किन एक्लिए बाबुराम ?: भट्टराईको राजनीतिक उतारचढाव, अबको विकल्प के ?

विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

7

अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् । शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन् । ०४० सालदेखि भट्टराईका हरेक ‘स्टेप’ मा साथ दिँदै आएका नेता देवेन्द्र पौडेललगायतले ‘सम्बन्धविच्छेद’ को अन्तिम तयारी गर्दै छन् ।

भट्टराईले ०७० को चैतदेखि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका विषयमा बहस चलाउँदै ‘नयाँ शक्ति निर्माण’ को नेतृत्व लिने प्रयास गरेका थिए । तीन दशक बढी समय कम्युनिस्ट पार्टीमा बिताएका उनले ०७२ असोज ९ देखि भने ‘आफैंले योगदान गरेको कम्युनिस्ट पार्टीसँग डिभोर्स’ गर्दै ‘औपचारिक’ रूपमै नयाँ राजनीतिक कोर्स सुरु गरेका थिए ।

तर, उनले बनाउन खोजेजस्तो नयाँ शक्ति दुई वर्षको यो अन्तरालमा बन्न नसकेपछि अहिले उनलाई साथ दिन पुगेका नेता नै धमाधम पार्टीबाट बाहिरन थालेका छन् । उनलाई पार्टी निर्माण अभियानमा सहयोग गर्ने हस्तीहरू देवेन्द्र्र पौडेल, रामचन्द्र झा टाढिएका छन् । रामेश्वर खनाल, मुमाराम खनाललगायत नेता पहिल्यै उनीबाट अलग भइसकेका छन् ।

वैचारिक अस्पष्टता
भट्टराई पार्टी निर्माणको अभियानदेखि नै दुई धारको चेपुवामा परे । माओवादी पृष्ठभूमिबाट गएका नेताहरूका माक्र्सवादी रुझान र गैर-माक्र्सवादी र ब्युरोक्रेसीबाट राजनीति सुरु गर्न खोजेका शक्तिको फरक धारबीचको चेपुवामा भट्टराई सधैँभरि परिरहे ।

त्यसलगत्तै उनले भनिदिए, ‘नयाँ शक्ति कुनै वाद र दर्शनमा आधारित हुने छैन । तर, उनलाई पार्टी निर्माण क्रममा सधैंभरि यही विषयले पिरोलिरह्यो । माओवादी पृष्ठभूमिका नेताले आफूहरूलाई उपेक्षा गरेको तथा ब्युरोक्रेसीबाट आएका अन्यले पार्टीको विभागदेखि अन्य महत्वपूर्ण जिम्मेवारीमा पूर्व माओवादीलाई हाबी गराएको आरोप लागिरह्यो ।
त्यसैलाई चिर्न नसक्नु भट्टराईको मुख्य कमजोरी रहन पुगेको प्राध्यापक कृष्ण खनाल बताउँछन् ।

पछिल्लो झगडाको बीउ
वैचारिक-राजनीतिक विषयमा भट्टराईको विद्वतामाथि ‘अति विश्वासपात्र’ मानिएकै देवेन्द्र पौडेललगायत नेताले प्रश्न उठाए । पार्टीको विचार, कार्यदिशा र नेतृत्वमा अलमलमा रहेको प्रश्न पौडेलले उठाएपछि अहिले भट्टराईले पौडेललगायत १५ जनालाई २४ घन्टे प्रस्टीकरण सोधेका छन् । शुक्रबार भट्टराईले यस विषयमा प्रस्ट्याउन पौडेललगायत नेतालाई स्पष्टीकरण सोधेका हुन् ।

पौडेलले भने बिहीबार नै नेता वामदेव क्षत्रीलाई साथमा लिएर भट्टराईसँग आफूहरूले नयाँ राजनीतिक बहस सुरु गर्न लागेको जानकारी दिएका थिए । पौडेल पक्षले आफूहरूलाई कारबाही गरे नयाँ कोर्स सुरु गर्न सजिलो हुने ठानेर २६ साउनमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

स्थानीय तह निर्वाचनको परिणाम पार्टीको पक्षमा अनपेक्षित आएपछि पौडेल समूह बृहत् राजनीतिक धु्रवीकरणको पक्षमा उभिएको थियो । यसलाई भट्टराईले सुरुमै नकारात्मक रूपमा लिइदिएपछि पौडेलले नयाँ कदम चाल्न लागेको उनको समूहमा अहिले रहेका एक नेताले अन्नपूर्णसँग भने ।

अबको विकल्प ?
‘जातिवाद र माओवादका दुवै अतिवादी चिन्तन लाखापाखा लागेपछि उहाँले आफूलाई नयाँ ढंगले सोचेर वैकल्पिक शक्तिका रूपमा नयाँ ढंगले नेतृत्व गर्ने सम्भावना एउटा देखिन्छ’, खनाल थप्छन्, ‘त्यो भनेको भट्टराईले नयाँ शक्ति, अहिले आएको विवेकशील साझा पार्टीसम्मको एकीकृत नेतृत्व गर्न सक्छन् ।’

भट्टराईका लागि दोस्रो विकल्प भनेको उनी अहिलेको मूल राजनीतिक शक्तिमै फर्कने विकल्प हो । ‘भट्टराई फेरि पनि अहिले रहेकै मूल स्टेपमा रहेको राजनीतिक शक्तिसँगको सहकार्यमा जान सक्छन्, यो पनि एउटा विकल्प छ,’ खनाल भन्छन्, ‘त्यो विकल्पमा जाँदा उनलाई सबैभन्दा सहज भनेकै माओवादीमै फर्कने हुन्छ ।’

तेस्रो विकल्प भनेको भट्टराई स्वतन्त्र भएरै बस्ने हो । उनी एकेडेमिक रूपमा अध्ययन÷अध्यापन गराएर बस्न सक्छन् । ‘यी तीन विकल्प मात्रै भट्टराईसँग बाँकी हुनेछन्,’ खनालले भने ।

भट्टराईको राजनीतिक उतारचढाव

– चैत, ०७० मा नयाँ शक्ति निर्माणको बहस प्रारम्भ
– ३ असोज ०७२ मा संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी र संसद् सदस्य पद त्याग ।
– ६ र ७ असोज, ०७२ मा नयाँ शक्ति निर्माण अभियानमा संलग्न हुन चाहने पूर्वएमाओवादीको राष्ट्रिय भेला आह्वान ।
– १० माघ ०७२ मा नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् घोषणा ।
– ३० जेठ ०७३ मा काठमाडौंको रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा ।

ध्रुवीकरण र एकता

– गंगा चौधरी सत्गौवा नेतृत्वको थरुहट तराई पार्टीसँगको एकता
– देवी ओझा नेतृत्वको लोकतान्त्रिक मञ्चसँगको एकता
– प्रकाश विकल्प नेतृत्वको युवा सुशासन अभियानसँगको एकता
– सुनील खड्का नेतृत्वको मातृभूमिका लागि युवा अभियानसँगको एकता
– दानबहादुर चौधरी नेतृत्वको लोकतान्त्रिक फोरमको समूहसँग एकता
– भीमबहादुर कडायत नेतृत्वको माओवादी केन्द्रको समूहसँग एकता
– प्रगतिशील रूपान्तरण समूहसँगको एकता

भट्टराईसँगको सम्बन्धविच्छेदको शृंखला

– मुमाराम खनालको सम्बन्धविच्छेद
– रामेश्वर खनालको सम्बन्धविच्छेद
– रामचन्द्र झा, रामकुमार शर्मासँगको सम्बन्धविच्छेद
– देवेन्द्र पौडेललगायत पूर्वमाओवादीसँग सम्बन्धविच्छेदको तयारी

राजनीतिक मोड
१ वैशाख ०३५ मा बाबुरामले राजनीतिमा समर्पित गर्दै नयाँ मान्यताको प्रादुर्भाव गर्ने गरी जीवनको लक्ष्य बनाएका थिए ।
०३७ सालमा राजु नेपालीमार्फत कम्युनिस्ट सदस्यता लिएका ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा