March 11, 2020

प्रमलाई संक्रमण हुन नदिन बालुवाटारमा नयाँ ‘सेटअप’

आज फागुन २८ गते बुधबार देशका प्रमुख राष्ट्रिय राष्ट्रिय दैनिकहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, बजारमा कालोबजारी, कोरोनाभाइरसको सन्त्रास लगायत विषयहरुमा समाचार प्रकाशित छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछिको केही समय भने अस्वस्थ कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भीडभाड हुने छैन । कान्तिपुर दैनिकमा समाचार छ । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालबाट ल्याइएपछि वातावरणका कारण कुनै प्रकारका संक्रमण हुन नदिन बालुवाटारमा नयाँ ‘सेटअप’ गर्न लागिएको हो । त्यसका लागि निवासभित्र र परिसरको विशेष सरसफाइ गरिँदै छ । संक्रमणका स्रोतहरूको पूर्ण निर्मलीकरणका उपाय अवलम्बन गरेपछि मात्र ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक छन् । प्रधानमन्त्री निवास पहिलाभन्दा केही सानो भएकाले सबै प्रकारको व्यवस्था मिलाउन कर्मचारीलाई हम्मे परिरहेको छ । ‘प्रधानमन्त्रीज्यूलाई संक्रमणको जोखिम छ, कसलाई कहाँसम्म जान दिने र कहाँ बसेर बैठक भेटघाट गर्ने भन्ने सेटअप मिलाइँदै छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद् बैठकदेखि अन्य महत्त्वपूर्ण बैठक गर्नैपर्छ । भेटघाट हुन्छ । त्यस्तोमा कसलाई कतिसम्म नजिक जान दिने भन्ने चाँजोपाँजो मिलाइँदै छ ।’ प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यसँग पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्याहार गरेको अनुभव रहेका कारण खानपानलगायत उनको व्यक्तिगत सरसफाइलाई व्यवस्थापन गर्न धेरै कठिनाइ नहुने देखिए पनि अहिले ओली फरक भूमिकामा रहेकाले अन्य विषयको व्यवस्थापन गर्न भने चुनौती छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले प्रधानमन्त्री निवासमा नयाँ पूर्वाधार भने खडा गर्न लागिएको होइन, बरु भएका पूर्वाधारको उपयोग सहज हुने गरी गर्ने तयारी भइरहेको हो ।

कोभिड १९ को संक्रमण फैलिएपछि चीनका विभिन्न स्थानमा स्वयंसेवक सक्रिय रहेको नागरिक दैनिकमा समाचार छ । उनीहरुको मुख्य काम बसोवास क्षेत्रबाट बाहिर जाने तथा भित्र पस्ने स्थानीयको परिचयपत्र जाँच्ने, अनावश्यक व्यक्तिलाई त्यस्ता ठाउँमा पस्न नदिने, शरीरको तापक्रम नाप्ने, मास्क लगाउन भन्ने, बाहिरबाट घरमा गएपछि साबुनपानीले हात धुन सम्झाउने, भिडभाडमा नजान र वृद्धवृद्धा तथा बालबच्चाको ख्याल गर्ने सल्लाह दिने हो। कोभिड १९ संक्रमण बढेपछि डेढ महिनादेखि यस्ता स्वयंसेवक चीनमा लाखौंको संख्यामा सक्रिय छन्। यसरी जनचेतना फैल्याउने स्वयंसेवकमध्ये एकजना नेपाली विद्यार्थी यति बेला चीनमा चर्चित बनेका छन्। चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा एक महिनादेखि भक्तपुरका सन्देश देउजा स्थानीयलाई सचेत गराउन सक्रिय छन्। सन्देशको बसोबास डेढ महिनादेखि क्वाङ्सीमै छ। क्वाङ्सी प्रान्त हुपेईजस्तो पूरै बन्द नभए पनि त्यहाँबाट हवाईजहाज अथवा रेलमा चढेर शाङहाई जाँदा कोरोना संक्रमण हुने ठानेर सन्देश त्यहीं साथीको घरमा बस्न थाले। एक दिन दुई दिन गर्दागर्दै उनको बसाइ डेढ महिना लम्बिसकेको छ। केही दिन यत्तिकै बसेपछि उनी स्वयंसेवामा लागेका हुन्। चीनमा स्वयंसेवा गर्न सजिलो छैन। नाम दर्ता गरेपछि विभिन्न मापदण्ड पूरा गर्नुपर्छ। जो साथीले उनलाई क्वाङ्सी घुम्न बोलाएका थिए ती व्यक्ति चिनियाँ कम्युनिस्ट पार्टीको स्थानीय कमिटीमा आबद्ध रहेकाले उनले स्वयंसेवा गर्न सन्देशलाई पार्टीमा सिफारिस गरिदिए। त्यसपछि सन्देश सडकमा रमाउन थालेका हुन्। मास्क लगाएकाले स्थानीय चिनियाँले उनलाई तुरुन्तै विदेशी हो भनेर चिन्दैनन्। सन्देश राम्रोसँग चिनियाँ बोल्न सक्छन्।

सशस्त्र प्रहरीले पूर्वगृहमन्त्रीको हैसियतमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको आफ्नो ‘फोर्स’ फिर्ता लगेको नयाँ पत्रिका दैनिकमा समाचार छ । बालुवाटारस्थित ललितानिवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि सशस्त्रको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता भएका हुन् । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले हाल गच्छदारको सुरक्षामा सुरक्षाकर्मी नखटिएको पुष्टि गरे । भ्रष्टाचार मुद्दा दायर भएकाले नै उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालय स्रोतले बतायो । पिएसओका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन उनलाई म्याद जारी गरिसकेको छ । तर, उनी अदालतमा उपस्थित भएका छैनन् । ०६६ मा गच्छदार भौतिक योजनामन्त्री थिए । उनले नै प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । सोही प्रस्तावका आधारमा ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो । अन्य पूर्वगृहमन्त्रीहरूले समेत कार्यविधिविपरीत ठूलो संख्यामा सुरक्षाकर्मी र गाडीको दुरुपयोग गर्दै आएका छन् । विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा गृहमन्त्रीबाट हटेको दुई वर्षसम्म मात्र यस्तो सुविधा पाउने उल्लेख छ ।

मंगलबार बिहान ११ बजे। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा गुनासो आयो– ‘हेलो सरकार ! अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । तीन दिनदेखि ग्यास लिन सबै पसल चहारें। तर कतै पाइनँ। एक थान सिलिन्डर मिलाइदिनुपर्‍यो।’ यो कीर्तिपुरका सुरेश महर्जनको गुनासो थियो। महर्जनको कुरा नटुंगिँदै अर्का एक सर्वसाधारण लाइनमा आइसकेका थिए। विभागका शाखा अधिकृत दीपक पोखरेलले महर्जनसँग स्थानीय क्षेत्रमा कुनकुन कम्पनीको ग्यासको डिपो छ र उपलब्धताका विषयमा ग्यास उद्योगसँग आवश्यक पहल गरिने जवाफ मात्रै फर्काउन पाए। ‘हेलो विभाग ! म भक्तपुरबाट सोनम मगर बोलेको। यहाँ ग्यास र मास्क पाइएन। ग्यास नपाए मेरा बालबच्चा र जहान भोकै बस्नेछन्।’ पोखरेलले मगरसँग भने, ‘मगरजी तपाईंको गुनासो मैले टिपें। सरोकारवाला निकायसँग सहकार्य गरी सकेसम्म तपाईंलाई ग्यास उपलब्ध गराउन प्रयास गर्छौं।’ लगत्तै लाइनमा आइपुगेका अर्का सर्वसाधारण झापाका उमेश कार्कीले पनि त्यस्तै गुनासो तेर्साए। ‘सर हाम्रोतिर मास्क र ग्यासको चरम अभाव भयो। किन्न पाइएन। हुनेखानेले पहुँचको भरमा ३–४ वटा सिलिन्डर पाए। जसरी पनि एउटा सिलिन्डर उपलब्ध गराइदिनुपर्‍यो,’ कार्कीले भने। कार्कीलाई पनि पोखरेलले ग्यास उपलब्ध गराउन सकेसम्म प्रयास गर्ने बाचा गरे। लगत्तै अर्को फोन उठाए। काठमाडौं बागबजारकी राधिका तामाङले ग्यास नपाएर कठिन भएको गुनासो गरिन्। हटलाइनमा एक घण्टामै करिब डेढ सय संख्यामा गुनासा आउँछन्। कतिपयको गुनासो टिप्नै नभ्याउने पोखरेलले बताए। गुनासो केलाएर काठमाडौंमा सकेसम्म अनुगमन टोली पठाउने गरिएको छ। विभागले बाहिर भने स्थानीय प्रशासनसँग समन्वय गरी जानकारी गराउँदै आएको छ। कोरोना भाइरसको सन्त्रासका कारण उपभोक्ताले दैनिक उपभोग्य वस्तु सञ्चित गर्न थालेपछि हटलाइन व्यस्त छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू