मेलम्ची बजार वरपर जताततै निराशा, न दिनमा भोक, न रातमा निद्रा

मेलम्ची (सिन्धुपाल्चोक), असार ३० गते । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् ।
मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिनुहुन्छ । उहाँहरूलाई न त दिनमा भोक छ न त रातमा निद्रा । असार १ गते मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची नगरपालिकाको तीन हजार पाँच सय रोपनी धान खेतलाई बगरमा परिणत गरेपछि यहाँका किसानलाई असारको चटारो छैन ।
“चैतमा रोपेको धान भित्र्याएर हिजोआज रोपाइँमा व्यस्त हुने बेला हो यो । अहिले खेतसँगै घर बाढीले पु-यो, लहलह हुन थालेको धान खेत ढुङ्गा र बालुवाले पुरेको छ”, आँगनको डिलमा बसेर मेलम्चीको बाढीले पुरेको खेत हेर्दै ८६ वर्षीय टङ्कप्रसाद दुलालले सुस्केरा हाल्दै भन्नुभयो । उहाँले २०२४ सालमा मेलम्चीमा बाढी आए पनि यस्तो विनाश र दुःख भने नदिएको स्मरण गर्नुभयो ।
आफ्नो जीवनमा पहिलो पटक असार महिनामा समेत चौतारामा बसेर गफ गर्ने समय पाएको र वर्षभरि पालेका गोरु असार साउनमा समेत फुर्सदिला भएको विरह उहाँले सुनाउनुभयो । असार १ मा आएको बाढीले पसाइसकेको धानसहित उहाँको १२ रोपनी खेत बगरमा परिणत गरेको थियो । “एक बालीमै ५० मुरी फल्ने खेत बालुवा र ढुङ्गामुनि होला भनेर कसले पो सोचेको थियो हो र ?” दुलालले भन्नुभयो ।
मेलम्चीकै ठाकुरप्रसाद रिजालको अवस्था पनि यस्तै छ । मध्य असारमा समेत रोपाइँ गर्नु नपर्ला भनेर आफूले सपनामा समेत नसोचेको उहाँले बताउनुभयो । “यो बेला रोपार, बाउसे, गोरु र हली खोज्न व्यस्त रहने हामी यो वर्ष बाढीले पुरेको खेत हेरेर बसिरहेका छाँै”, रिजालले भन्नुभयो ।
व्यावसायिक रूपमा भँैसीपालनसमेत गर्ने रिजाललाई यो वर्ष भैँसीलाई खुवाउने परालको जोहो कसरी गर्ने होला भनेर चिन्ता समेत थपिएको छ । घर पुरिएपछि सामुदायिक भवन र विद्यालय भवनबाट भाडामा कोठा खोजेर विस्तारै दैनिक व्यवस्थित बनाउने प्रयासमा रहेका मेलम्चीका बाढीपीडितलाई जीविकोपार्जनमा भने समस्या परेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताउनुभयो ।
उहाँले असार महिनामा पनि किसान फुर्सदिला हुनु भनेको दीर्घकालीन रूपमा खाद्यान्नलगायतको समस्या देखिन सक्नेतर्फ आफूहरू गम्भीर बनेको बताउनुभयो । “मेलम्चीलाई पुरानै लयमा फर्काउन र अर्काे वर्षासम्म लहलह धान फलाउने खेत बनाउन प्रयास गरिरहेका छाँै”, उपप्रमुख नेपालले नदीलाई पुरानै धारमा फर्काउन १० वटा डोजर र दर्जनौँ टिपर प्रयोग गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट