आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

blog

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । कोषका अनुसार बालाजु ग्रुप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँहरू आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आउनुभएको छ ।

मृतक मेट्रु र न्यौपाने कम्पनीमा काम गर्ने र तलब पनि मासिक एक लाखभन्दा बढी पाउने भएकाले आश्रित परिवार योजना अन्तर्गत मृतकका श्रीमतीहरूले ६० प्रतिशत र सन्ततिले शैक्षिकवृत्ति अन्तर्गत ४० प्रतिशत निवृत्तिभरणको सुविधा प्राप्त गर्नुभएको छ ।

सामाजिक सुरक्षा ऐन अनुसार मृतक मेट्रु र न्यौपाने कार्यरत कम्पनीमा काम गरेबापत प्राप्त गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतबाट दुवैका श्रीमतीले मासिक ५९ हजार ७७५ रुपियाँ निवृत्तिभरण आजीवन प्राप्त गर्नुहुने छ ।

यसै गरी उहाँहरूका सन्ततिले शैक्षिक वृत्ति अन्तर्गत अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुग्दासम्म प्राप्त गर्नुहुन्छ । मृतक मेट्रु र न्यौपानेका सन्ततिले २१ वर्ष नहुँदासम्म मासिक ३९ हजार ८५० रुपियाँ प्राप्त गर्नुहुने छ । कानुन अनुसार योगदाकर्ताको श्रीमतीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा पाइँदैन । यस किसिमको सुविधा अविवाहितका हकमा मृतकका बुवाआमाले आजीवन पाउँछन् । योगदानकर्ताको अन्तिम संस्कार खर्च पाउने व्यवस्था छ । यस्तै मृतक विवाहित नभएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने ऐनमा व्यवस्था छ । मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुस्ट २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ ।

आश्रित परिवार सुरक्षा योजनाको यो सुविधा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएर विभिन्न रोग वा दुर्घटनामा परी मृत्यु भएका परिवारले मात्रै प्राप्त गर्छन् । कोषमा आबद्ध भएका औपचारिक क्षेत्रमा कार्यरत श्रमिकका परिवारले मात्रै यो सुविधा पाउँछन् । कोषका अनुसार आश्रित परिवार योजना अन्तर्गत हालसम्म झन्डै १० करोड ९६ लाख ४१ रुपियाँ निवृत्तिभरणका रूपमा गएको छ ।

कोषका सहप्रवक्ता रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै बेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ता आश्रित परिवारलाई मासिक चार हजारदेखि एक लाख रुपियाँसम्म निवृत्तिवरण वितरण गर्न सुरु गरिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक सुरक्षा ऐन अनुसार कोषको योजनामा योगदान गरिरहेकै अवस्थामा योगदानकर्ताको मृत्यु भएमा निजका आश्रित परिवारले मृतक योगदानकर्ताले प्राप्त गर्ने मासिक तलबको ६० प्रतिशत आश्रित परिवारलाई निवृत्तिभरणको व्यवस्था छ ।

योगदानकर्ताको मृत्यु भएको अवस्था निजका सन्तति २१ वर्ष उमेर नभएसम्म सन्ततिले शैक्षिक वृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा प्राप्त गर्ने सोही ऐनमा व्यवस्था छ । यस प्रकारको सुविधा दुई सन्ततिले दामासाही रूपमा प्राप्त गर्न सक्ने व्यवस्था छ । कोषका अनुसार आजीवन निवृत्तिभरणको सुविधा पाउने परिवारको सङ्ख्या ४१४ पुुगेको छ । निवृत्तिभरणबापत कोषले मासिक झन्डै ५० लाख रुपियाँ खर्च गर्दै आएको जनाएको छ ।

कोषका अनुसार हाल १८ हजार ४३९ रोजगारदाता र नौ लाख २८ हजार ४५३ योगदानकर्ता कोषमा आबद्ध भएका छन् । जसमा औपचारिकतर्फ चार लाख ६१ हजार ७९६ जना रहेका छन् भने वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६२२ रहेका छन् । यसै गरी स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आबद्ध भएका छन् । सो अवधिसम्म कोषमा ५१ अर्ब २९ करोड रुपियाँ सङ्कलन भएको छ । कोषबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड, ९६ लाख रहेको छ । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम १० करोड ९६ लाख रहेको कोषले जनाएको छ ।

नेपालको संविधानको भाग ३ धारा ३४ (२) ले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको प्रत्याभूत गरेबमोजिम सो हकलाई स्थापित गर्न श्रम ऐन, २०७४ आएको हो ।

यसै गरी संविधान र श्रम ऐन २०७४ ले गरेको व्यवस्था कार्यान्वयनका लागि मिति २०७४ साउन २९ गते योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको हो ।

यसै ऐनको आधारमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ स्वीकृत भई २०७५ कात्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित भएपछि २०७५ मङ्सिर ६ देखि सूचीकरणको कार्य सुरु भएको हो । २०७५ मङ्सिर ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट औपचारिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आरम्भ भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक