शेरबहादुरले विश्राम नलिए गगन थापाले हस्तक्षेप गर्ने

तत्कालै पदत्याग गर्न र कांग्रेसको विशेष महाधिवेशन बोलाउन माग

th (1)२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले शेरबहादुर देउवालाई स्वेच्छाले पार्टी सभापतिबाट विश्राम लिन र केन्द्रीय सदस्यमात्रै भएर बस्न आग्रह गरेका छन् । स्वेच्छाले जिम्मेवारी त्याग नगरे साथीहरुसँग मिलेर पार्टीभित्र हस्तक्षेप गरिने थापाले चुनौतीसमेत दिएका छन् ।

 थापाले अब कांग्रेस पार्टी टालटुले सुधारले नचल्ने बताए । आफूले पार्टीमा नयाँ बहस चलाउन चाहेको भन्दै उनले भने- ‘म उहाँहरु – शेरबहादुर र रामचन्द्रलगायतका नेताहरु) लाई असफल हुनुभयो भन्दिनँ, उहाँहरुको समय सकियो भन्छु । शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुले नै पार्टी चलाउनुपर्छ भनेर बसिरहने हो भने हामी काहीँ पनि पुग्दैनौं ।’

युवा नेता थापाले तत्कालै नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउन समेत माग गरे । चुनावको मतपरिणाम आउनासाथ शीर्षनेतृत्व आफै जिम्मेवारी त्याग गरेर अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्ने थापाले बताए ।

थापाले अगाडि भने- ‘नेताहरुले सकेसम्म आफ्नो ठाउँबाट सोच्नुहोस् । मान्नुभएन भने साथीहरुसँग मिलेर संगठित हस्तक्षेप गर्ने प्रयास गर्छु । उहाँहरुले छोड्नैपर्छ । अहिलेको नेतृत्वले विश्राम लिनैपर्छ ।’

तपाई विगतमा नेविसंघमा लागिरहँदा नेपाली कांग्रेस ठूलो पार्टी थियो । अहिले सानो कित्तामा आइपुग्दा कस्तो महसुस भएको छ ?

दुख नलाग्ने भन्ने कुरै भएन । आफ्नो विजयमा भित्रैबाट खुशी हुनुपर्ने कुरा हो, तर, भित्रैबाट खुलेर हाँस्न र खुशी हुने अवस्था बन्न सकेन । तर, समानुपातिक तर्फको मत परिणाम नआउँदासम्म केही भन्न सकिँदैन । किनभने, कांग्रेसका मतदाता घटेका हुन् कि हैनन् ? यो हेर्न बाँकी छ । अहिले कांग्रेसका मतदाता घटेका भन्दा पनि एमाले र माओवादीको मत जोडिएको पो हो कि ?

हाम्रो आँकलन माओवादीले सूर्यमा भोट हाल्दैनन् र एमालेले हाँसिया हथौडामा भोट हाल्दैनन् भन्ने थियो । तर, हाम्रो त्यो आँकलन गलत सावित भयो ।

हामीले निर्वाचनअगाडि के भनिरहेका थियौं भने एमालेका थुप्रै मतदाताहरुलाई हामी आफूतिर आकषिर्त गर्छौं । र, माओवादीका मतदातालाई हामीले आफूतिर ल्याउँछौं भनेका थियौं । यसमा हामी पूर्णरुपमा असफल भयौं । किनभने उनीहरुले हामीलाई मत हाल्नुपर्ने कारणै बनाउन सकेनौं ।

हामीले एउटै कुरामात्रै भन्यौं कि यी पार्टीहरु आए भने मुलुकमा अधिनायकवाद आउँछ । वर्षैदेखि त्यही पार्टी, त्यही नेतालाई विश्वास गरिरहेकालाई हामीले देखाएको अधिनायकवादको जुन दृश्य थियो, त्यसले हामीतिर आकषिर्त गर्नुपर्ने कारणै थिएन । हाम्रो नेतृत्वसँग त्यो चार्म पनि थिएन । हाम्रो नेतृत्वसँग विश्वास पनि थिएन । आकर्षण पनि थिएन । अनि हामीसँग कुनै एजेण्डा पनि थिएन ।

नेपाली कांग्रेसले हामीले जित्यौं भने यो यो काम गर्छौं भन्नुको सट्टा वामपन्थीले निर्वाचत भए भने यसो यसो गर्छन् मात्रै भन्दै गयौं ।

किन भयो यस्तो ?

मलाई के लाग्छ भने संविधान बनिसकेपछि जतिबेला सुशील कोइराला फेरि प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो, त्यहीँदेखि हाम्रो ‘काउन्ट डाउन’ सुरु भयो । त्यसपछि एकपछि अर्को घटनाक्रम बन्दै गयो ।

कांग्रेसले संविधान निर्माणको बाटोमा गरेका सकारात्मक कामहरु हामीले बताउन सकेनौं । योवीचमा आइजीपी प्रकरण, सुशीला कार्कीलाई महाअभियोग प्रकरण लगायतका निर्णयहरु गर्‍यौं, ती निर्णयले हामीले हासिल गरेको उपलब्धिलाई ढाल्दियो ।

जुन निर्णय जनताले पटक्कै मन पराएनन्, त्यो प्रत्येकलाई थाहा भयो । अनि जुन विषयमा हामीले राम्रो काम गर्‍यौं, त्यसका बारेमा हामीले बताउनै सकेनौं । जनताका वीचमा कांग्रेसको पहिचान के भयो त ? कांग्रेसका बारेमा एमालेले बताइदिएको कुरामात्रै हाम्रो ‘आइडिन्टिटी’ भयो । एमालेले आफ्नो उज्यालो परिचय जनताको वीचमा लग्यो ।

अब चुनाव हारेको कांग्रेसको भूमिका कस्तो हुन्छ ? एमाले र माओवादीलाई फुटाएर आफ्नै सरकार बनाउन संसदीय चलखेल सुरु हुन्छ कि अरु नै केही ?

के गर्छभन्दा पनि मचाहिँ कांग्रेसले गर्नुपर्छ भन्नेबाट सुरु गर्छु ।

एक- योपटकको निर्वाचनको स्पष्ट आदेश भनेको कांग्रेस ५ वर्ष प्रतिपक्षमा बस भन्ने हो । हामी संविधान र कानूनको सन्दर्भमा जुन मुद्दा लिएर जनतामा गएका थियौं, वाम गठबन्धनले प्रचण्ड बहुमत प्राप्त गर्दैगर्दा लोकतन्त्रका आधारभूत मान्यताहरुलाई यसले चलाउने काम गर्छ कि भन्ने हामीले आशंका व्यक्त गरेका थियौं । संविधानको कार्यान्यन गर्ने सन्दर्भका पनि उसलाई चेक गर्ने कुरामा पनि अब प्रतिपक्षमा बसेर त्यही एजेण्डा कार्यान्वयनमा लैजाऊ भनिएको हो । यो जनादेशलाई हामीले मान्नुपर्छ ।

दुई- नेपाली कांग्रेसभित्र ‘ग्राण्ड रिर्फम’ (विहंगम सुधार) चाहियो । सानोतिनो टालटुले सुधार हैन, एकदम ठूलो सुधार चाहिएको छ भन्ने कुरालाई नेतृत्वले स्वीकार गर्नुपर्‍यो । यो स्वीकार गर्दैगर्दा शेरबहादुर देउवालाई मात्रै दोष लगाएर हुँदैन । शेरबहादुर देउवादेखि पार्टीको गाउँ कमिटीको एउटा क्रियाशील सदस्यसम्म र पार्टीका देशैभरिका सदस्यले रिर्फम चाहिएको छ र त्यसको सुरुआत मैबाट हुन्छ भन्ने कुरा मान्नुपर्‍यो ।

तेस्रो- तत्काल पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्‍यो । र, त्यो विशेष महाधिवेशनबाट पार्टीको पहिलो तहका नेताहरुले पार्टीको कुनै पनि कार्यकारी तहमा र संसदीय दलमा पनि नबस्ने कुराको घोषणा गर्नुपर्‍यो । विश्राम लिनुपर्‍यो । पहिलो पुस्ताका नेताहरुले पार्टीको संरचनामा ठूलो परिवर्तन गर्नुपर्‍यो ।

कस्तो परिवर्तन ?

जस्तै संघीय संरचनामा रहेको पार्टीको हाम्रो कुनै संरचनै छैन । संगठनका सबै अवयवहरु चुस्त दुरुस्त हुनुपर्‍यो । र, वैचारिक हिसाबले पनि अब हामीले पुराना ००७ सालदेखि क्रान्तिका कुरामा मात्रै गौरब गर्ने होइन, जनताका वीचमा जोडिनुपर्‍यो । संविधान निर्माणपछाडि समृद्धि र विकासको भोकबाट जनता जसरी छटपटाएका छन्, राजनीति अस्थिरता, भ्रष्टाचार र कुशासनबाट पीडित भएका जनताको पंक्तिलाई कांग्रेस पार्टीले ‘अफर’ गर्ने कुरा के हो त ? हामी कसरी जनतासँग जोडिन्छौं ? हामी पुरानो कुरामा गौरब गर्छौं, तर नयाँ हाम्रो अफर के हो ? एउटा न एउटा अफर त हामीले दिनैपर्छ ।

त्यस्तो अफर के हुन सक्छ ?

हामीले भन्न सकौंला कि नेपालमा हामी सबै जातजातिलाई जोड्ने कुराको सन्दर्भमा नेपालको राष्ट्रियता भनेको हाम्रा विविधतावीचको एकता र एकतावीचको विविधता हो । र, त्यसबाट सिर्जना भएको ताकत नै नेपालको राष्ट्रियताको मूल चुरो हो है भन्ने कुरोलाई कांग्रेसले समातेको छ र त्यसलाई हामी समातिराख्छौं ।

त्यसैगरी भारत र चीनसँगको हाम्रो सम्बन्ध बडो सन्तुलित रहनुपर्छ, कोहीसँग हामीले समर्पण पनि गर्नुहुन्न, कोहीसँग हामीले खेल्ने प्रयास पनि गर्नुहुन्न । हामीले बचेर कहीँकतै पनि गलत सम्झौता नगरिकन, राष्ट्रिय हितमा आँच आउन नदिने गरिकन अघि बढ्नुपर्छ । हामीले कुनै दक्षिण एशियाली देशले गरेको गल्ती पनि गर्नुहुन्न । हामी बडो सन्तुलित ढंगले जानुपर्छ । हाम्रो पार्टीको पोजिसन यही हुनुपर्छ रहनुपर्छ ।

तपाईले विगतमा महाधिवेशनका बेला कृष्ण सिटौलाको नेतृत्वमा कांग्रेसभित्र तेस्रो धारको अभ्यास गर्न खोज्नुभएको थियो । अहिले सिटौलाजी झापामा पराजित हुनुभयो । अब कांग्रेसमा तेस्रो धारको भूमिका के होला ?

त्योबेलामा पनि हामीले कुनै एउटा सुविचारित गुट बनाउने भनेर त्यसलाई प्रारम्भ गरेका थिएनौं । कृष्णप्रसाद सिटौलाको पनि त्यतिबेलाको बुझाइ के थियो भने कांग्रेसभित्र यो पहिलो पुस्ताका नेताले अब छाडिदिनुपर्छ । मेरो पनि पार्टीको पहिलो पुस्ताका नेताले छाडिदिनुपर्छ र लिडरशीप चेञ्ज हुनैपर्छ भन्ने थियो । त्यही कुरालाई हामीले महाधिवेशनमा एक ठाउँ लिएर आएका थियौं । तर, हामी त्यो प्रयासमा असफल भयौं ।

तर, मलाई लाग्छ त्यतिखेर हामीले गर्न खोजेको प्रयत्न ठीक थियो भन्ने कुरा अहिले प्रमाणित भयो । कसरी प्रमाणित भयो भने यो वीचको सम्पूर्ण निर्णयको जस अपजश कसले बोक्नुपर्छ भने शेरबहादुर देउवा रामचन्द्र पौडेलले नै बोक्नुपर्छ ।

अझ विस्तारित गरेर हेर्ने हो भने १०/१२ जनाको एउटा समूह छ, जसलाई हामी प्रभावशाली नेताहरु भन्छौं । हामीले त सुशीला कार्कीमाथिको महाअभियोग पनि अखबारमा पढेर थाहा पाएको हो, प्रचण्डजीको छोरीलाई मेयर बनाउने भन्ने कुरा पनि अखबारमै पढेर थाहा पाएका हौं । कमल थापासँग तालमेल गर्ने निर्णय पनि अखबारै पढेर थाहा पाएको हो । यी कुराहरुमा चुनावका बेलामा पार्टीलाई अप्ठ्यारो परोस् भनेर मात्रै चुप लागेका हौं, अब त बोल्ने बेला आयो नि ।

अखबारमा पढेर थाहा पाउनेहरु हामी एउटा भयौं, तर अखबारमा पठाउन निर्णय गर्नेहरुको एउटा समूह त छ नि । त्यो समूहले एक अर्कालाई दोष लगाएर उम्कन पाउँदैन । त्यो समूहले नै यो जिम्मेवारीको भारी बोक्नुपर्छ ।

तपाईको विचारमा कांग्रेसका शीर्षनेताहरु सामुहिकरुमा असफल सावित भएकै हुन् त ?

म उहाँहरुलाई असफल हुनुभयो पनि भन्दिनँ, उहाँहरुको समय सकियो भन्छु । मैले त पार्टीमा एउटा बहस उठाउन खोजेको हुँ । यो निर्वाचनको लगत्तै हाम्रो केन्द्रीय समितिको बैठक बस्छ । केन्द्रीय समितिको बैठकमा आरोप प्रत्यारोप हुन्छ । ए…. गालीगलौज हुन्छ, यो कारणले गर्दा हारियो, त्यो कारणले गर्दा हारियो भनेर दुई तीन दिन हामी बोल्छौं । एक अर्कालाई गाली गर्छौं, अनि सकियो । त्यसपछि फेरि हामी कुनै नयाँ कुराविना संसदमा जान्छौं । म यस्तो हुने एकदमै बढी सम्भावना देख्छु ।

त्यसैले अहिले नै मैले उठाउन खोजेको कुरा के हो भने अब सानोतिनो टालटुले कुराले हुँदैन । कति साथीहरुले नेतृत्व परिवर्तनको कुरा उठाउनुभएको छ । तर, ‘क’ को ठाउँमा ‘ख’ लाई ल्याएर मात्रै हुँदैन । पार्टीभित्र यो भन्दा धेरै सुधारको आवश्यकता छ । त्यसैले दुई महिना, ४ महिना जति लागे पनि विशेष महाधिवेशन नेतृत्वले बोलाएन भने हामीले पहलकदमी गरेर भए पनि बोलाउनुपर्छ । पार्टीको विधानमा यसको पनि व्यवस्था छ ।

किन बोलाउने विशेष महाधिवेशन ?

म त भन्छु यो निर्वाचनको परिणाम सकिनासाथै पार्टीको पहिलो पुस्ताका नेताले आफैं घोषणा गरेर शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुले अब हामी सांसदका रुपमा, केन्द्रीय सदस्यका रुपमा रहन्छौं, तर कार्यकारी जिम्मेवारी लिएर हिँड्दैनौं अब नयाँ आउनोस् भन्नुपर्छ । नयाँ पनि छन् नि त । मभन्दा अगाडिको जेनेरेशनलाई अब एकचोटि तपाईहरु मिलेर चलाउनोस् भन्दा हुन्छ ।

नेतृत्वले छाड्नै चाहेन भने के गर्नुहुन्छ ?

हाम्रोे प्रयास त नेतृत्वबाट आफैंले घोषणा गराएर लिएर जाने भन्ने हुन्छ । उहाँहरुले त्यसो गर्नुभएन भने लडेर जुधेर भए पनि त्यसो गराउनुपर्ने हुन्छ । पार्टीको निर्णय गर्ने ठाउँमा फरक ढंगले सोच्ने व्यक्तिको आवश्यकता छ ।

जस्तै- प्रचण्डको सरकारको ठाउँमा हामीले सरकारको नेतृत्व गरेर चुनावमा जाँदा हामीलाई के फाइदा भयो ? प्रचण्डकै नेतृत्वमा हामी चुनावमा गएको भए के हुन्थ्यो ? प्रचण्डको नेतृत्वमा बनेको सरकारले स्थानीय चुनाव गराएको थियो, यो चुनाव पनि उनकै सरकारले गराएको भए हुन्थ्यो यो वाम गठबन्धन बन्थ्यो ?

तपाई यस्ता कुराहरु त बेलाबखत बोलिराख्नुहुन्छ, तर तपाईको यो आवाज कांग्रेसभित्रै सुनुवाइ हुँदैन…..

म यसैका लागि त्यो महामन्त्रीको कुर्सीमा बस्न जान खोजेको थिएँ । त्यो पार्टीभित्रको सेकेन्ड पोजिसन थियो । त्यहाँ त म यस्तो भइदेओस् भन्ने ठाउँबाट यस्तो हुनुपर्छ भन्ने ठाउँमा जान खोजेको हुँ, तर, पाइनँ नि त । मैले प्रयास त गरेको हो नि ।

मेरो ठाउँबाट म नेताहरुले सकेसम्म आफ्नो ठाउँबाट सोच्नुहोस् भन्छु । त्यो मान्नुभएन भने पनि साथीहरुसँग मिलेर संगठित हस्तक्षेप गर्ने प्रयास गर्छु । उहाँहरुले छोड्नैपर्छ । अहिलेको नेतृत्वले विश्राम लिनैपर्छ ।

तर, कांग्रेस नेताहृरु कहिल्यै चेत्दैनन् भन्छन् नि ?

यो प्रश्नमा म कहाँनेर सहमत छु भने यी सबै कुराहरु म भनिरहेको छु । मैले अहिले पार्टीका लाखौं सदस्यहरुको प्रतिनिधित्व गरिरहेको छु । तर, यो निर्णय कसले गर्छ ? विशेष महाधिशवेनको अथवा नेतृत्व फेर्ने काम कसले गर्छ त भन्दा पार्टीका सीमित प्रतिनिधिहरुले । यसको वीचमा ग्याप देख्छु म ।

पार्टीका आम सदस्यहरुचाहिँ अलि स्वतन्त्र ढंगले सोच्छन् । पार्टीको हितका बारेमा बढी चिन्तित हुन्छन् । किनभने उनीहरुसँग केही पनि लेनदेन छैन । पार्टीका नेताहरु चाहिँ आफ्नो नाफा घाटाका बारेमा सोच्छन् । मैले बोलेको कुरा सही हो भनेर बोलें भने शेरबहादुर देउवा रिसाउलान् कि ? रामचन्द्र पौडेल रिसाउँछन् कि ? यस्तो हिसाब-किताव हुन्छ त्यहाँ । कसले टिकट पायो, कसले पाएन, भोलि कसले पाउँछ, त्यहाँनेर हिसाब-किताव हुन्छ । यसले गर्दाखेरि चाहँदा चाहँदै यत्रो ठूलो पार्टीमा परिवर्तन अवरुद्ध हुन सक्छ ।

तर, अहिले पनि प्रश्न नउठाउने ? अहिले पनि प्रश्न नगर्ने ? जनताले यत्रो सन्देश दिँदा पनि पार्टी जसरी चलिरहेको छ, त्यसरी नै चल्नुपर्छ भन्ने अनि शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुले नै पार्टी चलाउनुपर्छ भनेर बसिरहने हो भने हामी काहीँ पनि पुग्दैनौं ।

अब कांग्रेसजनले निराश हुनुपर्ने अवस्था आएकै हो त ?

चुनाव हार्दा पनि हामी अहिलेसम्म सबैभन्दा ठूलो पार्टी हौं । निर्वाचन हार्दा पनि देशभरि आधार भएको पार्टी हो नेपाली कांग्रेस । त्यो आधार काँही पनि गएको छैन । यसलाई समातेर लिएर जानुपर्छ । चुनाव त ०६४ सालमा पनि हारेकै हौं, तर पछि ठूलो पार्टी भयो । त्यसैले देशभरिका कांग्रेस कार्यकर्ताले निराश हुनुपर्ने अवस्था छैन ।

अब काठमाडौं ४ तिर फर्कौं । देशैभरि कांग्रेसले हार्दा पनि तपाईले रुख चिन्ह लिएर चुनाव जित्नुभयो । चुनावी अनुभव कस्तो रह्यो ?

यसपालिको चुनावमा मेरो अलि फरक अनुभव रह्यो । मलाई केही खल्लो महसुस पनि भएको छ । पार्टीका पहिलो जेनेरेसनका नेताहरुले चुनाव प्रचारमा जाँदैगर्दाखेरि अर्को पार्टीलाई गालीमात्रै गर्छन् । अरु आए भने के हुन्छ भन्ने कुरा गर्छन् । मैले सबै चुनावी अभियानमा म आएँ भने के गर्छु मात्रै भनें । मैले वामपन्थी आए भने अधिनायकवाद आउँछ भनिनँ ।

मैले जितेें भने शिक्षामा यसो गर्छु, स्वास्थ्यमा यसो-यसो गर्छु, काठमाडौंमा यो गर्छु, आफ्नो क्षेत्रमा यो गर्छु, यिनै कुराहरु भनें । अर्को पार्टी आयो भने के गर्छ भनिनँ । मैले अर्को व्यक्ति आयो भने के गर्छ भनिनँ ।

तर, चुनावका बेलामा युवा नेताहरु उठेको काठमाडौं ४ मा पनि अस्वस्थ प्रतिस्पर्धा र आरोप-प्रत्यारोप त चल्यो नि हैन ?

केशव स्थापितजीले होस हराएको र कुनै जिम्मेवारी नै नभएको मान्छेले जस्तो गरी प्रयायोजित किसिमले समाचार बनाउने काम गर्नुभयो । त्यसपछि यो सिलसिला सकिन्छ होला भनेको, सकिएन । उहाँहरुको त्यो यति डेडिकेटेड टिम थियो कि सुवोध प्याकुरेलजस्ता मान्छेहरु पनि त्यो हुलमा मिसिएर ममाथि आक्रमण गर्ने पंक्तिमा उहाँ पनि मिसिएर आउनुभयो ।

विस्तारै ममाथि एकपछि अर्को प्रहार हुँदै गए । केपी ओलीले आएर मेराबारेमा टिप्पणी गरेर जानुभो । बद्री पंगेनीले मलाई फटाहा भनेर गीतै बनाउनुभयो । केपी ओलीजीले यो गाढी चढ्ने सेलिब्रेटी हो भन्नु भो । मविरुद्ध सबै प्रयोगहरु भए ।

हुँदाहुँदा झापाको एउटा कार्यक्रममा मैले बोलेका कुराहरुलाई सुकुम्वासीको एउटा कुराको अंशमात्रै ल्याएर त्यसलाई अर्को भिडियो बनाएर सुकुम्बासी बस्तीहरुमा देखाउनुभयो ।

तर, कहाँनेर गइसकेपछि मेरो मन भाँचियो भने त्यत्रो ठूलो बमको दुर्घटना भयो । सिफलको सभामा हाम्रा केही साथीहरुले त्यो घटना विप्लवले गराएको नभएर हाम्रा विपक्षीले गरेको हामीलाई शंका छ भन्नुभो । मैले उहाँहरुलाई तुरुन्त रोकेर खण्डन गरें । यस्तो नचाहिँदो कुरा नगरौं, हामी सबै एक ठाउँ उभिनुपर्छ, हामी सबैमाथि भएको छ, हामीले हिंसाको विरोध गर्नुपर्छ भनें । टिचिङ अस्पतालमा राजन भट्टराईजीमाथि साथीहरुबाट भएको व्यवहारको विषयमा पनि माफी मागें ।

तर, केशव स्थापितजीमात्रै होइन, केपी ओलीजीले समेत एउटा टेलिभिजनको अन्तरवार्तामा त्यत्रो ठूलो -बम विस्फोटनको) घटना भएको छ, ममाथिमात्रै होइन, देशैभरि आक्रमण भएका बेलामा सामान्य सम्वेदनशीलता राख्नुको साटो तल्लो स्तरमा झरेर कुरा गर्नुभयो ।

बम बिस्फोटनबाट हामी बालबाल बाँचेका छौं, घाइतेहरु अस्पतालमा छन् । यस्तो बेलामा त्यो स्तरमा र्झन मिल्छ ? अब उहाँले सरकार चलाउनुपर्छ । हामीमाथि आक्रमण गर्नेहरु अहिले अस्पतालमा छन् । उनीहरुलाई के हुन्छ ? यस्तो अस्वस्थ चुनाव होला भनेर त मैले अनुमानसम्म गरेको थिइनँ ।

हाम्रो पनि टिम थियो, हामी वीचमा पनि छलफल हुन्थ्यो । हाम्रा साथीहरु हामी डिफेन्सिभ भयौं, केही गरौं भनेर बारम्बार भन्नुहुन्थ्यो । हामी पनि केही हंगामा गरौं भन्नुहुन्थ्यो । मैले कहिल्यै मानिनँ । यस्ता कुराहरु काठमाडौंका मतदाताले बुझ्नुहुन्छ भन्ने कुरा मैले गरिरहें । र, सायद म ठीक ठाउँमा थिएँ भन्ने प्रमाणित भयो ।

यसको मतलव, फण्डा गरेर चुनाव जितिँदैनरहेछ हैन त ?

त्यो पनि हैन । जस्तो- अहिले राष्ट्रिय राजनीतिमै हामीले हेर्‍यौं भने एमालेले आफ्ना बारेमा केही कुराहरु भन्यो । नेकपा एमाले यस्तो यस्तो पार्टी हो भन्यो । उसले कांग्रेसका बारेमा पनि केही कुरा भन्दियो । चुनाब जित्यो भने कांग्रेसले देशै बेच्दिन्छ भन्यो । कांग्रेसका पालामा केही पनि काम भएन भन्यो । एमालेले आफ्नो परिचय पनि आफैं दियो । कांग्रेसको परिचय पनि उसैले दिइदियो ।

हामीले हामी को हौं भनेर आफ्नो बारेमा पनि बताउन सकेनौं । एमालेका बारेमा हाम्रो पनि धारणा थियो, त्यो धारणासमेत राख्न सकेनौं ।

हामी चुनाव कसरी लड्यौं भने एमालेले हाम्रा बारेमा उसैले भन्दिएको कुरालाई लिएर चुनाव लड्यौं । यसमा केही फण्डाहरु पनि थिए, त्यसलाई हामीले चिर्नै सकेनौं ।

निर्वाचनमा व्यक्तिमाथि बम आक्रमण भयो, यसलाई म मण्डले चरित्र भन्छु । हिजो कांग्रेस र कम्युनिष्टका नेताहरुलाई जतिबेला सकाउनुपथ्र्यो, त्योबेलामा विचारमा प्रहार गर्न सकिँदैनथ्यो, त्यो बेलामा उसको क्यारेक्टरमा हानिदिए भइहाल्थ्यो । मलाई त्यसको शिकार बनाउने प्रयास भयो, म त्यसबाट बाँचेर आएको छु, म लड्छु पनि । तर, समग्र फण्डा त कांग्रेसको विरुद्धमा ‘न्यारेसन’ बनाउने सन्दर्भमा पनि प्रयोग भयो नि त । त्यसलाई हामीले कहाँ चिर्न सकेनौं ।

श्राेत: अनलाइन खवर

NOC1ads