नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

काठमाडौँ,मङ्सिर ९ :  नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । 

सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ । 

बैंकले रु २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात, मिर्गौला खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपाटाइसिस, एप्लास्टिक एनीमिया, गम्भीर कोरोनरी धमनी रोग, उच्च रक्तचाप, प्रमुख अङ्ग एवं बोनम्यारो प्रत्यारोपणजस्ता घातक रोगको उपचारार्थ रु तीन लाख बराबरको बीमा गरेको हो । 

ती रोगमध्ये कुनै पनि एक घातक रोग लागेको निवेदनउपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा बीमा रकम तुरुन्त भुक्तानी हुनेछ । बचतकर्ता अन्य कारणले निधन भएमा रु ७५ हजारको बीमाङ्क रकमसमेत सो योजनाले सुरक्षित गरेको छ । घातक रोग लागेर निधन भएमा रु तीन लाख ७५ हजार बरारको सुरक्षण हुनेछ । बैंकले सो आयोजनाअन्तर्गत शनिबारसम्म रु २५ हजार वा सोभन्दा बढी मौज्दात रहेका आफ्ना सम्पूर्ण व्यक्तिगत बचत खातामा आवद्ध भएकाको बीमा गरिसकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । 

व्यक्तिगत बचत खातावालाले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनै पनि महीनाको पहिलो कार्य दिनबाट सो महीनाको मसमान्तसम्म तोकिएको मौज्दात कायम राखी योजनामा सामेल हुन सकिनेछ । ती ग्राहकको हकमा घातक रोग बीमा र मृत्यु बीमा योजनामा सामेल भएको मितिबाट लागू हुने शाहको भनाइ छ । 

उक्त योजनामा १६ वर्षदेखि ६४ वर्षसम्मका नागरिक सहभागी हुनसक्छन् । प्रमुख कार्यकारी अधिकृत शाहले पछिल्लो दिनमा अर्वुद्ध, कलेजो, हृदयघातजस्ता घातक रोग दिनप्रतिदिन बढ्दो क्रममा रहेको र उपचार अत्यन्त महङ्गो रहेका कारण केही सहजताका लागि यस्तो योजना ल्याइएको बताए । 

बैंकका हाल पाँच लाख खातावाला छन् । ती मध्ये १६ देखि ६४ वर्षको उमेर समूहका ग्राहकको सङ्ख्या तीन लाख बढी छ । ती सबै खातावाला स्वास्थ्य बीमाको उक्त कार्यक्रममा समेटिएका छन् । बीमाका लागि आवश्यक पर्ने प्रिमियम बैंकले तिर्ने गरी व्यवस्था मिलाइएको छ । 

बैंकको ७४ शाखा सञ्जाल, ११८ वटा एटिएम र एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टका साथ देशव्यापी रुपमा सञ्जाल छ । यस्तै मेटलाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले स्वास्थ्य बीमालाई थप सहज बनाउने लक्ष्यका साथ उक्त योजना अगाडि सारिएको बताए । बीमा व्यवसायमा १५० वर्षको इतिहास रहेको मेटलाइफले नेपालमा कारोवार शुरु गरेको १७ वर्ष भएको जानकारी दिँदै उनले दक्षिण एशियाभर नै स्वास्थ्य बीमालाई केन्द्रमा राखेर कार्यक्रम लागू गरिएको उल्लेख गरे ।  रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको