आजसम्म प्रचारप्रसार गर्न पाइने : शीर्ष नेता अन्तिम चुनावी सभामा

स्थानीय तहको दोस्रो चरणको चुनावी प्रचार उत्कर्षतिर पुगेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपालगायतका पार्टीका नेताहरू १४ असारमा निर्वाचन हुने ३४ जिल्लाका कुनै न कुनै अन्तिम चुनावी आमसभालाई सम्बोधन गर्न दौडधुपमा छन् । निर्वाचन आयोगको आचारसंहिताअनुसार राजनीतिक दलका नेताहरूले आइतबार (आज) सम्म मात्रै अन्तिम चुनावी प्रचारप्रसार गर्न पाउने भएका कारण अधिकांश शीर्ष नेता अन्तिम चुनावी सभामा सक्रिय देखिएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एकैदिन दुई जिल्लाका चुनावी दौडाहमा व्यस्त रहे । शुक्रबार कैलाली पुगेका देउवाले शनिबार कञ्चनपुरका छुट्टाछुट्टै तीनवटा आमसभालाई सम्बोधन गरेका छन् । दिउँसो बेलडाँडी, बेलौरी र पुनर्वासको आमसभालाई सम्बोधन गरेका देउवा अपराह्न डडेल्धुराको पर्शुराम नगरपालिकाको सभामा सहभागी भए । त्यसपछि बेलुकी कार्यकर्ता भेटघाटमा व्यस्त बने । आइतबारै उनले डडेल्धुरा सदरमुकाममा सम्बोधन गर्नुका साथै अन्य आमसभामा पनि सहभागिता जनाउँदै छन् ।

पौडेल ५ नम्बर प्रदेशमा सक्रिय
० कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार दाङको राप्ती र लमही नगरपालिका तथा बाँकेको नेपालगन्ज र कोहलपुर नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गरेका छन् । आइतबार उनले बुटवल, भैरहवा र नवलपरासीको बर्दघाटको चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

० कांग्रेस नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. रामशरण महतलगायतका नेताहरू प्रदेश नम्बर १ को विभिन्न चुनावी आमसभामा सक्रिय छन् । त्यस्तै, युवानेता गगन थापा, प्रदीप पौडेललगायत सुदूरपश्चिमका चुनावी सभामा छन् ।

एमाले नेताहरू एकैदिन दर्जन सभामा 
एमाले शीर्ष नेताहरूले शनिबार एकैदिन दर्जन चुनावी आमसभालाई सम्बोधन गरेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल प्रदेश नम्बर १ तथा नेता माधवकुमार नेपाल प्रदेश नम्बर ७ को चुनावी आमसभामा व्यस्त बने ।

० अध्यक्ष ओलीले विराटगर महानगरपालिकासहित मोरङको उर्लाबारी नगरपालिका, पथरी र बेलबारी नगर तथा इटहरी उपमहानगरपालिकाका छुट्टाछुट्टै आमसभालाई सम्बोधन गरेका छन् ।

नेपाल पूर्व र सुदूरपश्चिम दुवैतिर सक्रिय
० वरिष्ठ नेता माधवकुमार नेपालले शनिबारै कञ्चनपुरका तीनवटा चुनावी आमसभालाई सम्बोधन गरेका छन् । भीमदत्त र वेदकोट नगरपालिका तथा बेलडाँडी नगरपालिकाका छुट्टाछुट्टै चुनावी आमसभालाई उनले सम्बोधन गरे ।

० नेता नेपाल आइतबार प्रदेश नम्बर १ को धरान उपमहानगरपालिका, मोरङको सुन्दरपुरहरैचा नगरपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्न कञ्चनपुरबाट त्यहाँ पुग्ने उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।

० एमाले उपाध्यक्ष वामदेव गौतम बाँकेको खजुरा नगर तथा उपमहासचिव विष्णु पौडेलले बुटवल उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेका छन् । महासचिव ईश्वर पोखरेलसहित सबै स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय तहका नेताहरू तीनवटै प्रदेशका अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा जिल्ला दौडाहमा छन् ।

माओवादी केन्द्र
दुई दिन सुदूरपश्चिममा बिताएर प्रचण्ड काठमाडौंमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबारबाट चुनावी सभालाई सम्बोधन गर्न जिल्ला दौडाहामा निस्केका थिए । पूर्वको उदयपुर हुँदै उनी बिहीबार मध्यपश्चिमको बाँके, बर्दियालगायतका जिल्ला पुगेका थिए । शुक्रबार सुदूरपश्चिमको कैलाली, कञ्चनपुरलगायतका जिल्लाका चुनावी सभामा सहभागी भएर शनिबार बिहान काठमाडौं आइपुगेका छन् । आइतबार प्रचण्ड खोटाङ र भोजपुरका चुनावी सभालाई सम्बोधन गर्न निस्कँदै छन् । आइतबार प्रचण्ड खोटाङमा दुईवटा चुनावी सभा र भोजपुरको एउटा चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।

रामबहादुर थापा पूर्वतिरै
माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा नेता रामबहादुर थापा शनिबार दिनभर मोरङका तीनवटा चुनावी सभामा सहभागी भए । पूर्वी मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिकाका चुनावी सभामा सहभागी भए । उनी आइतबार पनि १ नम्बर प्रदेशकै चुनावी सभामा सहभागी हुनेछन् ।

कृष्णबहादुर महरा रोल्पामा
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा गृहजिल्ला रोल्पाको चुनावी सभामा सहभागी भइरहेका छन् । उनी शनिबार त्यसतर्फ गएका हुन् । उनी १४ असारमा हुने निर्वाचनमा मत हालेर मात्र काठमाडौं फर्किनेछन् ।

दाङमा व्यस्त वर्षमान पुन 
माओवादी केन्द्रका ५ नम्बर प्रदेशका इन्चार्ज हुन् वर्षमान पुन अनन्त । उनी समग्र प्रदेशकै कार्यक्रममा सहभागी भइरहेका छन् । केही दिन गृहजिल्ला रोल्पाका चुनावी कार्यक्रममा रहेका पुन शुक्रबार र शनिबार दिनभर दाङको चुनावी कार्यक्रममा सहभागी भए । उनले शुक्रबार दाङका १० वटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

गृहमन्त्री जनार्दन शर्मा पनि दाङमै
गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि जिल्लाका कार्यक्रमहरूमा सहभागी छन् । उनी शनिबार दाङतर्फ लागेका छन् । आइतबार उनी दाङका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उपेन्द्र यादव
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव केही दिनदेखि मोरङमा सक्रियतापूर्वक चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् । विराटनगर महानगरपालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेलमा संघीय समाजवादी फोरमले मेयर पाएको छ । विराटनगरमा कांग्रेस एक्लै र एमाले–लोकतान्त्रिक फोरमको गठबन्धन मैदानमा छ । निर्वाचन अवधिभर यादव मोरङमै रहने उनका सहयोगीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने