उपयोगी हुन्छ।

साथै, प्रतिस्पर्धी बीमा कम्पनीका योजनाहरू, बोनसदर र वित्तीय अवस्थाबारे सामान्य जानकारी राख्नुले ग्राहकसँग संवाद गर्दा अभिकर्तालाई अझ विश्वसनीय बनाउँछ।

जनसम्पर्क र विश्वास निर्माण:

बीमा व्यवसायको मेरुदण्ड नै जनसम्पर्क हो। सुरुआती चरणमा सीधै बीमालेख बिक्रीमा लाग्नुको सट्टा आफ्नो पहिचान विस्तारमा ध्यान दिनु बुद्धिमानी हुन्छ। गाउँ–टोल, बजार, समुदायमा नियमित उपस्थिति जनाउँदै मानिसहरूसँग परिचित हुनुपर्छ। यसले समयक्रममा विश्वास निर्माण गर्छ, जुन बीमा व्यवसायको सबैभन्दा ठूलो पूँजी हो।

सहर क्षेत्रमा कार्यरत अभिकर्ताका लागि लायन्स, लियो, रोटरी क्लबजस्ता सामाजिक तथा व्यावसायिक संस्थामा सक्रिय सहभागिता जनाउनु सम्भावित ग्राहकसँग सम्पर्क बढाउने प्रभावकारी माध्यम हुन सक्छ। सुरुमा आफूलाई ‘बीमा अभिकर्ता’ भनेर चिनाउन हतार नगर्नु नै दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ।

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग:

आधुनिक समयमा सामाजिक सञ्जाल बीमा अभिकर्ताका लागि बलियो माध्यम बनेको छ। फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामजस्ता प्लेटफर्ममार्फत बीमासम्बन्धी सरल र जानकारीमूलक सामग्री नियमित रूपमा साझा गर्न सकिन्छ। सुरुका केही हप्ता वा एक महिनासम्म बिक्रीभन्दा बढी जनचेतनामा केन्द्रित सामग्री प्रकाशन गर्नु उपयुक्त हुन्छ।

यदि भिडियोमा देखिन आत्मविश्वास नआएमा सुरुमा तस्बिर र शब्दको संयोजनमार्फत सामग्री पोस्ट गर्न सकिन्छ। प्रत्येक सामग्रीमा आफ्नो नाम, अभिकर्ता परिचय र सम्पर्क विवरण उल्लेख गर्न नबिर्सनुहोस्। फलोवरको संख्याभन्दा सामग्रीको गुणस्तरमा ध्यान दिनु नै दीर्घकालीन सफलताको आधार हो।

निरन्तर अध्ययन र आत्म–अध्यावधिक:

बीमा क्षेत्र प्रतिस्पर्धात्मक र प्रविधिमैत्री बन्दै गएको छ। त्यसैले देशभित्र र बाहिर बीमा क्षेत्रमा भइरहेका नयाँ विकास, नीति, प्रविधि र योजनाबारे निरन्तर जानकारी लिनु आवश्यक हुन्छ। समाचार माध्यम, तालिम, युट्युब तथा अन्य शैक्षिक सामग्री यसका उपयोगी स्रोत हुन सक्छन्। कम्पनीले समय–समयमा नयाँ बीमा योजनाहरू ल्याइरहन्छ। ती योजनाका विशेषता र फाइदाबारे अद्यावधिक रहन सकेमा अभिकर्ताले आफूलाई अरूभन्दा फरक र सक्षम रूपमा स्थापित गर्न सक्छ।

सफल बीमा अभिकर्ताले बीमालेख मात्र बेच्दैन। उसले ग्राहकसँग विश्वासमा आधारित, दीर्घकालीन र मानवीय सम्बन्ध निर्माण गर्छ। ज्ञान, इमानदारी, निरन्तर सिकाइ र सेवाभाव नै यो पेशामा सफलताको स्थायी सूत्र हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘चुनाव हुन नदिनु भन्ने अधिकार जेन–जीलाई छैन’ : मेयर महर्जन

२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य निर्विरोध

पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना