काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा–१ ले बुधबार आयोजना गरेको चुनावी सभामा उहाँले लोकतन्त्रले मात्र जनतालाई सबै अधिकार दिने बताउनुभयो ।
वाम गठबन्धनले जनतालाई अभिभावकविहीन बनाउन खोजेको आरोप लगाउँदै सभापति देउवाले भन्नुभयो, “कम्युनिस्ट शासनमा बोल्ने अधिकार हुँदैन । ”
वाम गठबन्धनको सरकार आएमा एकदलीय शासन हुने बताउँदै उहाँले दमनकारी एकदलीय शासन नरोज्न आग्रह गर्नुभयो । नेपाली काँग्रेसले गणतन्त्र ल्याउनुका साथै संविधान बनाएको बताउँदै देउवाले संविधान कार्यान्वयन पनि काँग्रेसले गर्ने बताउनुभयो ।
त्यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको संविधान संशोधनको नारा राजनीतिक बेइमानी भएको बताउनुभयो । उहाँले भर्खर बनाएको संविधान संशोधन नभई कार्यान्वयनमा मुख्य जोड दिनुपर्ने बताउनुभयो ।
वाम गठबन्धनको जितले लोकतन्त्रमा ग्रहण लाग्ने बताउँदै नेता पौडेलले भन्नुभयो, “तर लोकतन्त्रवादी जनताको मतले मात्र नेपाली काँग्रेसको रक्षा हुनेछ । ” उहाँले एकदलीय तथा अधिनायकवादी कम्युनिस्टलाई झुक्किएर पनि मतदान नगर्न आग्रह गर्नुभयो ।
कम्युनिस्टहरू माक्र्सवादी पार्टी भएको बताउँदै नेता पौडेलले माक्र्सवादी पार्टी राष्ट्रवादी नहुने बताउनुभयो । उहाँले माक्र्सवादमा राज्य नहुने दाबी गर्दै भन्नुभयो , “प्रचण्ड र केपी ओली कि माक्र्सवादी होइन्न कि राष्ट्रवादी । ”
कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री एवं क्षेत्र नं. २ का उम्मेदवार गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य बालकृष्ण खाँण, नेपाली काँग्रेस जिल्ला सभापति एवं क्षेत्र नं. १ (क)का उम्मेदवार कमलप्रसाद पङ्गेनी, प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार राजु थापा, प्रदेश (ख)का उम्मेदवार तुलसी गिरीलगायतले स्याङ्जाका सबै क्षेत्र लोकतान्त्रिक गठबन्धनले जित्ने दाबी गर्नुभयो ।
यो निर्वाचन जनमतसङ्ग्रह
यसैबीच नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले जनतादेखि नेता डराउने शासनव्यवस्था ल्याउन खोजेको बताउनुभएको छ । बुधबार पोखराको अमरसिंह चोकमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
उहाँले भन्नुभयो, “कस्तो शासनव्यवस्था रोज्ने भन्ने अधिकार जनतासँगै हुन्छ । वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन खोजेको छ, हामीले जनतासँग नेता डराउने शासनव्यवस्था ल्याउन खोजेका छौँ । ”
सभापति देउवाले यो निर्वाचन कम्युनिस्ट शासित दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमतसङ्ग्रह भएको बताउनुभयो । उहाँले संविधानले आदिवासी, जनजाति, मधेसी सबैलाई ठाउँ दिएको चर्चा गर्दै भन्नुभयो, “भर्खर जारी भएको संविधान कार्यान्वयन हुनै नपाई कम्युनिस्टहरू यसलाई खारेज गरेर तानाशाही लाद्न खोज्दैछन् । ”
सभापति देउवाले आगामी दिनमा वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र आफूले आर्जन गरेको सम्पत्तिको संरक्षण अधिकारसमेत अपहरण हुने धारणा व्यक्त गर्नुभयो ।
लगानीमा समस्या
उहाँले वाम गठबन्धनले दिएको समृद्धिको नारा फोस्रो भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिस्टले कहाँबाट समृद्धि ल्याउँछन्, उनीहरू आए स्वदेशी÷विदेशी कुनै पनि लगानी नेपालमा थपिँदैन । विदेशी त आउँदैनन्, आउँदैनन्; स्वदेशी लगानी पनि बाहिर जान्छ । ” उहाँले नेपाली काँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्दै आएको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहोर थुपार्ने कन्टेनर बनाउन लागेको आरोप लगाउनुभयो । स्थानीय निकायको निर्वाचनबाट केही बढी सिट ल्याउँदैमा नेकपा (एमाले)ले बहुदलीय मान्यतालाई तिलाञ्जलि दिएर साम्यवाद अँगाल्न पुगेको टिप्पणी गर्नुभयो ।
वाम गठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेशी व्यवस्था अन्त्य हुने बताउँदै उहाँले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दाबी गर्नुभयो ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काँग्रेसले बहुमत ल्याएमा नेपालीको भाग्यरेखा परिवर्तन हुने उद्घोष गर्नुभयो ।
आमसभामा उद्योगपति विनोद चौधरीले आफू राजनीति गर्न नभई बलियो अर्थतन्त्रको आधारशीला तयार पार्न काँग्रेसमा आबद्ध भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाली काँग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिका कारण देशले फड्को मारेको दृष्टान्त दिँदै रोजगारी सिर्जना र आर्थिक उन्नति काँग्रेसको एजेन्डा भएको चर्चा गर्नुभयो । गोरखापत्रमा खबर छ ।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा