पशुपति शम्शेरले खोले नयाँ दल: राप्रपा चाेइट्याे

२२ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् ।

राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ ।

नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको एक नेताले  जानकारी दिए ।यसो भएमा कमल थापा नेतृत्वको राप्रपासँग १५ संसद मात्र हुनेछन् ।तर, निर्वाचन आयोगमा बुझाइएको हस्ताक्षरमा भने १९ सांसद मात्र रहेको छ२४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो ।

तर, देउवा सरकारमा जाने कि नजाने भन्ने विवाद पछिल्लो समय सुरु भएको थियो । सरकारमा नजाने निर्णय भएसँगै राणा समूहले नयाँ दल गठन गरेको हो ।

सत्ताका लागि बारम्बार बिभाजन

६-९ फागुन ०७३ मा सम्पन्न एकता महाधिवेशनले राजासहितको प्रजातन्त्रको लाइन पारित गरेको थियो । फुटको विजारोपण पनि त्यही विन्दुमा भइसकेको थियो । त्यसलगत्तै डा. प्रकाशचन्द्र लोहनी नेतृत्वमा एक समूह चोइटियो र राप्रपा राष्ट्रवादी खडा गर्‍यो ।महाधिवेशनमा जितहारको अंकगणित र त्यसपछि पद बाँडफाँटमा देखिएको असन्तुष्टि नै अहिलेको विभाजनको कारक हो । खासगरी, स्थानीय तह निर्वाचनमा पार्टीले लज्जाजनक हार बेहोरेपछि राणा पक्षधर नेताहरूले चुनाव चिह्न छाडेकाले यस्तो परिणाम आएको बताउँदै आएका थिए । कमल थापाले तत्कालीन राप्रपा नेपालको चुनाव चिह्न गाईलाई नै राप्रपाको पनि चुनाव चिह्न बनाउने सफलता पाएका थिए ।

कहिले व्यक्तित्वको टकराव त कहिले राजतन्त्रलाई हेर्ने दृष्टिकोण बाझिँदा राप्रपा विभाजनबाट गुजि्रँदै आएको छ । त्यसमा पनि सत्तामा पुग्ने भर्‍याङ खोज्ने क्रममा पूर्वपञ्चहरूबीच चरम मत विभाजन देखिने गरेको छ ।

टुटफुटको नियती

७ मंसिर ०७३ को एकता घोषणा ११ वर्षपछि पहिलो पटक पूर्वपञ्चहरू एकठाउँमा आएका कारण सम्भव भएको थियो । २६-२७ पुस ०६२ मा कमल थापा नेतृत्वको समूह अलग्गिएको थियो र राप्रपा नेपाल स्थापना भएको थियो । त्यतिबेलाको विवाद थियो, १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरो ध । राणा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले शाही कदमको विरोध गरे, कमल थापा पक्षमा उभिए । शाही शासन चलिरहँदा सूर्यबहादुर अलग भए र राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । असार ०७० मा फेरि उनी नेतृत्वको समूह राणा नेतृत्वको राप्रपामा विलय भयो ।

राप्रपा नेपाल पनि एकीकरणमा आएपछि ०५४ सालअघिको अवस्थामा फर्किएका थिए, पूर्वपञ्चहरू । त्यसो त, ०४६ सालको परिवर्तनपछि उनीहरू अलग-अलग दल खडा गरेर बहुदलीय प्रतिस्पर्धामा आएका थिए, जुन पञ्चायतकालीन द्वन्द्वको परिणाम थियो । राप्रपा थापा र राप्रपा चन्द नामका दल ०४९ सालमा जोडिएर राप्रपा बन्यो । त्यसपछि पनि टुटफुटको नियतिबाट अलग रहन सकेन ।

संशयबीच एकता

११-१३ पुस ०७२ मा राप्रपा केन्द्रीय समिति बैठकमा हेमजंग गुरुङ प्रस्तावक र ३६ जना केन्द्रीय सदस्य समर्थक रहेर विचार मिल्ने शक्तिहरूसँग एकीकरणमा जानुपर्ने प्रस्ताव अगाडि सारिएको थियो । त्यसपछि राप्रपा र राप्रपा नेपालले वार्ता टोलीहरू बनाए । दुवै पक्षको कसरतपछि एकताको तयारी पनि शुरु भयो । २५ साउन ०७३ मा एकता सभा गर्ने तय भयो ।

त्यसको तीन दिनअघि एकाएक राप्रपा अध्यक्ष राणाले विज्ञप्ति निकालेर एकता प्रक्रिया स्थगित भएको घोषणा गरे । राप्रपा नेपालका अध्यक्ष थापाले त त्यस्तै विज्ञप्तिमार्फत् एकताको सम्भावना नै अन्त्य भएको बताए । त्यसको मूल कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री बन्ने आकांक्षीहरूको दबाव । उक्त सरकारमा दिपक बोहरा र विक्रम पाण्डे सहभागी भए । त्यसपछि दुवै दलका नेता आरोप/प्रत्यारोपमै उत्रिए ।एकता प्रक्रिया एकाएक भाँडिएपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा अलग्गै पार्टी गठनको प्रयत्न शुरु भयो । त्यसमा राप्रपाका ४६ जना केन्द्रीय सदस्य र ४४ जिल्ला सभापतिहरूले साथ दिए । राप्रपा नेपालका केही सांसदले समेत नयाँ दलमा सामेल हुने प्रस्ताव ल्याएपछि कात्तिक ०७३ मा त्यस प्रयासले अझ उचाइ पायो । शुरुमा अलग-अलग दल खडा गर्ने र त्यसपछि एकता गर्ने सहमति जुट्यो । चन्द नेतृत्वमा भित्रभित्रै चलिरहेको यस प्रयासले राणा र थापा दुवैलाई झस्कायो । र, दुवै नेता एकीकरण प्रक्रिया पुनः थाल्न बलियो दबाबमा परे । खासमा, चन्दको संयोजकत्वमा नयाँ दल निर्माण गर्ने प्रयास पार्टी एकीकरणका लागि दबाव दिने उद्देश्यले भएको थियो । र, कात्तिक ०७३ देखि नै एकीकरण प्रक्रिया पुनः आरम्भ भयो ।

एकता महाधिवेशनमा राणा समूहको तयारी फितलो देखिन्थ्यो भने थापा समूह व्यवस्थित र छरितो । थापाको छरितोपनबाट माथिदेखि तल्लो तहसम्मका कार्यकर्तामा उत्साह पनि नदेखिएको होइन । तर, त्यस्तो उत्साह धेरै दिन टिकेन । जब केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने भयो, उक्त उत्साह एकाएक निरासामा परिणत भयो । राणा समूहले थापामाथि पार्टीमा हैकमवाद चलाएको आरोप नै लगायो ।त्यसो त, राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकीकरण हुनै तीन वर्ष लागेको थियो । त्यसको भित्री कारण थियो, सूर्यबहादुर थापाले छोरा सुनिलले संयुक्त राष्ट्रसंघको जागिरबाट अवकाश पाउने समय पर्खिनु । उनी छोरालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएर मात्र देहत्याग गर्न चाहन्थे । भयो पनि त्यस्तै । ०६७ मा शुरु भएको राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता प्रक्रिया ०७० मा मात्र पूरा भयो ।

थापा राप्रपामा स्थापित भएपछि पार्टी एकता र फुटमा पनि निर्णायक जस्तै देखिएका छन् । राप्रपा र राप्रपा नेपालसँग भाँडिएको पार्टी एकताका लागि लोकेन्द्रबहादु चन्द पक्षले वातावरण बनाएका थिए । तर, थापा नेतृत्वमा गोलबन्द भएका तत्कालीन राष्ट्रिय जनशक्तिको समूह नै निर्णायक बन्यो । पार्टी एकतापछि कमल थापालाई अध्यक्ष बनाउने लाइन लिए र आफू पनि महामन्त्री बने ।तर, पार्टी एकता भएको एक वर्ष नपुग्दै कमल थापा छाडेर राणातिर लागेका छन् र आइतबार राणा नेतृत्वको नयाँ पार्टी गठनमा पनि उनी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी