विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासमा, स्वदेश फर्किने पर्खाइमा

जेठ १०,स्याङ्जा : कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा विदेशी भूमिमा रहेकालाई यतिबेला रोजगारी र अध्ययनभन्दा पनि स्वदेश फर्कने तीव्र इच्छाले सताएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै आन्तरिक एवं बाह्य उडान रोकेपछि विदेशमा रहेका नेपाली आउने सबै बाटा बन्द भएका छन् । 

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द नगर्दो हो त अहिलेसम्म विदेशमा भएका लाखौँ नेपाली स्वदेश भित्रिसकेका हुने थिए, अझै पनि उनीहरु उडान खुल्ने प्रतीक्षामा छन् । कोरोना भाइरस शुरु भएको चीनमा यसको प्रभाव कम हुँदै गए पनि अन्य मुलुकमा भने सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

चापाकोट नगरपालिका–१ घर भइ हाल युकेमा बस्दै आएका विष्णु थापाले लण्डनमा बस्ने नेपालीको अवस्था दयनीय रहेको बताए । दिनदिनै मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि युकेमा रहेका भूतपूर्व गोरखा सैनिक र उनीहरुका परिवार समस्यामा परेको थापा बताउँछन् । थापाका अनुसार युकेमा अधिकांश भूतपूर्व सैनिकका परिवार बसोबास गर्दै आएको र उनीहरु वृद्घवृद्घा भएको आफन्त एवं परिवार नेपालमा भएकाले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ ।

अधिकांश भूतपूर्व गोरखा सैनिकका परिवार वृद्धवृद्धा र त्यसमाथि भाषाको समस्या हुँदा मनलागेको कुरा किनेर खान र बिरामी पर्दासमेत उपचारमा समस्या हुने गरेको थापाले बताए । थापाले टेलिफोनमा भने, “म पनि एक महिनादेखि जागिर छाडेर होम क्वारेन्टिनमा बसेको छु, अहिले बाहिर निस्कने अवस्था छैन, कतिबेला के हुनेहो भन्ने चिन्ताले सताएको छ ।”

युकेको अल्डसटमा बस्दै आएका चितवनका ७७ वर्षीय भोजराज पौडेल र उनकी श्रीमती ६६ विष्णुमाया पौडेल अहिले समस्यामा परेका छन् । बुढेसकालमा विदेशी भूमिमा आफन्त कोही नभएर बेसहारा हुनुपर्दा समस्यामा परेको पौडेल दम्पतीको भनाइ छ । भोजराजले युकेबाट टेलिफोनमा भने, “म बिरामी छु, बूढीले आँखा देख्दिन आफन्त कोही नहुँदा समस्यामा परेकाछौं ।” विष्णुमायाले भनिन्, “के गर्ने छोराछोरीको भविष्यका लागि यहाँ बसेर दुःख गरेका छौँ ।” छोराछोरीको कागजपत्र नमिलेकाले आफूहरु समस्या झेलेरै भए पनि बस्न बाध्य भएको पौडेल दम्पतीको भनाइ छ । 

लण्डनको एक केयर होममा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी शर्मिला राना थापाले शुरु शुरुमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्न आवश्यक सामग्रीको अभावमा काम गर्नु पर्दा निकै डर लागे पनि अहिले भने त्यस्तो नभएको बताइन् ।  शर्मिलाले भनिन्, “स्वास्थ्यकर्मी भएपछि डराएर आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन सुरक्षित भएर काम गर्नुपर्छ । अहिले हामी त्यसै गरिरहेका छौँ ।” शुरु शुरुमा आफूहरुले पनि पिपिइ, मास्कको अभाव झेल्नुपरे पनि अहिले भने त्यस्तो नभएको थापाले बताइन् । 

स्याङ्जा समाज युकेका महासचिव डा बलराम ढकालले लण्डनमा रहेका नेपालीमा परेको समस्या समाधानका लागि स्याङ्जा समाज युकेले सक्दो सहयोग गर्ने बताए । कोरोना रोकथाम र नियन्त्रमा सहयोग पुग्ने भन्दै पिपिइलगायतका स्वास्थ्य सामग्रीसमेत जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई सहयोग गरेको समेत ढकालले बताए ।

कतारको दोहामा रहेका वालिङ नगरपालिका–८ का अजमत अलिले त्यहाँ रहेका धेरै नेपाली कोरोना सङ्क्रमणका कारण प्रभावित भएको बताए । “यहाँ रहेका केही नेपालीको रोजगारीसमेत प्रभावित भएको छ । केही कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्”, स्याङ्जा सहयोग समाज कतारका अध्यक्षसमेत रहेका अलीले भने, “कतार च्यारिटीसँग समन्वय गरेर रोजगारी गुमेर समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छौँ ।” 

जापानमा बसेर पत्रकारिता गर्दै आएका मोहन घलेले कोरोना भाइरसका कारण नेपाली विद्यार्थी र होटल व्यवसाय गर्दै आएका बढी प्रभावित भएको बताए । पत्रकार महासंघ जापानका अध्यक्षसमेत रहेका घलेले भने, “नेपालबाट अध्ययनका लागि जापान आएका विद्यार्थी समस्यामा परेका छन् ।” प्रतिव्यक्ति एक लाख राहत दिने जापान सरकारको घोषणाले धेरै लाई राहात मिलेको घलेको भनाइ छ । नेपालीको बढी रोजगारीको क्षेत्रका रुपमा चिनिएको होटल व्यवसाय बन्द गर्नुपर्दा होटल व्यवसाय गर्दै आएका नेपाली र त्यस क्षेत्रमा काम गर्दै आएका मजदुर प्रभावित भएको घलेको भनाइ छ । 

रोजगारीको सिलसिलामा दुवैमा रहेका वालिङ नगरपालिका–१२ का जनार्दन पराजुलीले दुवैमा रहेका नेपालीको अवस्था दयनीय रहेको र रोजगारी गुमाएका नेपाली जति सक्दो छिटो सरकारको उद्धारको पर्खाइमा रहेको बताए । भारतको चण्डिगढमा रहेका चापाकोट नगरपालिका–१० का हरिप्रसाद भण्डारीले नेपाल सरकारलाई अप्ठेरोमा परेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो नेपाल फर्काउन आग्रह गर्दै आफूहरु सरकारले भनेजति अवधिभर क्वारिन्टिनमा बस्न तयार रहेको बताए । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याउने तयारी गरिरहेकाले केही समय धैर्य गर्न आग्रह गरे पनि विदेशमा रहेका नेपाली भने स्वदेश फर्किन आतुर रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन