चार जलविद्युत् आयोजना साधारण सेयर जारी गर्दै

काठमाडौंं, १ मंसिर : नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण सेयर जारी गर्ने तयारी गरेका छन् ।

Share

माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण सेयरजारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् ।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा हेर्दा साञ्जेन जलविद्युत् आयोजनाले सीमित साधारण सेयरजारी गर्ने तयारी गरेको छ । सो आयोजनाले ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

उक्त कम्पनीले माथिल्लो साञ्जेन र साञ्जेन गरी दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कूल क्षमता ५७.३ मेगावाट रहेको छ । सो कम्पनीको साधारण सेयर नागरिक लगानी कोषमार्फत बिक्री गरिनेछ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि आगामी एक महिनाभित्र सीमित साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै सो आयोजनाले सीमित साधारण सेयर जारी गर्ने छ । कूल १११ मेगावाट क्षमताको सो आयोजनाले साधारण शेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत वैशाख १३ गते नै आवेदन दिइसकेको छ ।

आयोजनाका प्रमुख माधव कोइरालाकाअनुसार साधारण सेयर जारी गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको छ । पहिलोचरणमा बिक्री गर्न लागिएको शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीले खरिद गर्न पाउने व्यवस्था छ ।

सेयर संरचनाअनुसार कोषका पाँच लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर बिक्री गरिनेछ । पहिलो चरणमा एक अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन गरिनेछ ।

यस्तै आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर बिक्री गर्ने गरी तयारी गरिएको छ । कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण सेयर बिक्री गर्नेछ ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पनि आगामी माघको पहिलो साता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

आयोजनाले सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयरबिक्री गर्ने तयारी गरेको छ ।

आम नेपालीका लागि कूल सेयरको १५ प्रतिशत, आयोजना प्रभावित दोलखाका जनताका लागि छुट्याइएको १० प्रतिशत साधारण सेयर समेत आगामी माघमा नै बिक्री गरिनेछ । स्थानीयवासीले दोलखाका सहकारी संस्थामार्फत पनि शेयर खरिद गर्न सक्नेछन् ।

आयोजनाले प्रभावितका लागि जारी पुँजीको १० प्रतिशत अर्थात एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर बिक्री गर्नेछ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ । आगामी आइतबार सुरुङसमेत ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशतको हाराहारीमा पुग्ने बताइएको छ ।

आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीमध्ये भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पनि दुई अर्ब ९४ करोड बराबरको साधारण सेयर जारी गर्ने तयारीलाई अन्तिमचरणमा पुर्‍याएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि एक अर्ब १७ करोड बराबरको एक करोड सत्र लाख कित्ता शेयर, संस्थापक सेयर धनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता सेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरिएको छ ।

दोस्रोचरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका लागि ६० करोड बराबरको साठी लाख कित्ता साधारण सेयर जारी गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल