December 28, 2017

नारायणगढ–मुग्लिन सडकखण्डमा पुस १८ गतेदेखि राति यातायात बन्द गरिने

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय भरतपुरमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुख, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनलगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्नेे कामलाई अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तीव्रता दिने र रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ । ठेकेदार कम्पनीका प्रतिनिधिहरुले भने दिउँसो आठ घण्टा सवारी रोकेर काम गर्न दिन माग गरेका थिए । रातिमा काम गर्ने जनशक्ति अभाव हुने र कामलाई सोचेजति छिटो गर्न नसकिने उनीहरुको भनाइ थियो ।

प्रजिअ भट्टले काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको र यसअघि गरिएका निर्णयलाई कार्यान्वयन नगरिएको बताउँदै कामलाई तीव्रता दिन आग्रह गर्नु भएको थियो । उहाँले भन्नुभयो – “हामी निर्णय गर्दै जान्छौँ, त्यो कार्यान्वयन हुँदैन । काम पनि हुन सकेको छैन । जनताले पनि दुःख पाएका छन् ।” नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख यादवले विगतमा नाकाबन्दी, चक्काजाम, इन्धन अभावका कारण कामको प्रगति हुन नसकेको बताउँदै चालु आर्थिक वर्षमा पनि वर्षा, चाडपर्व र निर्वाचनले गर्दा सोचे जति काममा प्रगति हुन नसकेको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ । उक्त सडकखण्डको १६ किलो र २२ किलोमा ५०० मिटर र ३३ किलोमा ३०० मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ । सो सडक तीन पत्र कालोपत्र गरिँदै छ । राजधानी प्रवेशको ‘लाइफलाइन’का रुपमा यो सडकलाई लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट