उपत्यकाका विद्युतीय संरचना भूमिगत गरिँदै

९ असार, काठमाडौं । काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बिगार्ने प्रमुख कारकका रुपमा रहेका विद्युतीय संरचना क्रमशः भूमिगत हुने भएका छन् ।

सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ सो कार्ययोजना अगाडि बढाएको हो ।

संसारका धेरै जसो देशमा विद्युत् वितरण प्रणाली भूमिगत नै राखिएको छ । दुर्घटना कम गर्न र सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ लामो समयदेखि चर्चा भए पनि काम अगाडि बढ्न नसकेको सन्दर्भमा पछिल्लो पटक ऊर्जा मन्त्रालयले पाइलट प्रोजेक्टका महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको विद्युतीय संरचना भूमिगत गर्न लागेको हो ।

एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विद्युत् प्रसारण वितरण कार्यदक्षता अभिवृद्धि आयोजनाअन्तगर्त विद्युत् प्रणाली भूमिगत गर्न लागेको हो । काठमाडौँ उपत्यकाभित्र महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको ११ केभी र ४०० भोल्ट विद्युतीय संरचना भूमिगत गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

 

यस्तै एसियाली पूर्वाधार लगानी बैंकले समेत काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एसियाली पूर्वाधार लगानी बैंकले सो परियोजनामा रु १० अर्ब लगानी गर्ने प्रतिवद्धता जनाएका छन । विगत दुई दशकदेखि काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली सुधार हुननसक्दा प्राविधिक चुहावट बढेको, दुर्घटना तथा अन्य जोखिम बढेको र सहरी सौन्दर्यमा समेत समस्या उत्पन्न भएपछि सरकारले दातृ निकायको सहयोगमा विद्युत् वितरण प्रणालीमा सुधार गर्ने कार्ययोजना अगाडि बढाएको हो ।

विद्युतीय संरचना भूमिगत गर्नेलगायत क्षमता वृद्धि गर्ने कार्य समन्वयात्मक रुपमा अगाडि बढाउन गत वैशाख ३ गते नै तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आवश्यक निर्णय गरेका थिए । मन्त्रिस्तरीय निर्णयका आधारमा ऊर्जा सचिव अनुपराज उपाध्यायको अध्यक्षतामा यही असार ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले विद्युतीय संरचना भूमिगत गर्न समन्वय समिति गठन गरेको छ ।

सो समितिमा राष्ट्रिय योजना आयोग, सहरी विकास मन्त्रालय, गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा सञ्चार, खानेपानी तथा सरसफाइ, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि रहनेछन् । सो समितिले वितरण प्रणाली सुदृढीकरण तथा विद्युतीय संरचना भूमिगत गर्न सडक खन्ने कार्य, भूमिगत कार्य सम्पन्न भएपछि सडकको मर्मत तथा कालोपत्र गर्ने कार्य सम्बन्धित आयोजनाले सडकको प्रचलित मापदण्ड बमोजिम गराउने र सो कार्यको प्राविधिक समन्वयको लागि सम्बन्धित निकाय संलग्न रहने गरी एक उपसमिति गठन गर्ने निर्णय भएको ऊर्जा मन्त्रालयका सहप्रवक्ता सागरराज गौतमले जानकारी दिए ।

सहप्रवक्ता गौतमले काठमाडौँको सहरी सौन्दर्य बढाउन, दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढेको जानकारी दिँदै विद्युतीय संरचना भूमिगत गर्ने कार्य जटिल भए पनि समयको आवश्यकता रहेको बताए ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सबै प्राविधिक प्रक्रिया पूरा गरेर आगामी एक वर्षभित्र विद्युतीय संरचना भूमिगत गर्ने कार्य प्रारम्भ हुने बताए । भारतमा सरकारी स्वामित्वको पावर ग्रिड कर्पोरेसनले पछिल्लो समय विद्युतीय संरचना भूमिगत गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाएको छ । चीन, अमेरिकालगायतका देशमा समेत विद्युतीय प्रसारण तथा वितरण प्रणाली भूमिगत गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा