छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त

नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘ग्लोबल स्याडो इकोनोमी रिपोर्ट–२०२५’ अनुसार नेपाल विश्वकै तेस्रो ठूलो छाया अर्थतन्त्र भएको मुलुकमा परेको छ । प्रतिवेदनले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५१ प्रतिशत हिस्सा अनौपचारिक तथा करको दायराबाहिर रहेको अर्थतन्त्रले ओगटेको उल्लेख गरेको छ ।

विश्वमा सबैभन्दा ठूलो छाया अर्थतन्त्र भएको मुलुक सियरा लियोन (६५ प्रतिशत) रहेको छ भने दोस्रो स्थानमा नाइजर (५६ प्रतिशत) र तेस्रो स्थानमा नेपाल रहेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियाली मुलुकहरूमध्ये पनि नेपालको अवस्था अत्यन्तै चिन्ताजनक देखिएको छ । छिमेकी भारतमा यस्तो अर्थतन्त्र २६ प्रतिशत र पाकिस्तानमा ३५ प्रतिशत मात्रै रहेको तथ्यांकले नेपालको जोखिम अझ स्पष्ट बनाएको छ ।

अर्थविद्हरूका अनुसार नेपालमा हुन्डीमार्फत भित्रिने विप्रेषण, भन्सारमा हुने न्यून बिजकीकरण (Under-Invoicing), इन्धन तथा सुन तस्करी, नगदमुखी कारोबार, कर छलि, दर्ताबिनाका व्यवसाय तथा कमजोर प्रशासनिक निगरानीले छाया अर्थतन्त्रलाई निरन्तर विस्तार गरिरहेको छ । यसको प्रत्यक्ष असर राज्यको राजस्व संकलन, सार्वजनिक सेवा, विकास निर्माण तथा आर्थिक नीतिमाथि परेको छ ।

पूर्वसहसचिव रविसिंह सैंन्जुका अनुसार अमेरिका–इरान तनाव, राजनीतिक अस्थिरता तथा कमजोर सुशासनका कारण नेपालमा औपचारिक अर्थतन्त्र खुम्चिँदै गएको छ भने अनौपचारिक कारोबार झन् बलियो बन्दै गएको छ । आईएमएफले सन् २०२६ सम्म नेपालको आर्थिक वृद्धिदर २.३ देखि २.७ प्रतिशतसम्म झर्न सक्ने प्रक्षेपण गरिरहेका बेला छाया अर्थतन्त्र विस्तार हुनु झन् गम्भीर संकेत भएको उनी बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले पछिल्ला ११ वर्षमा नेपालको अनौपचारिक अर्थतन्त्र औसत ४२.६६ प्रतिशत पुगेको उल्लेख गरेको थियो । नेपाल श्रमशक्ति सर्वेक्षण–२०१७ अनुसार ६२.२ प्रतिशत श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन् भने ८४.६ प्रतिशत रोजगारी अनौपचारिक प्रकृतिको छ । यस्तै, निजी क्षेत्रका झण्डै आधा प्रतिष्ठान अझै दर्ताबाहिर रहेको तथ्यांकले अर्थतन्त्रको संरचनात्मक कमजोरी उजागर गरेको छ ।

अर्थशास्त्री डा. रेशम थापाका अनुसार नेपालको अनौपचारिक अर्थतन्त्रलाई ३० प्रतिशतभन्दा तल झार्न सकियो भने त्यो ठूलो उपलब्धि हुनेछ । उनका अनुसार डिजिटल कारोबार विस्तार, बैंकिङ च्यानलको अनिवार्य प्रयोग, प्यान प्रणालीको प्रभावकारी कार्यान्वयन, भन्सार प्रशासनमा कडाइ तथा आर्थिक कारोबारको पारदर्शी अभिलेखीकरण अहिलेको आवश्यकता हो ।

विशेषगरी पछिल्लो समय क्यूआर कोड, मोबाइल बैंकिङ तथा डिजिटल भुक्तानी प्रणालीको विस्तारले अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउने अवसर सिर्जना गरेको विज्ञहरूको भनाइ छ । तर, प्रविधि विस्तार मात्र पर्याप्त नहुने र त्यससँगै प्रशासनिक इमानदारी, राजनीतिक इच्छाशक्ति तथा कडा नियमन आवश्यक पर्ने उनीहरूको तर्क छ ।

यसबीच नेपाल पुनः Financial Action Task Force (FATF) को ‘ग्रे लिस्ट’ मा सूचीकृत भइसकेको सन्दर्भले पनि छाया अर्थतन्त्र र सम्पत्ति शुद्धीकरणको जोखिमलाई अन्तर्राष्ट्रिय चासोको विषय बनाएको छ । घरजग्गा, सुन कारोबार, सहकारी तथा उच्च नगद कारोबार हुने क्षेत्रहरूमा कमजोर निगरानी रहेको टिप्पणी अन्तर्राष्ट्रिय संस्थाहरूले गर्दै आएका छन् ।

अब नेपालले केवल प्रतिवेदन अध्ययन गरेर बस्ने होइन, ठोस सुधारमार्फत अर्थतन्त्रलाई औपचारिकीकरण गर्ने निर्णायक कदम चाल्नुपर्ने देखिएको छ । विज्ञहरूका अनुसार नेपालले आगामी दिनमा पाँच मुख्य भूमिकामा विशेष ध्यान दिन आवश्यक छ :

  • सम्पूर्ण सरकारी तथा निजी आर्थिक कारोबारलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने,

  • हुन्डी तथा अवैध वित्तीय कारोबारमाथि कडा निगरानी र कारबाही गर्ने,

  • भन्सार, कर प्रशासन र बैंकिङ निगरानी प्रणालीलाई प्रविधिमैत्री बनाउने,

  • अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा व्यवसायलाई कानुनी दायरामा ल्याएर सामाजिक सुरक्षा सुनिश्चित गर्ने,

  • तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुनी र संस्थागत सुधार तीव्र बनाउने ।

सरकारले आगामी दशकलाई “रोजगार प्रवर्द्धन दशक” घोषणा गर्दै अर्थतन्त्रलाई औपचारिकीकरण गर्ने नीति लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा ठूलो परीक्षा हुने देखिएको छ ।

विश्लेषकहरूका अनुसार छाया अर्थतन्त्रको नियन्त्रण केवल राजस्व बढाउने विषय मात्र होइन; यो सुशासन, राष्ट्रिय विश्वसनीयता, वैदेशिक लगानी, वित्तीय स्थायित्व तथा दीर्घकालीन आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चुनौती हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा