मतपत्रलाई कडा सुरक्षा

matgadana_cIXa9qg6Yxकाठमाडौँ, १२ मंसिर । गृह मन्त्रालयले आइतबार भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्रका लागि कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ । गृहका अनुसार मतदानका बेलामा जस्तै मतपत्रको सुरक्षाका लागि पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरा रहनेछन् ।

 गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सेनाका अतिरिक्त मतदानका दिन खटिएको मोबाइल टोली र तयारी अवस्थामा रहेको सशस्त्रको टोली पनि मतपत्र सुरक्षामा खटिने जानकारी दिए । गृह स्रोतका अनुसार सोमबार रातिसम्म धेरैजसो स्थानबाट मतपत्र सदरमुकाम ओसारी सकिनेछ । प्रदेश ३ का सबै मतदान केन्द्रबाट मतपत्र जिल्ला सदरमुकाममा ओसारिइसकिएको छ । प्रदेश १ को मतपत्र पनि सोमबार रातभरिमा ओसारी सकिने अनुमान छ ।

प्रदेश १ का एआईजी पशुपति उपाध्यायले संखुवासभाका केही मतदान केन्द्रबाहेक सबै जिल्लाका मतपत्र सोमबार राति अबेरसम्म ओसारी सकिने बताए । उनले संखुवासभाका केही हिमाली भेगमा मौसमको खराबीका कारण हेलिकप्टर पठाउन नसकिएको बताए । ‘मंगलबार दिनभरमा त्यहाँको मतपत्र पनि ओसारिने छ,’ उनले भने ।

प्रदेश ७ का एआईजी विजयकुमार भट्टका अनुसार दार्चुलाको उच्च हिमाली भेगमा पर्ने तीन मतदान केन्द्र र बझाङको काडा गाउँपालिकाको मतदान केन्द्रबाट मात्रै मतपत्र ओसार्न बाँकी छ । उनले बझाङको मतपत्र हिँडाएर मंगलबारसम्म सदरमुकाम ल्याइपुर्‍याइने र दार्चुलाको मतपत्र मंगलबार नै ओसारिने बताए ।

निर्वाचन आयोगका अनुसार सोमबार चार बजेसम्म ३२ जिल्लाका २ हजार ९ सय १७ मतदान स्थलमध्ये २ हजार ४ सय १० का मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाम ल्याइसकिएको छ । आयोगका अनुसार ४० मतदान स्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ भने ४ सय ६७ मतदान स्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी छ । मंगलबार साँझसम्ममा सबै मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने जानकारी निर्वाचन आयोगले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता दुवाडीका अनुसार सदरमुकाममा रहेका र सुरक्षाका दृष्टिले भरपर्दो सरकारी कार्यालयमा मतपत्र सिलबन्दी गरेर राखिनेछ । मतपत्र कसरी सुरक्षित राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले अवस्था हेरेर निर्णय लिने बताए । जिल्लाका सबै मतपत्र एकै स्थानमा भण्डार गर्ने व्यवस्था मिलाइएको पनि गृहको भनाइ छ ।

त्यसो गर्दा केन्द्रीकृत सुरक्षा दिन सजिलो हुने मन्त्रालयको ठम्याइ छ । प्रदेश १ का एआईजी उपाध्यायले जिल्लामा सबैभन्दा सुरक्षित मानिने तथा अग्लो पर्खाल भएको सरकारी भवनमा मतपत्र राखिएको बताए । प्रदेश ७ का एआईजी भट्टले पनि सुरक्षाका दृष्टिले बलियो मानिने सरकारी भवनमा मतपत्र भण्डारण गरिएको बताए । उनका अनुसार बझाङमा जिल्ला प्रहरी कार्यालय नजिकैको हुलाक भवनमा र दार्चुलामा जिप्रका छेवैको कर्मचारी आवास केन्द्रमा मतपत्र राखिएको छ ।

लमजुङ र पाँचथरमा सबै मतपत्र जिल्ला समन्वय समितिको हलमा राखिएको छ । सबैजसो जिल्लामा दलका प्रतिनिधिको समन्वयमा मतपत्र सुरक्षाको रणनीति बनाइएको छ । गृहका अनुसार केही जिल्लामा भने दलका प्रतिनिधिहरूले सीसीटीभी क्यामेरा पनि राखेका छन् भने केही जिल्लामा दलका प्रतिनिधिले मतपत्र रहेको कोठामा आफ्नै सिलबन्दी गरेका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि