काठमाडौँ, वैशाख । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् । उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पुर्याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरीदिएको थियो ।
राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुँवेत लैजाने तयारी गरेको थियो । केन्यामा नेपालीलाई ‘अन अराईभल भिसा’ अर्थात् जाने बित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरु भारतीय विमानस्थलमा ‘सेटिङ’ मिलाएर गएको अनुसन्धानको क्रममा खुलेको छ ।
फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो ।
उनीहरुलाई मनोसामाजिक परामर्शका लागि माइती नेपालमा पठाइएको र लैजाने गिरोहबारे समेत अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– मङ्गलबार १२ जना र बुधबार थप ३२ जना महिला दुबईबाट फिर्ता भएका छन् । उनीहरु सबै तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको पाइयो ।
यसरी फिर्ता हुनेमा कञ्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका रहेका छन् । केही महिला त चार महिनासम्म दिल्लीमा बसेर दुबई लगिएको भेटिएको छ ।
प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो(सिआइबी)ले समेत यो घटनाबारे अनुसन्धान सुरु गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले सो घटनाबारे ब्युरोले अनुसन्धान सुरु गरेको र यसमा संलग्न गिरोहको छिट्टै पहिचान हुने बताउनुभयो ।
दुबईबाट दिल्ली फिर्ता गरिएका एअर इन्डियाको दिल्ली उडानबाट काठमाडौँ आइपुगेका हुन् । विभागका महानिर्देशक गेलालले यस घटनाबाट भारत हुँदै अवैधरुपमा खाडीमा पठाउने ठूलो गिरोह सक्रिय रहेको खुलेकाले त्यसलाई रोक्न मन्त्रालयमार्फत कूटनीतिक ढङ्गले भारत सरकारसँग कुरा गर्नुपर्ने आवश्यकता देखिएको टिप्पणी गर्नुभयो ।
फर्किएकाले दिएको प्रारम्भिक बयानमा आफूहरु घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् । भारतबाट जाँदा उनीहरु अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका थिए ।
यसअघि उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै अवैधरुपमा खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।