कुनै बेला ‘प्यारालाइसिस’ ले हिड्न नसक्ने गोतामे अहिले भारतमा पैसा लिएर कुस्ती भिड्छन्

२०६२ सालमा रमेश गोतामे नेपालको विकट मानिने रोल्पाको बुढागाउँस्थित लामपुतली चौरमा रहेको सिमपानी स्कुलमा ४ कक्षामा पढ्दै थिए।
एकदिन स्कुल जान आफ्नो नियमित समयमा बिहान उठ्न मात्र के खोजेका थिए, उठ्नै सकेनन्। एक्कासी उनको शरीर भारी भएर आयो। टाउको फुट्ला झै भयो। कम्मरमुनीको भाग हलचल भएन्।

उनको बुवा जरसिंह गोतामे त्यतिबेला भारतको हरियाणामा मजदुरी गर्थे। उनी विगत ३० वर्षदेखि हरियाणाको कर्नाल जिल्लामा पर्ने सालोवनको एउटा मिठाई पसलमा मजदुरी गरेर नेपालमा घरखर्च पठाउँथे।

 

गाउँमा ३ सन्तान सम्हालेर बसेकी आमाका लागि आफ्नो जेठो छोरोको त्यो अवस्था साच्चै पीडादायक थियो। एक त रुढीवादी परिवार, त्यसमा पनि गाउँमा उपचारको राम्रो व्यवस्था थिएन्। त्यही पनि उनले गाउँका धामी–झाक्री बटुलेर आफ्नो छोरालाई ठिक पार्न सक्दो प्रयास गरिन्।

तर, पोलियोका कारण पक्षघात भएको उनको शरीर धामी–झाक्रीको उपचारले ठिक हुने कुरा थिएन्। २ महिनाको अनवरत प्रयास काम लागेन्। यसपछि रमेशका बुवा हरियाणाबाट आफ्नो छोरालाई हेर्न सिधै त्रिवेणी गाउँपालिकास्थित मथुरपानीमा रहेको आफ्नो घर फर्किए।
उनी आफ्नो छोराको दयनीय अवस्थाबाट यति बिचलित भएछन्, आर्थिक अवस्था कमजोर भए पनि उनी छोरालाई महंगो उपचार गराउन आफैसँग भारत लैजाने निर्णयमा पुगे।

त्यतिबेला उनीसँग छोराको उपचार गराउन खासै पैसा थिएन्। उनलाई थाहा पनि थिएन, उपचारका लागि कति पैसा आवश्यक पर्छ भनेर। जयसिंह छोराको उपचारका लागि पैसा जुटाउन विहान मात्र होइन, रातविरात काम गर्थे।

उनको मेहनत ८ महिनापछि काम लाग्यो। करिब १ लाख रुपैयाँ खर्च भएपछि आश्चर्यचकित रुपमा रमेशको कम्मरमुनीको भाग चल्न थाल्यो।

यसपछि बुवा जरसिंहलाई लागेछ, उपचार नै नपाइने गाउँमा विरामीबाट भर्खरै मुक्त भएको छोरालाई पठाउने कसरी?
उनले रमेशलाई आग्रह गरेछन्, मैसँग बस। यतै पढ्नु।

फुच्चे रमेशलाई रोल्पा बसे पनि के नै हुने थियो र! उनले बुवाको प्रस्ताव सहर्ष स्विकार गरे। यसपछि सुरु भयो, कुनै बेला ‘प्यारालाइसिस’ का कारण करिब एक वर्ष ओछ्यान परेका रमेश गोतामेको व्यवसायिक कुस्ती खेलाडी बन्ने कहानी।

रमेश अहिले सालोवनस्थित हनुमान अखाडाका व्यवसायिक कुस्तीवाज हुन्। उनको गुरुको नाम विनोद राना हो। यो अखाडाले भारतमा राजेश राना र गौरव राना जस्ता राष्ट्रिय खेलाडी जन्माइसकेको छ।

रमेश आफै पनि भारतको जुनियर कुस्ती प्रतियोगितामा ८६ केजीमा उपविजेता भइसकेका खेलाडी हुन्। अहिले उनी भारतमा एउटा कुस्ती लडेको १० हजार रुपैया लिने गर्छन्।

नेपालमा उनीसँग लड्न सबै कुस्ती खेलाडी हच्किने गर्छन्। उनले यसै साता काठमाडौंमा १३ औं सागको तयारीका लागि आयोजना भएको छनोटमा ९७ केजीमा आफ्ना प्रतिद्वन्दीलाई पछारेका थिए। उनी कुस्ती खेल्न नेपाल आएपछि ९७ केजीमा लडिरहेका सुमिरकुमार साहले आफ्नो तौल घटाएका छन्।

नेपाली कुस्तीमा उनको आगमन २०६९ सालमा भएको हो। त्यतिबेला उनी १९ वर्षका थिए। हिमाञ्चलमा एउटा कुस्ती प्रतियोगिता खेल्ने क्रममा एक नेपाली समर्थक बसन्त थापाले उनलाई पहिलो पल्ट देखेका थिए।

उनै थापाले नेपाल फर्किएपछि नेपाल कुस्ती संघका पूर्व मुख्य प्रशिक्षक मुमताज गुरुलाई रमेशको विषयमा सबै जानकारीसहित टेलिफोन नम्बर पनि उपलब्ध गराएका थिए। २०६९ सालमा वीरगञ्जमा राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा प्रशिक्षक मुमताजले फोन गरेर रमेशलाई नेपालमा पहिलो पल्ट खेल्न बोलाए। भारतबाट लामो दूरी तय गरेर नेपाल आउँदा र सिधै प्रतियोगितामा भाग लिनु परेका कारण त्यतिबेला ८६ केजीमा भिडेका रमेशले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो।

तर, गत वर्ष पूर्वाञ्चलको सिरहामा आयोजना भएको सातौं वृहत राष्ट्रिय खेलकुदमा उनले ८६ केजीमा स्वर्ण जिते।

हाल उनी ९७ केजीमा खेल्ने गर्छन्। रमेशले सालोवनको स्थानीय सरस्वती स्कुलबाट ११ कक्षासम्मको पढाई पुरा गरेका छन्। ११ कक्षामै अध्ययनरत रहँदा अन्तिम पेपरको परीक्षा दिने क्रममा उनको बुवा जरसिंह मुटु रोगबाट थलिन पुगे। यसपछि उनी पढाई छोडेर परिवारको हेरविचारका लागि काममा लागेका थिए।

अहिले पनि उनलाई दुविधा छ, साग गेमको तयारीका लागि आफूलाई नेपाल कुस्ती संघले फ्याट्ट ट्रेनिङका लागि बोलाएको खण्डमा के गर्ने? विरामी बुवालाई छोडेर आउने कि, नेपालको अन्तर्राष्ट्रिय कुस्ती खेलाडी बन्ने अभियानमा रहेको आफ्नो भाग्यलाई तिलाञ्जली दिने!

गत साता छनोट प्रतियोगितामा भेटिएका रमेश गोतामेले सेतोपाटीसँग गम्भीर बन्दै भने, ‘आज म जुन अवस्थामा उभिएको छु, त्यो सबै बुवाको योगदान हो।’

उनी महिनाको अन्त्यमा नियमित आफ्नो बुवाको चेकअप गराउनु पर्ने बताउँछन्। रमेशका कान्छा भाई रोल्पामै कक्षा ६ मा अध्यनरत छन्। त्यसैले भारतमा रहेका आफ्नो बुवाको एक्लो सहारा उनी मात्र छन्।

उनले कर्नालमै ९ कक्षामा अध्यनरत रहँदा कुस्ती खेल्न सुरु गरेका थिए। वास्तवमा उनी कुस्ती खेलाडी बन्ने कहानी पनि रोचक छ।

उनको साइलो हजुरबुवा पनि कर्नालमै बसोबास गर्छन्। साइलो हजुरबुवाको कान्छो छोरा, अर्थात उनको काका अमरनाथ गोतामे सानैदेखि कुस्ती सिक्थे। नेपालको नागरिकता नभएको कारण उनले नेपालबाट खेल्ने मौका पाएनन्। तर, उनले १५ वर्षको उमेरमा रमेशलाई कुस्ती सिकाउन आफ्नो गुरुको हनुमान अखाडा लगेका थिए।

३ वर्षको कडा अभ्यासपछि रमेश कर्नालमा कहलिएको कुस्तीवाज बन्न पुगेका थिए। सन् २०११ मा राजस्थानमा आयोजना भएको जुनियर कुस्ती प्रतियोगितामा उनी पनि समावेश थिए। यतिबेला ८६ केजीमा उत्रिँएका रमेश दिल्लीको खेलाडीसँग फाइनलमा पराजित भएका थिए। यही वर्ष हरियाणाको हिसारमा आयोजना भएको १५ दिने कुस्ती क्याम्पमा पनि उनी दोस्रो भएका थिए।

रमेश आफूप्रति यति विश्वस्त देखिन्छन्, उनी ६ महिना मात्र राम्रो ट्रेनिङ पाएको खण्डमा साग गेममा आरामले पदक जित्ने दावी गर्छन्। ‘मलाई खाली ६ महिना राम्रो ट्रेनिङको व्यवस्था मिलाइदिनु म पदक जितेर देखाइदिन्छु। यो मेरो ग्यारेन्टी हो,’ उनी भन्छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस